रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि, छ महिनामा पाँच खर्ब ८५ अर्ब भित्रियो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा ५ खर्ब ८५ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आव २०७९/८० को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भई रु.५८५ अर्ब ८ करोड पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । 

Advertisement

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रु.६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement