तेस्रोपक्ष बीमा बुझाउन नसक्दा समस्या आयोः क्षेत्री, मोटर बीमाको सफ्टवयर काम छैन्ः सिलवाल

Advertisement

काठमाडौं । बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सरकारले अझै पनि जनतालाई तेस्रो पक्ष बीमा बुझाउन नसकेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा क्षेत्रीले थोरै शुल्क तिरेर तेस्रो पक्ष बीमाको सुविधा पाइने भए पनि यसमा जनताको आकर्षण नदेखिएको बताएका हुन् । 

Advertisement

हाल तेस्रो पक्ष बीमा अनिवार्य बीमाको रुपमा रहेको छ । तर क्षेत्रीले अनिवार्य बीमा भने पनि यसको आवश्यकताबारे जनताले खासै जानकारी नपाएको बताए । उनले भने, ‘अझै पनि बीमा गर्दा आफूलाई भन्दा कम्पनी नाफा हुन्छ कि ? भन्ने सोचाई जनतामा छ । त्यस्तै सोचाईका कारण पनि उनीहरुले थोरै बीमाशुल्क तिर्दा धेरै रुपियाँको जोखिम बहन हुने सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छ ।’

यता सेवाग्राहीहरुले भने तेस्रो पक्ष बीमामा केही प्रक्रियागत झन्झट रहेको बताउँदै आएका छन् । बीमा कम्पनीले भने अहिले प्रायः सबैको हातहातमा स्मार्ट फोन हुने, सिसि क्यामेरा हुने भएकाले आवश्यक रेकर्डहरु राख्नुपर्ने प्रावधान नै बनेको बताएको छ । 

केही दिनअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मोटर बीमामा दरभाउ हेरफेर (रेट कटिङ)को समस्या रहँदै आएको र त्यसलाई हटाउन सफ्टवयर नै हेरफेर गर्ने बताएका थिए । 

उनले एक हजार ७३५ रुपियाँको तेस्रा पक्ष बीमालाई एक हजार रुपियाँसम्ममा गराएको भन्दै गलत तथ्यांक टिप्न मिल्ने ‘लुप होल’ (छिद्र) अन्त्य गर्नुपर्ने बताएका थिए । बीमा कम्पनीहरुले विकृति सुधारका लागि एकले अर्कोको खुट्टा तान्नेभन्दा पनि बीमक संघले विकृति सुधारको जिम्मेवारी लिनुपर्ने सिलवालको तर्क छ । 

उक्त भनाईमा सीईओ क्षेत्रीले बीमा क्षेत्रमा ‘रेट कटिङ’ भएको स्वीकार गर्दै सबैभन्दा पहिला तेस्रो पक्ष बीमाको अपरिहार्यता बुझाउन सकेमा जनताले गलत बाटो नअपनाउने तर्क गरे ।  

उनले भने, ‘बीमा क्षेत्र कुनै पनि ठाउँमा समस्यामा जोडिनु हुँदैन । तर, त्यो भन्दा पहिला जनताले कर तिर्ने, अनिवार्य बीमा सहि ढंगबाट गर्ने भन्ने कुरा पनि समयमा गराउन त्यहाँका कर्मचारीहरुले सहयोगी भूमिका खेल्नुपर्ने देखिन्छ । सबैभन्दा पहिला त कर नै तिरेको हुँदैन । कर तिर्न जाँदा इन्स्योरेन्स गर्नुनपरे हुन्थ्यो जस्तो गरेको देखिन्छ । अनि पैसा तिर्नेले पनि सकेसम्म सस्तो खोज्छन् । यो त तपाईं हामीलाई थाहै भएको कुरा हो । अब यस्तो समस्या देखेपछि समाधानका लागि त बीमा के हो ? भन्नेबाटै बुझाउनु उपयुक्त देखिन्छ ।’

Advertisement

Advertisement