सगरमाथा चुचुरोमा पुगेपछि मान्छे भएर अहिलेसम्म गरेका पापका लागि क्षमा मागेंः डा. श्रेष्ठ

Advertisement

काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार श्रेष्ठले गत जेठ २ गते बिहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि उनले लोबुचे पिक चढेका थिए । करुणा अस्पतालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका श्रेष्ठसँग कपोरेट नेपालीकी फुर्पा शेर्पाले गरेको कुराकानीः 

तपाईं एउटा चिकित्सक । हिमाल आरोहणतिर चाहिं किन रुची गयो ? कसैले प्रेरणा दिएको हो कि ? 
म कक्षा ९–१० मा पढ्ने बेला सगरमाथाको बारेमा निकै जिज्ञासहरु आउँथ्यो । प्रेरणाभन्दा पनि जिज्ञासु थिए हिमालबारे । त्यो बेला हाम्रा एक जना नेपाली पर्वतारोही शेर्पाले १४ वर्षको उमेरमा रेकर्ड राख्छु भनेर आरोहण गरेका थिए । उनले दोस्रो पटकको प्रयासमा रेकर्ड पनि राख्न सफल भए । त्यो बेला धेरै हिमालहरुको बारेमा विभिन्न रेकर्ड राखेका समाचारहरु आउँथ्यो । जब मैले करुणा अस्पतालको निर्माण सुरु गरें, निर्माण क्षेत्रमा विभिन्न जिल्लाका पर्वतारोहीहरुको बसोबास रहेछ । अस्पताल सुरु गरिसकेपछि उनीहरुसँग मेरो चिनजान हुनथाल्यो । भेटघाट हुनथाल्यो । गफगाफमै मैले सगरमाथा चढ्न सक्छु ? भनेर प्रश्न गर्दा पर्वतारोहीहरुले ‘सकिहाल्छ’ भने । सगरमाथा चुचुरोमा पुग्नुअघि करिब एकदेखि डेढ महिना अगाडी चढ्नुपर्छ कि क्या हो ? भनेर सोंच आयो । त्यसपछि स्रोत जुटाउन थालियो । सगरमाथा आरोहणका लागि हिंडियो । सगरमाथा चढ्ने सोंच आएको सन् २०२१ को मे महिनामा हो । त्यो बेला एक्पेडिशन चलिरहेको थियो । मैले हाम्रो अस्पतालको झण्डा दिएर आरोहण टोलीलाई पठाएको थिएँ । झण्डा फहराएको भिडियो टिकटकमा राखेर ८८४८.८६ भनेर लेखेर राखेको थिएँ । त्योबेला मनमा अब सगरमाथाको चुचुरोमा पुग्ने हो कि भन्ने पहिलो पटक आएको थियो । त्यसपछि एक वर्षसम्म गफसफ गरियो । सगरमाथा आरोहण गर्न जाने कि नजाने ? सकिन्छ कि सकिन्न ? भन्ने भयो । सकिन्छ भनेर निर्णय गरें र आरोहणको लागि हिंडे । 

Advertisement

पेसाले डाक्टर हुनुहुन्छ । अस्पताल चलाउनुहुन्छ । समय कसरी निकाल्नुभयो ? 
हिमाल चढ्नु मेरो व्यवसाय होइन् । हिमालको लागि अस्पतालबाट समय निकालेर दिनुपर्छ भन्ने छैन् । पहिला हिमाल आरोहण गर्न जाँदा पनि छुट्टि लिएर गएको हो । हिमाल आरोहण गर्न जाँदा अस्पतालमा खासै असर गर्छ जस्तो लाग्दैन् । डाक्टर भएकै कारण पर्वतारोहीहरुसँग चिनजान भयो । उहाँहरुसँग गफगाफ गर्दागर्दै सम्वन्ध विस्तार भएपछि उनीहरुसँगै सगरमाथा चढ्न गएको हो । यसले एउटा पेशालाई काट्ने भन्दा पनि एउटा पेशाले गर्दा मद्दत गरेको जस्तो लाग्छ । 

