रवि लामिछानेले पाए पूरानै नम्बरको नागरिकता प्रमाणपत्र, केही दिनभित्रै मन्त्री बन्ने संभावना

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 

सर्वोच्च अदालत निर्णयअनुसार अनागरिक भएका उनले आज नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । कार्यालयले पूरानै नम्बर कायम गर्दै लामिछानेलाई नयाँ प्रमाणपत्र दिएको हो । 

Advertisement

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार लामिछानेको नयाँ नागरिकता जारी भएको र नागरिकता नम्बर भने पुरानै कायम भएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाण अध्यागमन कार्यालयलाई बुझाए पनि सर्वोच्चले भने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको तर्क गर्दै शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । 

अदालतको निर्णयसँगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पदबाट राजीनामा दिएका थिए । आज सरकारी कार्यालय खुल्नासाथै उनी नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

नागरिकता प्राप्तीसँगै लामिछाने पुनः सरकारमा सहभागी हुन र आफ्नो पार्टीको अध्यक्ष चयन हुन बाटो खुलेको छ । साँसद हुन भने पुनः उनले अब हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने छ । साँसद नभए पनि छ महिनासम्म मन्त्री हुन मिल्ने कानुनी व्यवस्था भएकाले हालको सत्तारुढ गठवन्धनले रविलाई पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउनसक्ने संभावना बढेर गएको छ । 

Advertisement

Advertisement