‘आफन्तले मलाई भन्थे– श्रीमान हिमालमै बित्यो, तिमी पनि त्यही मर्न जान् लागेको ?’

Advertisement

काठमाडौं । सगरमाथा आरोहणको क्रममा श्रीमान गुमाएकी नीमा डोमा शेर्पाले हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने प्रयासमा लागेकी छन्् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा उनका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । श्रीमानको मृत्युपछि दुई सन्तानलाई निकै कष्टका साथ लालनपालन गर्दै आएकी नीमाले आफ्नो श्रीमानको पथ पछ्याउँदै गएको सन् २०१८ बाट आफू पनि हिमाल आरोहण गर्ने जोखिमपूर्ण निर्णय गरेकी थिइन् । उनले पछिल्लो पटक गत कात्तिक १९ गतेका दिन बिहान चार जना महिलासहित खुम्बुस्थित माउन्ट चोलात्से (६,४४० मिटर)को सफलतापूर्वक आरोहण गरेकी थिइन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ खुम्जुङ निवासी नीमा ३८ वर्षकी छन् । चोलात्से आरोहणको अनुभव र हिमाल आरोहण यात्राबारे कपोरेट नेपालकी फुर्पा शेर्पाले उनीसँग गरेको कुराकानीः 

तपाईं एकल महिला भएर पनि हिमाल आरोहणमा गर्ने साहसिक कदम सुरु गर्नुभएको छ । अहिलेसम्म कति वटा हिमाल आरोहण गरिसक्नुभयो ?
मैले हिमाल आरोहण सन् २०१८ को अन्तिमबाट सुरु गरेको हो । हिमाल आरोहण गर्नुअघि सोही सालमा आरोहणसम्बन्धी प्रशिक्षणहरु लिएको थिएँ । प्रशिक्षण लिइसकेपछि पहिलो पटक मनाङमा रहेको चुलु इस्ट् पिक (६,५८४ मिटर)को सफलतापूर्वक आरोहण गरें । त्यसपछि आइसल्याण्ड पिक आरोहण गर्न सफल भएँ । सन् २०१९ मा सगरमाथा आरोहणको लागि जाने क्रममा लोबुचे पिकको सफल आरोहण गरें । पछि सगरमाथाको पनि सफलपूर्वक आरोहण गरें । मैले चुलु इस्ट पिक, आइसल्याण्ड पिक, लोबुचे पिक, सगरमाथा र अमा दब्लमको आरोहण गरिसकेको छु । भर्खरै आरोहण गरेको चाहिं चोलात्से हिमाल हो । 

Advertisement

चोलात्से आरोहण गर्दाको अनुभव कस्तो रह्यो ? 
गएको कात्तिक १९ गते चोलात्से आरोहण गरेको हो । हामीले ‘पहिलो महिला चोलात्से आरोहण’ भनेर आरोहण गरेका थियौं । यस आरोहणमा सबै महिलाहरुको मात्र सहभागिता थियो । त्यसमा दुई जना विदेशी महिला थिए । आरोहण गराउने विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड पासाङ ल्यामु शेर्पा अकिता र म थियौं । यो  ‘पहिलो महिला चोलात्से आरोहण’ हो । अरुले पनि आरोहण गरेको छ । तर महिलाको मात्रै सहभागिता गराएको यो पहिलो हो । भारी बोक्नेदेखि लिएर माउन्टेन गाइडसम्म बेस क्याम्पमा खाना पकाउनेदेखि लिएर, किचेन हेर्नेसम्म सबै महिला थियौं । यस्तो एक्सपेडिशन पहिलो पटक भएको जस्तो लाग्छ । हामीले महिलाहरुमा पनि कोही श्रीमानसँग सम्बन्धविच्छेद भएका, कोहीको श्रीमान बितेको एकल महिला, कोही श्रीमान अपाङ्गता (फरक छमता भएका)को सहभागिता थियो । लुक्लाबाट भारी बोक्ने छ जना महिला थियौं । आधार शिविरमा खाना बनाउने चार जना महिला र दुई जना म र पासाङ ल्यामु शेर्पा अकिताले गाइड गरेका थियौं । दुई विदेशी आरोही गरी आठ जना थियौं टिममा । क्याम्प– १ बाट रातिको २ बजे उठेर हामी दिउसो १ बजे चोलात्सेको चुचुरोमा पुगेका थियौं । अरु हिमालमा भन्दा यसमा मलाई निकै डर लागेको थियो । अकिता दिदीले पनि यो हिमाल अल्ली टेक्निकल छ भन्नु भएको थियो । मैले अमा दब्लम हिमालको सफल आरोहण पनि गरिसकेको छु । त्यो हिमाल पनि निकै टेक्निकल थियो । त्यसैले त्यस्तै टेक्निकल होला भनेर सोचेको थिएँ । तर माथि गएपछि अमा दब्लम हिमालभन्दा पनि झन गाह्रो रहेछ । 