हिमाल आरोहण गर्न जान्छु भन्दा तपाईंका साथीभाई र परिवारको कस्तो थियो प्रतिक्रिया ?
मैले कुनै कुरा गर्छु भनेर सोचिसकेपछि कसैको कुरा पनि सुन्दिन । गरेरै छोड्ने बानी छ । मलाई परिवारले बुझेको छ । श्रीमती र छोरीलाई पनि थाहा छ । मैले केही गर्छु भनेपछि रोक्दैनन् । कुरा बुझिसकेको छ उनीहरुले । म हिमाल आरोहण गर्न जाँदैछु भन्ने कुरा परिवारलाई दुई दिनअघिसम्म पनि थाहा थिएन् । सगरमाथा आरोहणलाई फाउण्डेशनमा जोड्ने मेरो योजना थियो । मैले करुणा प्रज्ञा फाउण्डेशन भनेर सुरु गरिसकेको थिएँ । तर सगरमाथाको चुचुरोमा पुगिसकेपछि म सानो, मेरो नै अस्तित्व छैन् भन्ने भयो । सगरमाथा भनेको ठूलो चिज हो । ठूलो काम हो । ठूलो काममा केही ठूलो कुरा जोड्न सके राम्रो हुने थियो । सगरमाथाको आरोहण गर्न जाँदा लिएर गएको थिए चिकित्सकीय पेसा । हिमाल आरोहणले केही न केही सकारात्मक सन्देश दिन सकिन्छ कि ? भने कुरामा हो ।

तपाईंको सगरमाथा आरोहण र मेडिकल सेक्टरसँग कुनै सम्वन्ध छ र ? 
‘मिशन् स्ट्यान्ड अपः स्टोक ट्रिटमेन्ट एण्ड अन्डु प्लारालाइसिस’ यो एउटा प्रजेक्ट् मिशन् हो । यो चाँहि पर्यालिसिस भएको मान्छेहरुलाई उपचार गर्ने पदति विकास गर्न सुरु गरेको एउटा प्रजेक्ट् हो । पछिल्लो समय ब्रेनस्टक हुँदा थ्रोम्बोलाइसिस (औषधि, जसले पगालेर जस्ताको तस्तै हिंड्नसक्ने बनाउँछ) भन्ने औषधि आएको छ । त्यसले पनि काम गरेन् भने चौबिस घण्टाभित्र थ्रोम्बेक्टोमी भन्ने प्रविधिको विकास भएको छ । यसले पनि सामान्य जीवनमा फिर्ता ल्याउन सकिन्छ । यो प्रविधि नेपालमा पनि दुई–तीन वर्ष भयो सुरु भएको । तर यो प्रविधि महंगो छ । छ लाखदेखि १२ लाखसम्म खर्च हुन्छ उपचार गर्दा । नेपालीको लागि पाँच लाखभन्दा माथिको रकम निकै ठूलो हो । प्यारालाइसिस भएको २४ घण्टाभित्रै उपचार गर्न पैसाको कारण पाएन भने मान्छेको जीवन बिग्रिन्छ । त्यो उपचार खर्च किन बढी परिरहेको छ ? भनेर मैले अध्ययन गरें । थ्रोम्बेक्टोमी गर्ने क्याथल्याब मेशिन निकै महंगो रहेछ । म सगरमाथा आरोहण गर्न जाँदा मेशिन किन्न चन्दा उठाउँछु र उठाएको पैसाले मेशिन किन्छु भनेर त्यो मिसनका साथ गएँ । उक्त मेशिन अस्पतालमा राख्दा डाक्टर, नर्सको चार्ज र शल्यक्रियाको खर्च राखे पुग्यो । यसले कुल मिलाएर पाँच–छ लाख लाग्ने उपचार खर्चलाई एकदेखि डेढ लाखमा झार्न पाइयो भने बिरामीहरुले त्यो खर्च तिर्न सक्छन् । दिनमा करिव ६ देखि १० जनालाई प्यारालाइसिस भइरहेको हुन्छ । दिनको तीन जनालाई मात्रै भए पनि सस्तोमा उपचार गर्न पाइयो भने वर्षमा छ सयदेखि सातसय जनालाई सामान्य जीवनमा फिर्ता ल्याउन सकिन्छ भन्ने लाग्यो । यसले समाजमा थप प्रभाव पार्छ भन्ने मिसन लिएर सगरमाथा चढ्न गएको थिएँ । त्यहाँ जाँदा मैले करुणा प्रज्ञा फाउण्डेशनको ब्यानर देखाउँदै गएँ । आरोहणका क्रममा लामा जोपा रिन्पोछेले पनि केही रकम सहयोग गर्छु भन्नुभएको थियो । फाउण्डेसनमा करिब ५० प्रतिशत दान उठिसकेको छ । करुणा अस्पतालका लागि थ्रोम्बोलाइसिस मेसिन ल्याउँदै छौं । हामीले आउँदो असारको पहिलो हप्ताबाट यो मेशिन सुरु गर्ने योजना बनाएका छौं ।​

