हवाई दुर्घटनाको जोखिम शुन्यमा झार्ने प्रयासमा छौंः वायुसेवा सञ्चालक संघ

Advertisement

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले नेपालमा हवाई दुर्घटनाको जोखिम शुन्यमा झार्ने प्रयासमा आफूहरु रहेको बताएको छ । हवाई सुरक्षासम्वन्धी शुक्रबार आयोजित छलफलमा संघका अध्यक्ष रामेश्वर थापाले यस्तो जोखिम शुन्यमा झार्न आफूहरु लागिपरेको बताएका हुन् । 

उनले भने, ‘नेपालको उडान सुरक्षित र भरपर्दो छ । हवाइ यात्राको जोखिमलाई शून्यमा लैजान विज्ञ र सबै सरोकारवाला सक्रिय छौं । हवाइ क्षेत्रलाई अझ सुरक्षित र भरपर्दो बनाउन संघले सबै खालका प्रयासहरु गरिरहेको छ ।’ 

Advertisement

दुर्घटना संयोगले हुने हो भन्दै थापाले पोखरामा गत महिना भएको दुर्घटनालाई हेरेर एयरलाइन्सहरु असुरक्षित छन् भन्ने जनमानसमा प्रभाव परेको बताए । यस्तो प्रभावप्रति सजग हुँदै हवाई सेवाबारे नकारात्मक सन्देश प्रवाह नगर्न आग्रह गरे ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेटर डिपार्टमेन्टका निर्देशक श्यामकिशोर साहले पोखरामा भएको ठूलो दुर्घटनापछि प्राधिकरण के गर्दै छ ? भन्ने धेरैमा प्रश्न उठेको बताउँदै नेपाल तालिमको कुरामा एकदम कमजोर रहेको बताए । इन्जिनियरिङ र पाइलटहरुलाई तालिम भइरहे पनि एयर ट्राफिक कन्ट्रोलर र फ्रन्टलाइनमा काम गर्नेहरुलाई सशक्तिकरण तालिम कम भएको उनको भनाई छ । 

प्राधिकरणबाट लिइरहेको तालिममा पनि कमी देखिएको साहले बताए । उनले तालिमहरु नदिँदा गल्तीहरु दोहोरिने स्थिति रहने बताए । नेपालमा विमानहरु थपिने तर काम गर्ने जनशक्तिको सशक्तिकरण भने नहुने स्थिति रहेको साहले बताए । 

इन्जिनियर मृगेन्द्रकुमार श्रेष्ठले वायुसेवालाई सुरक्षित राख्ने कुरा विमानको डिजाइन, उत्पादन, प्रमाणीकरण, वायु योग्यता र उमेर जस्ता कुराले अर्थ राख्ने बताए । क्याप्टेन बिनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने बताउँदै यसमा सबै पक्षको कहीं न कहीं कमजोरी हुने बताए । । 

संघका महासचिव मनोज कार्कीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि अचानक दुर्घटना हुने गरेको जिकिर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि वायुसेवा सञ्चालकहरुले के कस्ता काम गरिरहेका छन् ? भनेर अभिमुखीकरण गराउने उद्देश्यले आजको कार्यक्रम गरिएको बताए । 

 

Advertisement

Advertisement