तपाईंलाई हिमाल आरोहण गर्न कसैले प्रोत्साहित गरेको हो कि आफ्नो भित्री इच्छाले नै यो क्षेत्रमा लाग्नुभएको हो ? 
सन् २०१४ मा मेरो श्रीमान् सगरमाथामा बित्नुभयो ।  त्यो बेलामा किचेन ब्वाईको रुपमा जानुभएको थियो । त्योभन्दा पहिला आरोहीको रुपमा जानुभएको थियो । त्यो दिन पनि उहाँ आरोहण गर्न जान लाग्नुभएको थियो । तर हाम्रो घर सल्लाह भएर आरोही भएर जाँदा सगरमाथाको चुचुरोमा पुग्नुपर्छ, त्यहाँ खतरा हुन्छ भन्ने डरले क्याम्प–२ मा खाना पकाउँदै बस्नु भन्यौं । क्याम्प २ मा हुँदा त्यति खतरा हुँदैन भनेर भनेका थियौं । त्यसरी बसेको बेला हिउँ पहिरो आएर श्रीमानको निधन भयो । त्यसपछि म घरमै बसें । छोराछोरीको हेरचार गर्नुपरिहाल्यो । पछि हेर्दै जाँदा म जस्तो श्रीमान बितेका अरु पनि महिलाहरु त्यत्तिकै बसेको रहेछ । यसरी घरमै बसेर हुँदैन भनेर सन् २०१८ मा हामी एकल महिलाहरुले पनि केही गर्न सक्छ हिमाल आरोहणमा जाने अठोट गर्यौं । श्रीमानको मृत्यु कहाँ भएको रहेछ ? भनेर त्यो ठाउँ हामीले हेर्यौं । त्यहाँ श्रीमानले कस्तो दुःख, कष्ट गरेर परिवार पालेको रहेछ ? छोराछोरी र घरपरिवारको लागि कस्तो दुःख गरेको रहेछ ? हामीलाई हिमाल आरोहण गर्दा अनुभव भयो । एकल महिलाहरु घरमै रोएर बस्ने, श्रीमानको निधनपछि बच्चाहरुको हेरचाह गर्दै बस्ने, त्यसरी बसिरहेका एकल महिलाहरुलाई एउटा सन्देश जाओस भन्ने हिसाबले म र मेरो साथी फुरादिकी शेर्पाले सल्लाह गरेर सगरमाथाको आरोहण गरेको हो । त्यहाँबाट हामीले तालिम लियौं । फुरादिकी शेर्पाको पनि श्रीमान सगरमाथामै बित्नुभएको हो ।  

