सफलताका कथाः गाउँमै लगानी, गर्छन् मनग्य आम्दानी

Advertisement

काठमाडौं । देशका विभिन्न स्थानका उद्यमीहरुले च्याउ खेती, पशु पालन र दुना टपरी व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेका छन् । 

कपिलवस्तुकी दिलकुमारी थापा, नवलपरासीका कर्णलाल श्रेष्ठ र स्याङ्जाका विष्णुप्रसाद पोख्रेलले गाउँमै उद्यम गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

Advertisement

उद्यमीका कथाः   
१. दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । 

घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भनिन् । 

सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उनी सुनाउँछिन् । “जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उनले भनिन् । 

लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गरेकी छिन् । सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छिन् । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे”, उनले भनिन्, “अहिले एक्लै उद्योग चलाएकी छु ।”

सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छिन् । 

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छिन् । एक सय पातको रु ४० दिने गरेको उनले बताइने । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपियाँदेखि डेढ रुपियाँसम्मको पर्छ । 

२. च्याउखेतीबाट मनग्य आम्दानी
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहेका छन् । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ”, श्रेष्ठले भने ।  

छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु ६५ लाख लगानीका साथ सुरु गरेको च्याउ खेतीले उनलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु एक लाख आम्दानी गर्दै आएको बताए । 

“छ कट्ठा जमिनको वर्षमा रु एक लाख भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ”, उनले भने, “वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा रु एक लाखको व्यापार हुन्छ ।”

भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उनले बताए । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरहेकी छिन् । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उनले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाएकी छिन् । 

कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको बताइन् । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो”, उनले भनिन् । 

अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उनको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उनले चिसो समयमा बढी राम्रो हुने बताइन् । जाडो समयमा मासिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उनले बताइन् ।  

गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले रु तीन लाख लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको रु डेढ लाख सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताइन् । 

३. चार करोड लगानीमा पशुपालन
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् ।  

उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उनी बताउँछन् । 

“फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उनले भने, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।”

सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब रू दुई करोड लगानी लागेको उनको भनाइ छ । फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै गाई भैँसी खरिद गरेका ुहन् । दश भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख हुनुभएका पोख्रेलको फार्ममा अहिले एक सय ८५ वटा गाई र भैँसी छन् । जसमध्ये एक सय दुहुना भैँसी,  ५० वटा राँगा तथा पाडापाडी छन् साथै २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् । 

फार्म पन्ध्र रोपनीमा फैलिएको छ । जग्गा भाडामा लिएर गाई भैँसीका लागि घाँस उत्पादन गर्नुभएको छ भने झण्डै एकसय रोपनी अरुको जग्गा भाडामा लिएर डालेघाँस, खर घाँस तथा उन्नत खालका घाँस लगाएका छन् । 

उनको फार्मबाट अहिले भैँसीको दूध चार सय लिटर र गाईको दूध एक सय लिटर उत्पादन हुँदै आएको छ । भैँसीको दूध फेदीखोला, मट्टिखान, सेतीदोभान, खड्केटारी, पोखरालगायतका स्थानीय बजारमै खपत हुने गरेको उनले बताए । 

भैँसीको दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने गाईको दूध पोखरा औद्योगिक क्षेत्रमा दिएको उनको भनाइ छ । दूध बिक्रीबाट अहिले मासिक रू १५ लाख आम्दानी हुने उनको भनाइ छ । सुरुका वर्ष भएकाले गाईभैँसी खरिद, दानापानी, परालमा किन्नुका साथै पूर्वाधार निर्माण गर्नुपरेकाले त्यसैमा लगानी गरेको उनले बताउ । फार्ममा हाल १३ जना कार्यरत छन् । 
(राससले तयार पारेको समाचारमा आधारित)

    

Advertisement

Advertisement