खसीको तासका कारण लोकप्रिय बनेको भेटघाट रेष्टुरेन्ट थप शाखा विस्तारको योजनामा

काठमाडौं । चितवनको नारायणगढमा २०४४ मा सुरु भएको भेटघाट रेष्टुरेन्टले आफ्नो ब्राण्डलाई स्थापित गर्दै राजधानी काठमाडौंसम्म आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । भेटघाट रेष्टुरेन्ट खसीको तासका लागि लोकप्रिय छ । 

दुई हजार रुपियाँ लगानी गरेर मासुको परिकारहरु बिक्री गर्न थालेको भेटघाट रेष्टुरेन्टको अहिले चार वटा शाखाहरु विस्तार भइसकेका छन् । अहिले हरेक शाखाको मासिक लाखौं आम्दानी गर्ने गरेको रेष्टुरेन्टका सञ्चालक महेश तिवारी बताउँछन् । 

Advertisement

बाबुआमाको व्यवसायलाई आफूले नयाँ ढंगबाट अघि बढाएको स्मरण गर्दै उनले काठमाडौंको अनामनगरस्थित भेटघाट रेष्टुरेन्ट भने आफूले प्रत्यक्षरुपमा हेर्दै आएको बताए । अनामनगरमा रेष्टुरेन्ट सुरु गरेको नै ११ बर्ष भइसकेको तिवारीले बताए । 

खसीको टाउकोदेखि खुट्टासम्मका विभिन्न परिकार ग्राहकसमक्ष प्रस्तुत गर्दै आएको उनले बताए । तिवारीले खसीको तास बनाउँदा २५ वटाभन्दा धेरै घरायसी मसलाको प्रयोग हुने भएकाले ग्राहकहरुले मन पराउने र यसको लोकप्रियता पनि बढेको बताए । उनले आफूहरुले खाने कुराको गुणस्तरमा कुनै पनि कन्जुस्याईं नगर्ने गरेको पनि दावी गरे । 

Advertisement

चार स्थानमा सञ्चालित भेटघाट रेष्टुरेन्टमा १५० जनाभन्दा धेरै कर्मचारी कार्यरत छन् । नेपालमा सबैभन्दा धेरै खसीका मासुहरुको परिकार पाइने भेटघाट रेष्टुरेन्टमा हरेक बर्ष खसीको मासुको नयाँ परिकार ग्राहकहरुलाई चखाउने गरेको तिवारीले बताए । 

उनले काठमाडौंमा भेटघाट रेष्टुरेन्ट सञ्चालनमा ल्याएपछि सुरुका दिनमा निकै कठिनाई भोग्नुपरे पनि अहिले भने सहजरुपमा सञ्चालन भइरहेको बताए । तिवारी भन्छन्, ‘व्यवसाय गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो । कोरोना महामारीपछि पनि निकै कठिनाई भोग्नुपर्यो । पछिल्लो समयमा भने व्यवसायमा सुधार आएको छ । मानिसहरुमा रेष्टुरेन्ट कल्चर बढ्दै गएको र भेटघाटको स्थापित ब्राण्ड, विश्वास र गुणस्तरले पनि अब भने असहज नहोला भन्ने लाग्छ ।’

बजारमा आवश्यक सामान नपाइने, पाइहाले पनि मूल्य बढी तिर्नुपर्ने, बजार भाउ बढेअनुसार खाने कुराको मूल्य बढाउँदा ग्राहकमा नकारात्मक असर पर्ने चुनौति रहेको बताउँदै तिवारीले आफूहरुले पहिला कै मेनुमा खानाका परिकारहरु बिक्री गर्दै आएको बताए । नयाँ रेष्टुरेन्ट विस्तार गर्न थप लगानी आवश्यक पर्ने तर बैंकहरुबाट यतिबेला ऋण पाउन निकै चुनौति रहेकाले थप शाखा विस्तारको योजना ढिलो गरेको बताए । 

Advertisement