अधिकांश लघुवित्त संस्थाहरुमा कर्जा अपचलनको समस्या पाइएको छः डेपुटी गभर्नर ढुंगाना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगानाले अधिकांश लघुवित्त संस्थाहरुमा कर्जा अपचलनको समस्या पाइएको भन्दै आफूलाई सुधार्न सुझाव दिएकी छन् । 

लघुवित्त वित्तीय संस्था बैंकर्स संघको वार्षिक साधारणसभामा उनले भनिन्, ‘धैरै लघुवित्तमा कर्जा अपचलनको समस्या छ । नक्कली ऋणीको महाभारत जस्तो लिस्ट बनेको छ । ढुंगानाले ऋण अपचलन गरेका कारण एउटा लघुवित्तलाई नियन्त्रणमै लिनुपरेको उदाहरण दिँदै अन्य लघुवित्त संस्था पनि त्यो अवस्थामा पुग्ने संकेत देखिएको बताइन् । 

Advertisement

लघुवित्तहरुले ऋणीको क्षमता मूल्यांकन गरेर मात्रै कर्जा दिनुपर्ने ढुंगानाको सुझाव छ । उनले थपिन्, ‘लघुवित्तले ऋणीको क्षमता हेरेर उत्पादनमूलक क्षेत्रका लागि मात्रै कर्जा दिनुपर्छ । छोरा छोरीको बिहे गर्न ऋण दिनु लघुवित्तकै गल्ती हो । लघुवित्तले सजग भएर कर्जा प्रवाह गर्नुपर्छ । शेयरधनीको हितको लागि मात्रै होइन् ।’

डेपुटी गभर्नर ढुंगानाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तिर्न सनसक्ने भन्दै आन्दोलन गर्ने र विभिन्न निकाय धाउने प्रवृत्ति बढेको भन्दै यस्ता प्रवृत्तिलाई राष्ट्र बैंकले निरुत्साहित गर्ने बताइन् । कर्जा लिएर तिर्दिन भन्नु बैंकिङ कसुर हो भन्दै उनले ऋण असुलीमा राष्ट्र बैंकले साथ दिने बताइन् । 

ढुंगानाले भनिन्, ‘ऋणीले पनि लिएको ऋण तिर्दिन भन्न पाउँदैन् । त्यो बैंकिङ कसुरअन्तर्गत पर्छ । यस्तो अवस्थामा राष्ट्र बैंकले लघुवित्तलाई साथ दिन्छ । तर, लघुवित्तहरुलाई रेगुलेटरी र सुपरभाइजरीमा छुट भने छैन् ।’ उनले लघुवित्तहरुमा भएका समस्या हटाउन र यस्ता संस्थालाई बलियो बनाउन, वित्तीय सुशासन कायम राख्न राष्ट्र बैंकले नियमन र सु्परिवेक्षणमा कडाई गरेको बताउँदै नियम पालना नगरे लघुवित्त ऐनबमोजिम कारवाही गर्ने चेतावनी दिइन् । 

साथै, ढुंगानाले सम्पत्ति शुद्धीकरण सम्वन्धी कानुनहरुको पनि पालनामा विशेष ध्यान दिन सल्लाह दिइन् । अवस्था हेरेर लघुवित्त संस्थाहरु मर्जरमा जानसक्ने उनको भनाई छ । एकातिर घाटामा गयो भनेर गुनासो गर्ने र अर्कोतर्फ उच्च लाभांश वितरण गर्ने काम लघुवित्त संस्थाहरुले गरेको बताउँदै लघुवित्त संस्थाहरुले पनि तोकिएबामोजिम कर्जामा प्रोभिजन नगर्ने गरेको बताइन् । 

Advertisement

Advertisement