इप्पानले आउँदो चैत १४ र १५ गते उर्जा सम्मेलन गर्ने, ३० देशबाट तीन सय प्रतिनिधि आउने

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानले आउँदो चैत १४ गतेदेखि आठौं संस्करणको पावर समिट (उर्जा सम्मेलन) आयोजना गर्ने भएको छ । दुई दिने यस सम्मेलन ‘हरित उर्जाको बजार विस्तारिकरण’ रहेको छ । 

तीस देशबाट तीन सय प्रतिनिधि आउने जनाइएको यस सम्मेलनबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । उर्जा क्षेत्रमा नयाँ लगानी र संभावनाहरुको खोजी गर्ने मुख्य उद्देश्यले आयोजना हुने सम्मेलनमा नेपालको उर्जा विकासको समस्या र समाधानका बारेमा छलफल हुनुका साथै अन्य मुलुकले उर्जा क्षेत्रमा गरेका विकासको अनुभव आदानप्रदान, प्रविधि हस्तान्तरणबारे छलफल हुने इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए । 

Advertisement

सम्मेलनलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले संरक्षण प्रदान गरेको छ । सरकारी अधिकारी, उर्जा उत्पादक, उर्जा व्यापार कम्पनीका प्रतिनिधि, वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, बिक्रेता गरी आठ सय जनाको सहभागिता रहने सम्मेलन विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) अमेरिकी सहायता संस्था (यूएसएआईडी) एफएमओ जस्ता विकास साझेदार संस्थाका प्रतिनिधि पनि सहभागी हुनेछन् । 

सम्मेलनको कन्ट्री पार्टनरको रुपमा भारतीय दूतावासलाई चयन गरिएको छ । इप्पानले सन् २००६ बाटै यस किसिमको सम्मेलन आयोजना गर्दै आएको छ । यस्ता सम्मेलनले नेपालमा जलविद्युत उत्पादनका लागि अनुकुल वातावरण निर्माण भई मुलुक आत्मनिर्भरतातिर गएको भन्दै इप्पानले हाल निजी क्षेत्रबाट जलविद्युत क्षेत्रमा योगदान ५५ प्रतिशतभन्दा बढी भएको दावी गरेको छ । 

Advertisement

Advertisement