लोबुचे पिक र सगरमाथा आरोहण अनुभव कस्तो रह्यो ? 
पर्वतारोहीहरु अलि बढी सकारात्मक सोच भएका असाधारण मानव जस्तो लाग्यो । सकारात्मक सोचतर्फ धेरै ध्यान दिने । जे देख्यो, त्यही भन्ने । उनीहरुले जिन्दगीलाई सहजरुपमा लिने । कुनै पनि अवरोधलाई गाह्रो नदेख्ने । त्यही भएर पर्वतारोहीहरुको बोली पनि कस्तो हुन्थ्यो भने हिंड्ने त होनी, जाने त होनी, हामी छौनी । हिमाल आरोहणको अनुभव भनेको जस्तो, मरिन्छ, त्यो छ, यस्तो छ, दुर्घटना कहाँ हुँदैन ? जहाँ पनि भइरहेको हुन्छ । मैले त्यही सोंचका साथ लोबुचे पिकको आरोहण गरेको थिएँ । पिक आरोहण गर्नुअघि पहिला कुनै हिमाल चढेको अनुभव थिएन् । सबैभन्दा अग्लो उचाइमा पुगेको भनेको करिब २२ वर्ष अगाडी गोसाइकुण्ड हो । त्योबाहेक म खासै हाइकिङ्, टे«किङ जाने मान्छे पनि होइन् । हिमाल आरोहण गर्नुअघि दुई चोटी डाँडामा पुगेको भनेको शिवपुरी हो । एकै चोटी लोबुचे आरोहण गर्न जाँदा केही गाह्रो भयो । अल्टिच्युट सिक्नेस भएको थियो । पहिलो पटक हिमाल र हिउँ टेकेको । त्यो भन्दाअघि मैले हिउँ पनि टेकेको थिइन् । यो मेरो लागि नयाँ अनुभव थियो । लोबुचे पिकमा पुगिसकेपछि वरिपरिको दृश्य र सगरमाथा देखियो बिहानको समयमा । त्यो पल मेरो लागि आश्चर्यजनक थियो । काठमाडौंमा हुँदा या कुनै ठाउँमा हुँदा म एक डाक्टर, म न्यूरो सर्जन डाक्टर भन्ने जस्तो केही न केही ब्याकअप माइन्डमा त थियो । हुनेसम्म म गर्न सक्छु भन्ने हुन्थ्यो । तर हिमालमा पुगिसकेपछि रियालिटि स्टक भनेको जस्तो भयो । म त केही पनि होइन रहेछ, म यो संसारको तुच्छ प्राणी रहेछ जस्तो भयो । लोबुचेको चुचुरोमा पुगेपछि छ हजार मिटर अग्लो हिमाल पुगिंदोरहेछ । यसभन्दा अघि सगरमाथा आरोहण गर्न जान्छु । जान सके जान्छु । जहाँ गाह्रो हुन्छ, त्यहींबाट फकिन्छु भन्ने थियो । लोबुचेको सफल आरोहणपछि सगरमाथा आरोहण गर्न सफल हुन्छु भन्ने मनमा भयो । लोबुचेको चुचुरोमा ४५ मिनेट जति बसें । त्यहाँ मैले आफूलाई सानो महशुस गरें । त्यसपछि मैले सगरमाथाको सफल आरोहण गरें । सगरमाथाको चुचुरोमा पनि ४५ मिनेट जति बसें । लोबुचे पिकको आरोहण गर्दा छुटै उत्साहित थिएँ । सगरमाथा आरोहण गर्दासम्म म को हो ? मेरो पहिचान के हो ? भन्ने कुरा बुझिसकेको थिएँ । सगरमाथा चुचुरोमा पुगिसकेपछि तीन चिजहरु माग्छु भन्ने थियो । सबैभन्दा पहिला म माफ माग्छु भन्ने थियो । अहिलेसम्म मान्छे भएर या यो जुनी मात्र नभएर जुनी जुनीमा मान्छे भएर जे जति पाप गरेको छु, त्यस पापहरुको लागि क्षमा पाउँ भनेर माफ माग्छु भने थियो । दोस्रो चिकित्सक भएको नाताले संसारमा जे जति रोगी बिरामीहरु छन्, उनीहरुको रोग हरण गर्ने क्षमता माग्ने थियो । तेस्रो चाहिं आफ्नो लागि व्यक्तिगत रुपमा केही माग्छु भन्ने थियो । तर त्यहाँ पुगिसकेपछि व्यक्ति भन्ने कुरा नै हरायो । त्यो पनि मागिन । पहिलो र दोस्रो चाहिं मागे । तर, तेस्रो माग्न इच्छा नै भएन् । अस्तित्व नै छैन भन्ने महशुस आइसकेपछि त्यो मागिन । 

