वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

Advertisement

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।  

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे । 

Advertisement

पुर्ख्यौली बझाङको छविस पाथिभेरा(२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए ।  

सुरुवातमा काम गर्न दुबई पुगेका उनी मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गर्नुभएका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाले ।  

“व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे”, उनले भने, “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किएनन् ।  

बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु पर्यो ।  

“सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उनले भने, “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए ।  क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।  

“कुखुरापालनबाट लाखौं गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”,  उनले भने । “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन् ।  

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैंसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उनले भने । हाल उनको फार्ममा छ वटा भँैसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।

“अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उनले भने, “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रू आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् । रासस

Advertisement

Advertisement