बीमक संघको यातायातमन्त्रीलाई सल्लाह– दुई वटा हेल्मेटभन्दा बरु बीमालाई जोड दिनुस् न

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको साझा संस्था बीमक संघ नेपालले यातायात तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै प्रश्न उठाएको छ । मन्त्री श्रेष्ठले मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य दुईवटा हेल्मेट लाउँनु पर्ने व्यवस्थाको सर्मथन गर्नुभन्दा यात्रुका सुरक्षाकालागि बीमाको अपरिहार्यतामा जोड दिनु पर्ने औंल्याएको हो । तर, उक्त दुई वटा हेल्मेटको प्रस्ताव सरकारले हाललाई स्थगित गरिएको अवस्था छ ।

बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले जुनसुकै यातायात मन्त्री आए पनि यातायात बीमा ओझेलमा पर्दै आएको आरोप लगाएका छन् । अध्यक्ष क्षेत्रीले कर्पोरेट नेपालसँग भने,‘सरकारबाटै बीमाको महत्व जनतालाई बुझाउँन सके मात्रै यसले सकारात्मक प्रभाव       पार्छ । अहिले त अनिवार्य भनिएको तेस्रो पक्ष बीमा नै काठमाडौं उपत्यका भित्रै लागू हुन नसकेको अवस्था छ ।’

Advertisement

सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गर्नु भन्ने नीति आफैले ल्याए पनि हालसम्म त्यसलाई कार्यन्वयन गर्न नसक्नु  उनको गुनासो छ । 

यस्तो छ क्षेत्रीको बाँकी भनाई

अहिलेको यातायात मन्त्री समक्ष तपाईहरुले नै कुरा पुर्याईदिनु पर्यो । काठमाडौंमा अहिले गाडीको संख्या कति छ ? पहिलो त्यो गन्नु पर्यो । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा रहेका गाडीहरु मध्ये तेस्रो पक्ष बीमाको दायरा कति समेटीएका छन् ? त्यति त नम्बर गन्दा मात्रै पनि पत्ता लाग्ने कुरा हो । 

दुईवटा हेल्मेट लगाउँनु मात्रै सुरक्षा होइन । यातायात बीमामा सुधार भएको अवस्थामा सरकारलाई भ्याट पनि त धेरै आउँछ । जनताले अनिवार्य पाउँनु पर्ने  सुविधा पनि बढ्छ । यस्तो विषयमा पनि त सरकारले आँखा लाउँनुपर्छ नि । 

तेस्रो पक्ष बीमामा मैले हेर्दा मोटरसाईकल चढ्ने साथीहरु बीमाको त कुरै छाडौं कर नै तिर्न जानु हुन्न रहेछ । बीमा गर्ने बानीको विकास गर्दा सबैलाई फाईदा पुग्छ । 

रिंगरोडको बाटोमा ट्राफिक प्रहरीहरुले पनि जनतालाई धेरै कुरा सिकाउँन जरुरी रहेको देखिन्छ । सबैभन्दा पहिला त सिकाउँनु पर्ने, जनचेतनाका कुरा गर्नु पर्ने हो नि । तपाईहरु नै हेर्नुस् नौ हर्नको नीति त जनताले एकैपटकमा बुझेर अहिले लागू भएको अवस्था पनि छ । 

त्यस्तै, बिनोद चौधरीले लेन नमिच्नु भनेर छड्के सडके राखेका थिए त्यसले पनि त चालकहरुमा एउटा राम्रो बानीको विकास गरेको थियो । दुर्घटनाको दर घटाउँन पनि सरकारले सोच्नु पर्छ । जहाँ पायो त्यही गाडी रोक्ने गरेको पनि हामीले देख्छौं । बाहिरका विकशित देशहरुले त्यस्तै गर्छन् त ? एउटा एरिया छुट्याउँछ त्यहाँ रोक्ने, हिड्ने, गाडी चढ्ने भन्ने ठाउँहरु त निश्चित छन् । यति त नेपालमा पनि गर्न सम्भव छ नि ।

यहाँ त दुई वटा गाडीको अनावश्यक प्रतिस्पर्धा हुँदा, अनावश्यक ठाउँमा पार्किङ गर्दा अर्को गाडीलाई क्षती पुग्ने गरेको छ । यो मैले किन जोडेको भने बीमाको लागि त हामीले काम गरेका छौं अब सरकारले पनि त्यही अनुसारको सडक संरचना, अरु नीति नियम ल्याएर जनतालाई सहयोग गर्नु पर्यो । यातायात बीमालाई मात्रै दोष दिने चलन हटाउन अब यातायात मन्त्रीले पनि साथ दिनु जरुरी छ ।
 


 

Advertisement

Advertisement