बीमा ऐनले अभिकर्तालाई उपेक्षा गर्दा समस्या भयोः कम्पनीहरु, नियमावलीमा समेट्छौंः प्राधिकरण

Advertisement

काठमाडौं । बीमा अभिकर्ताहरुले बीमा ऐन २०७९ ले आफूहरुका समस्या सम्बोधन नगरेको भन्दै बीमा अभिकर्ताहरु निराश भएको बेला बीमा कम्पनीहरुले पनि अभिकर्ताहरुको पेशागत हितको संरक्षण नगरे समस्या सिर्जना हुने स्वीकार गरेका छन् । 

रिलायन्स लाइफ इन्स्योरेन्सका एक उच्च व्यवथापकले बीमा ऐनले बीमा अभिकर्ताहरुको नियमनको दायरामा नसमेट्दा अनावश्यक चुनौति थपिएको भन्दै ऐनमा यो कुरा छुटे पनि बीमा नियममावलीको अभिकर्तालाई समेट्न जरुरी रहेको बताए । 
 
उनले अभिकर्ताहरुले नै बीमा गराउनेदेखि दाबी भुक्तानीसम्म सहयोगी भूमिका खेल्ने भएकाले उनीहरुको भूमिका र पेशागत सुरक्षाको कुराको सुनिश्चितता कानुनमार्फत गरिनु जरुरी रहेको बताउँदै यसले नै नेपालको बीमा क्षेत्रलाई बलियो बनाउन सहयोग गर्ने बताए । 

Advertisement

तीन व्यवस्थापकले भने, ‘बीमा ऐनले बीमा कम्पनीका सञ्चालक, कर्मचारी, सीईओहरुलाई एउटा स्पष्ट मार्ग निर्देशन गरेको छ । तर, अभिकर्ताहरुको हकमा त्यस्तो छैन् । अभिकर्ताहरुले नै बीमाशुल्क भित्राउन मद्दत गर्छन् । वर्षभरी काम गर्ने अभिकर्ताको कमीकमजोरी होस वा सबल पक्ष, त्यसलाई हेर्ने कुरा ऐनमा कहीं पनि उल्लेख गरिएको छैन् । यो त ठूलो त्रुटी हो ।’

उनले बीमितहरुले नियामक निकायमा हालेको मुद्दामा पनि बीमा कम्पनी र पीडित पक्षलाई मात्रै सहभागी गराउपने तर अभिकर्ताहरुले सहभागी हुने अवसर नपाउने अवस्था रहेको भन्दै नयाँ ऐन आइसकेपछि पनि अभिकर्ताहरु पूरानै बीमा ऐनमार्फत चल्नुपर्ने अवस्था रहनु सुखद कुरा नभएको बताए । 

पछिल्लो समय अभिकर्ताहरुको नियमन फितलो भएकै कारण बीमा बजारमा विकृतिहरु बढेको कम्पनीहरुको अनुभव छ । अभिकर्ताहरुको काम प्रचार प्रसार गर्ने मात्र नभई आफूले गराएको बीमाका बारेमा सही सुचना दिनु पनि हो भन्दै कम्पनीहरुले बीमा प्राधिकरणले पटक पटक कम्पनीका सीईओहरुलाई बोलाएर प्रश्न सोध्ने र निर्देशन दिने तर अभिकर्ताहरुको हकमा भने कुनै चासो नराख्ने अवस्था रहेको बताउँछन् । 

रिलायन्सका ती उच्च व्यवस्थापक भन्छन्, ‘नियामकले अभिकर्ताको समस्या र उनीहरुको बीमा क्षेत्रसँगको निकटता बुझेर नयाँ नियमावली तयार पार्नुपर्छ । अभिकर्ता छनोट गर्दा उनीहरुको योग्यता र उनीहरुले सिकेका कुराहरुलाई आधार बनाउनुपर्छ । अहिले त केही पनि नजानेकोलाई सरासर अभिकर्तामा भर्ती गर्ने अवस्था छ ।’

यता बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अभिकर्ताहरुलाई नयाँ ऐनले उपेक्षा गरेको धेरै तिरबाट गुनासो आएको र सो कुरा आफूहरुले पनि मनन गरेको बताए । उनले भने, ‘बीमा ऐन २०७९ ले अभिकर्ताहरुलाई बाईपास गरेको कुरा धेरैतिरबाट आएको छ । हामीले अब अभिकर्ताहरुलाई नै लक्षित गरेर नियमावली बनाइरहेका छौं । नियमावलीमा अभिकर्ता, बीमा कम्पनी तथा अहिलेको स्थिति सबैलाई समेट्ने प्रयास गरिरहेका छौं ।’ 

Advertisement

Advertisement