दुर्घटनाग्रस्त यती एयरलाइन्स जहाजको ब्ल्याक बक्स बल्ल परीक्षणका लागि सिंगापुर पठाइयो

Advertisement

काठमाडौं । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अनुसन्धानका लागि बल्ल सिंगापुर पठाइएको छ ।

जहाज दुर्घटना भएको भोलिपल्ट नै ब्ल्याक बक्स फेला परे पनि ढिलो गरी परीक्षणका लागि पठाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले शुक्रबार दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स सिंगापुर पठाइएको बताए । 
 
ब्ल्याक बक्स लिएर उक्त दुर्घटनाको जाँचबुझका लागि सरकारद्धारा गठित आयोगका संयोजक नगेन्द्रप्रसाद घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपक बास्तोला, सदस्य सचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको केसीले जानकारी दिए । 

Advertisement

सिंगापुरमा ब्ल्याक बक्सभित्र रहेको एफडीआर र सीभीआर डाटा डाउनलोड, विश्लेषण लगायतको काम हुने उनले बताए । पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बेलामा यतीको विमान सेती नदीको खोंचमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । त्यसपछि सरकारले पाँच सदस्यीय आयोग गठन गरेको थियो । 

आयोगको सदस्यमा बाँस्तोलासहित पूर्वक्याप्टेन सुनिल प्रधान र हवाई मर्मत इञ्जिनियर एकराज थापा छन् । आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ । 

Advertisement

Advertisement