सामसुङ कोरियाले अर्को महिनाबाट नेपालमै आफ्ना सामानहरु बनाउन थाल्ने

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्ने विश्वकै एक ठूलो कम्पनी सामसुङले अब नेपालबाटै विभिन्न सामानहरुको उत्पादन सुरु गर्ने भएको छ । 

सामसुङ नेपालका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौडेलसँग कुराकानी गर्ने क्रममा आफूहरुले नेपालमै सामसुङ ब्राण्डमा सामानहरु उत्पादन गर्न लागेको जानकारी दिएका हुन्  । 

Advertisement

नेपालमै कारखाना स्थापना गरी आउँदो मार्च महिनादेखि सामसुङका सामानहरु बनाउन सुरु गर्ने बताउँदै जुनले त्यसका लागि भैरहवामा ‘एसेम्बलिङ प्लान्ट’ स्थापना भइरहेको जानकारी दिएका थिए । उनले नेपालमै सामान उत्पादनका लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका थिए । 

पहिलो चरणमा सामसुङका टेलिभिजनहरु निर्माण हुने यस कारखानामा क्रमसः फ्रिज, वासिङ मेसिन, स्मार्ट फोनहरु पनि उत्पादन गर्ने र यी सामान नेपालसहित भारतीय बजार र अन्य क्षेत्रमा पनि निर्यात गरिने बताएका थिए । 

प्लान्ट सञ्चालनका लागि कोरिया र भियतनामबाट प्रशिक्षकहरु नेपाल आई कामदारलाई तालिम दिने बताउँदै जुनले पहिलो चरणमा ५० जनाले रोजगारी पाउने बताए । सामसुङ इलेक्ट्रोनिक्सले गोल्छा अर्गनाइजेशनसँग मिलेर नेपालमा यसको प्लान राख्न लागेको हो । 

मन्त्री पौडेलले सामसुङले नेपालमा आफ्नो उत्पादन कारखाना खोल्दा नेपालीले रोजगारी पाउने भएकाले सरकारले आवश्यक सहयोग गर्ने बताएकी थिइन् । 

Advertisement

Advertisement