श्रीमानको निधनअघि चाहिं तपाईंलाई हिमाल आरोहण गर्न इच्छा थिएन् ? हिमालतिरै तपाईंको इच्छा कसरी आयो ? 
श्रीमानको निधनपछि मात्रै हिमाल आरोहणमा लागेको हो । एउटा कार्यक्रममा जाँदाखेरी करिब ३० जना जति म जस्तै एकल महिला थिए । त्यो बेला म जस्तो एकल महिला धेरै रहेछ भन्ने थाहा भयो । त्यहाँ त कसैको ५० बर्ष, कसैको ६० वर्षको उमेरमा श्रीमान हिमालमा बितेको भेटें । कुनैको २०–२१ वर्षको उमेरमा पनि श्रीमान बितेको भेटें । कुनैको चाहिं पेटमा बच्चा भएको बेलामा श्रीमान बितेको पनि भेटें । त्यसपछि ममा पनि आँट आयो । एकल महिला म मात्रै होइन रहेछ । श्रीमान मेरो मात्रै बितेको होइन रहेछ भनेर त्यहाँबाट म र मेरो साथी फुरादिकी शेर्पालाई पनि आँट आयो । 

हिमाल चढ्न जाने भन्दा घरपरिवारको कस्तो आयो प्रतिक्रिया ? 
आफन्तहरुले भन्थ्यो ‘श्रीमान हिमालमै बित्यो, तिमी पनि त्यही मर्न जान् लागेको ?’ ‘तिमी त्यहाँ के हेन् जाने ?’ पनि भने । आफन्तहरुले श्रीमानको पनि हिमाल चढ्दा निधन भयो । मेरो पनि त्यही हुन्छ कि ? भनेर डर भएर भनेका थिए । परिवारले पनि भनेको त्यही हो । तर मलाई लाग्यो दशा छ भने घरमै पनि मरिन्छ । हिमालमा गएर मात्रै मर्छ भन्ने होइन भन्ने लाग्यो । तर पनि मैले परिवारलाई नभनी सगरमाथा आरोहण गर्न तालिम लिएँ । सगरमाथा चढ्न जाने अघिल्लो दिन मात्रै परिवारलाई जानकारी दिएको हो । मेरो बुबा पनि पहिले नै बित्नुभएको हो । आमा हुनुहुन्छ । दुई जना दिदी र एक जना दाई हुनुहुन्छ । एउटा छोरा र एउटा छोरी छन् । श्रीमानको आमा हुनुहुन्छ । श्रीमान हुँदा म र  बच्चाहरु श्रीमानकै घरमा बस्थ्यौं । निधनपछि घरमा मुख्य मान्छे नै नभएपछि सोचेको जस्तो नहुँदोरहेछ । परिवारले पनि अर्को नजरले हेर्ने । हरेक कुराहरु नकारात्मकरुपमा लिने । त्यसो भएपछि श्रीमानको परिवारसँग छुट्टिएर बच्चाहरुलाई लिएर बसेको छु, तीन जना मात्र । श्रीमानको निधन हुँदा छोरा ६ वर्षको थियो । छोरी ३ वर्षको । छोरीलाई अझै पनि थाहा छैन् उसको बुबाको निधन भएको कुरा । अहिले छोरा १५ वर्ष भयो । छोरी १३ वर्ष भइसक्यो । 

कसरी दुई बच्चाहरुलाई हुर्काउनुभयो ? 
श्रीमानको मृत्युपछि हामी एकल महिलाहरुलाई विदेशीहरुले धेरै सहयोग गर्नुभयो । द जुनिपर फण्ड नामक संस्था छ । त्यो संस्थाले हामी जस्ता हिमालमा श्रीमान गुमाएका एकल महिलाहरुलाई हरेक ठाउँमा सहयोग गर्दै आएको छ । पैसा होइन् । हामीले तालिम लिन चाहेको, भाषा पढ्छु, जुन कुराहरुको तालिम लिन्छु भन्दा पनि त्यो संस्थाले साथ दिन्छ । मेरो छोराछोरी दुई जनाको पढाईका लागि पनि सहयोग गरेको छ । पढाइबाहेक उनीहरुको अन्य खर्चको लागि मैले टे«किङबाट कमाएको पैसाबाट खर्च गरिरहेको छु । 

