बर्ड फ्लुले कुखुरा मरे दावी भुक्तानी माग्ने कष्ट नगर्नुः सगरमाथा इन्स्योरेन्सका सीईओ

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बर्ड फ्लु संक्रमण देखिन थालेको छ । कुखुरा पालन व्यवसायले लय समाउन लागेको बेला फेरि बर्ड फ्लु संक्रमण देखिँदा कुखुरा पालक किसान र व्यवसायीहरु चिन्तित छन् । 

बीमा गरेका कुखुरारु मरे वा मार्नु परे बीमा दाबी भुक्तानी पाइने हो कि होइन् भन्ने चिन्ता कुखुरा पालक किसानहरुमा भइरहेको बेला बीमा कम्पनीहरुले भने बर्ड संक्रमणमा परेका कुखुराको बीमा दावी भुक्तानी दिन नसकिने स्पष्ट पारेको छन् । 

Advertisement

बीमक संघका अध्यक्षसमेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) चंकी क्षेत्रीले बर्ड फ्लुको बीमा हुन नसक्ने बताए । उनले भने, ‘बर्ड फ्लुको बीमा हुँदैन । कुनै पनि पंक्षी बर्ड फ्लुका कारण मरेको वा मारिएको अवस्थामा त्यस्तो जोखिमको बीमाले रक्षावरण गर्दैन् । कुनै पनि बीमा कम्पनीबाट पैसा पाइँदैन । कुनै पनि महामारीको बीमा विश्वव्यापी रुपमा नै हुँदैन ।’

सीईओ क्षेत्रीले महामारी भन्दा बाहेक अन्य कुनै पनि किसिममा रोगबाट पशुपंक्षी मरेमा वा क्षति भएमा बीमा कम्पनीहरुले दावी भुक्तानी दिने बताए । उनले बर्ड फ्लुबाट कुखुरा नष्ट भएको अवस्थामा दाबी भुक्तानी पाइन्छ कि ? भन्दै बीमा कम्पनीसम्म धाउने कष्ट नगर्न समेत सबैलाई आग्रह गरे । 

केही वर्षअघि सलह किराको बिगबिगी छाउँदा पनि बीमा दावी भुक्तानीको विषयमा बहस चलेको थियो । बीमा त्यस सन्दर्भमा कम्पनीहरुले दाबी भुक्तानी गर्ने हो कि होइन ? भन्ने दुविधा किसानहरु परेको थिए । 

अन्नबालीमा सलह किराले किसानहरुको ठूलो लगानी जोखिममा पारेको बेलामा बीमा कम्पनीहरुले क्षतिपूर्ति दिएको स्मरण गर्दै क्षेत्रीले थपे, ‘सलहको बीमा दाबी भुक्तानी हामीले पाईन्छ भनेका थियौं । दिएकै पनि हो । सलह भनेको त महामारी होइन । बालीमा धेरै किरा एकसाथ फैलिएको अवस्था थियो । त्यस्तो अवस्थालाई फेरि बीमाले समेट्छ । तर, बर्ड फ्लुलाई समेट्दैन् ।’ 

उनले बीमालेखले कस्तो जोखिमलाई समेट्छ ? कस्तोलाई समेट्र्दैन ? किसानहरु पनि प्रष्ट हुनु जरुरी रहेको बताउँदै प्रष्ट नहुँदा किसानहरुले नै सास्ती पाउने बताए । बर्ड फ्लु संक्रमण देखिएसँगै कुखुरा पालक किसानहरुको लाखौं रुपियाँ लगानी भएका कुखुरा फार्ममा कुुखुरा नष्ट गर्न थालिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबारदेखि काठमाडौंको रामकोट, तारकेश्वर तथा ललितपूरको खुमलटार क्षेत्रका कुखुराहरुमा बर्डफ्लु संक्रमण भेटिएको बताएको थियो । 

Advertisement

Advertisement