काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छन् ।
भृकुटीमण्डपमा सुरु भएको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’मा उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको बताइन् । त्यसका लागि सुझाव दिन पनि शमाले आग्रह गरिन् ।
उनले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरिन् । सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दैै शर्माले त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको बताइन् ।
उनले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजनाहरु अघि सार्ने योजना रहेको बताउँदै भनिन, ‘सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के–के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्नसक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौंला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आईडिया, सुझाव पनि मन्त्रालयले प्राप्त गर्न सकोस् ।’
शर्माले थपिन्, ‘यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर मन्त्रालय अघि बढनेछ । यस सम्बन्धमा हाम्रा कानुनमा पनि लुपहोलहरु छन् । कानुन बनिसकेका छैनन् । कानुनहरु बनाउने कुराहरु पनि छन । हामी यस क्षेत्रसँग सम्बन्धित कानुनहरुको बारेमा छलफल गरिरहेका छौं । कानुनहरु छिटो भन्दा छिटो संसदमा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागिरहेका छौं । त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाहरुको सुझावको अपेक्षा गरेका छौं । यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन । तर पनि आवश्यक काम हुन सकेको छैन् । जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन् ।’
मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्ने बताइन् ।