बिहे गर्नुअघि के गर्नु हुन्थ्यो ?
बिहे गर्नुअघि म पोटर गाइडको रुममा काम गरेको थिए । स्कुल पढ्ने बेला दशैंको छुट्टिमा नाम्चे जाँदै थिएँ । त्यहाँ विदेशीहरु भेट भयो । उनीहरुको झोला बोकेर पोटर गाइडको काम पनि गर्थें । कक्षा ८ सम्म मैले उध्ययन गरें । सन् २००५ मा मेरो बिहे भयो । बिहेपछि २०१४ सम्म गृहिणी भएर बसें । घर समाल्दै, खेतीपाती गर्दै जिन्दगी बित्दै थियो । जब श्रीमानको निधन भयो, त्यसपछि गृहिणीबाट बाहिर निस्किएँ । हामीले सगरमाथा आरोहण गर्न अरुसँग पैसा मागेर जम्मा गरेर सगरमाथाको चुचुरोमा पुगेका हौं । हामीलाई ८ देखि ९ महिनासम्म लाग्यो पैसा जम्मा गर्न । हामी गाउँघरमा गएर पैसा उठायौं । काठमाडौंको गल्ली गल्ली गएर उठाएको पैसाबाट सगरमाथाको चुचुरोमा पुग्न सफल भयौं । कुनैले त तिमीहरुले त्यसरी पैसा उठाएर हिमाल चड्नुभन्दा गाउँमा आएर आलु रोपेर खाउ समेत भनेका थिए । 

अब कुन हिमाल आरोहण गर्न मन छ ?
मलाई केटु हिमाल आरोहण गर्न मन छ । मिल्यो भने बिस्तारै केटुको आरोहण गर्छु । पैसा मागेर एउटा हिमाल पो आरोहण गरें  । सधै अरुसँग पैसा उठाएर हिमाल आरोहण गरेर साध्य पनि हुँदैन् । अहिले अलिअलि कमाएको पैसाबाट घरपरिवार पनि हेर्नुपर्यो । भविश्यमा मिल्यो भने अरु हिमाल पनि आरोहण गर्छु । 

सरकारले हिमालमा श्रीमान गुमाएका श्रीमतीहरुको लागि के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ? 
सरकारले हाम्रो लागि र हाम्रो बालबालिकाको लागि केही पनि गरेको छैन् । हामीलाई केही चाहिंदैन् । हाम्रो बालबालिकाको शिक्षाको लागि सहयोग गरिदिुपर्यो भनेर सरकारसँग गुनासो पनि पोख्यौं । हामीले आफ्नै दैलोको हिमाल आरोहण गर्न जाँदा सरकारलाई रोयल्टी तिर्नुपर्ने बाध्यता छ । अहिलेसम्म सरकारले हामीलाई केही पनि गरेको छैन् । नेपाली सेनाले देशको रक्षा गर्छ भने हाम्रा श्रीमानहरुले पनि देशको हिमालको रक्षा गरेको होनी । नेपालको मुख्य आयस्रोत भनेको हिमाल हो । हामी एकल महिनाहरुलाई न केही गरेको छ सरकारले, न हाम्रो बालबालिकाको शिक्षाको लागि सहयोग गरेको छ । सेनाको मृत्यु भएपछि उनीहरुको श्रीमतीलाई सुविधा छ । उनीहरुको छोराछोरीलाई पढाउने सुविधा दिइरहेको छ । हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीहरुको श्रीमतीहरुलाई अहिलेसम्म केही पनि दिएको छैन् । आरोहणको क्रममा क्याम्प–२ मा एक जना भारतीय प्रहरी भेटेका थियौं । प्रहरीमा हुँदा उनले सगरमाथा आरोहण गरेका रहेछन् । आरोहणपछि उनलाई भारत सरकारले इनिस्पेक्टरको पद दिएको रहेछ । यस पटक पनि सगरमाथा  आरोहण गर्यो भने इनिस्पेक्टरको पदभन्दा माथिको पद पाउने सुनाए । 

Advertisement

Advertisement