मूल्य बृद्धि बढ्दो क्रममाः तराईमा बढी हुँदा हिमालमा सबैभन्दा कम

Advertisement

काठमाडौं । मूल्य बृद्धि बढ्दो क्रममा रहेको देखिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा २०७९ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता
मुद्रास्फीति ७.२६ प्रतिशत रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । 

Advertisement

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको
९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेकोछ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति
२०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.४७ प्रतिशत, १३.८० प्रतिशत र ४.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ ।

तलव तथा ज्यालादर सूचकाङ्क
२०७९ पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement