दरबारमार्गको पार्किङ हटाउँदा सडक सफा भए पनि व्यवसायी भने मारमा, ‘विस्थापित हुन लाग्यौं’

Advertisement

काठमाडौं । राजधानीको मुटु दरबारमार्गमा अव्यवस्थित ढंगले पार्किङ गर्ने गरिएका सवारी साधनहरु अहिले काठमाडौं महानगरपालिकाले हटाइदिएको छ । पार्किङ हटेसँगै दरबारमार्ग फराकिलो र सुन्दर पनि देखिएको छ । 

तर पार्किङ हटाउँदा सडक दायाँबायाँ सटर भाडामा लिएर व्यवसाय गर्नेहरु भने मारमा परेका छन् । मुलुकको आर्थिक मन्दी, चर्को बैंक ब्याजदर, कोडिभ महामारीको मारमा परेका व्यवसायीहरु पार्किङ हटेर ग्राहक घटेपछि विस्थापित हुने अवस्थामा पुगेका छन् । 

Advertisement

महानगरपालिकाले गत पुस १९ गतेदेखि दरबारमार्गमा पार्किङ गर्न नपाउने व्यवस्था गरेसँगै यस क्षेत्रको व्यापार व्यवसायमा ५० प्रतिशत गिरावट आएको व्यवसायीहरुको गुनासो छ । स्थानीय श्रृंगार व्यापारी शर्मिला श्रेष्ठले भनिन्, महानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी पार्किङ हटायो । यसले हामी ठूलो मारमा परेका छौं ।’

दरबारमार्गमा स्पोर्ट सामग्रीहरु बिक्री गर्ने अर्का व्यापारी अमृत श्रेष्ठले पार्किङको सुविधा नभएपछि ग्राहकहरु आउन निकै घटेको छ । यसरी घट्दै जाने हो भने सटर भाडा तिर्न नसक्ने अवस्था आउनसक्छ ।’

दरबारमार्गमा बच्चहरुका सामग्री बिक्री गर्ने आयमेक्स कम्पनीमा कार्यरत मेलिना बास्तोलाले पार्किङ हटेसँगै दरबारमार्गमा चहलपहल हटेको बताइन् । उनले पार्किङ हटेपछि ग्राहक मात्रै नभएर दरबारमार्ग घुम्न आउनेहरु पनि कम भएको बताइन् । 
 
दरबारमार्ग घुम्न आएका राहुल पाठकले भने पार्किङ हटाउँदा सडक सफा र सुन्दर देखिएको बताए । तर पार्किङको विकल्प नहुँदा पहिला जस्तो आइरहन भने आफूलाई कठिनाई भएको गुनासो गरे । 

पार्किङ हटाउँदा कोभिड महामारी र लकडाउनका कारण उकासिन नसकेको व्यवसाय झन मारमा परेको स्थानीय व्यवसायीहरुको भनाई छ । 

Advertisement

Advertisement