आगामी दिनमा पनि हिमाल आरोहण गर्ने योजना छ ?
हिमालले मोहोनी लगाउँछ । बोलाइरहेको हुन्छ । सजिलो छैन् हिमाल आरोहण गर्न । सबै हिमालहरु आरोहण गर्ने भनेपछि एउटा जोखिमले गर्दा हामी परिवार भएका मान्छेहरुलाई सजिलो छैन् । फेरि हिमालमा जान मन लागेको छ । अब हिमाल चढें भने केही चिजको लागि चढ्ने हो । ब्याकअपमा ‘मिसन ट्रिपल् ८८८’ भनेर राखेको छु । यो मिसन अरु कसैले गरे पनि म खुःसी नै हुन्छु । ‘मिसन ट्रिपल ८८८’ भनेको ८ वटा ८ हजार मिटर अग्ला नेपालमा भएका मात्रै हिमाल ८० दिनमा पूरा गर्न सकिन्छ कि भन्ने ब्याकअप माइन्ड छ । कुनै दिन समय र सबै कुराहरु मिल्यो भने र परिवारसँग कुरा मिल्यो, पैसा राम्रो जम्मा भयो भने यो मिसन पूरा गर्न अघि बढ्छु । ठूलै खर्च लाग्ला । त्यो भन्दाअघि चो ओयु हिमाल आरोहणको लागि नेपालबाट कमर्सियल रुट खोलेको छैन् । त्यसको रुट पनि खोल्नु पर्यो । त्यो सबै मिल्यो भने कुनै दिन मेरो मिसन पूरा गर्छु कि ? भन्ने छ । 

Advertisement

Advertisement