काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका साँसदहरुले नेपालमा गणतन्त्र खारेज गरेर राजसंस्था र हिन्दुराज्य पुनःस्थापना गरेरै छाड्ने भन्दै गणतन्त्रवादी आफूहरुलाई नहेप्न गणतन्त्रवादी साँसदहरुलाई चेतावनी दिएका छन् ।
राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर रघुजी पन्त र शक्ति बस्नेतले आलोचना गरेपछि त्यसको प्रतिवादमा राप्रपाका ज्ञानेन्द्र शाही र डा. धवलशम्शेर राणा प्रस्तुत भएका हुन् । उनीहरुले राप्रपालाई सानो पार्टी छ भनेर नहेप्न चेतावनी दिँदै आफूहरु सानो भए पनि जनताको मनमा भिजेको र गणतन्त्र र धर्मनिरपेक्षता खारेज गरेरै छोड्ने प्रतिवद्धता जनाए ।
संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा राप्रपाका साँसद र एमाले तथा माओवादी केन्द्रका साँसदबीच जुहारी चलेको हो । दुवै पक्ष एकले अर्कोको आलोचना गर्न उभिएपछि सभामुखले उनीहरुलाई रोक्नुपरेको थियो ।
एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताएका थिए भने शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताएका थिए ।
राप्रपाका सांसद धवलशम्शेरले आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं । यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने भन्ने होइन् । नमान्ने भए जंगल जान्थ्यौं होला । हतियार बोक्थ्यौं होला ।’
अर्का साँसद ज्ञानेन्द्र शाहीले नेपाल हिन्दु संस्कृतिको जन्मस्थल भएको, यहीं सीताको जन्मदेखि हिन्दुहरुको धर्मग्रन्थ बेद यही लेखिएको बताउँदै संविधान निर्माणका क्रममा जनताले दिएको सुझाव नहेरी नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्ने काम भएको बताए ।