फुटपाथ व्यवसायीको पीडा– बालेनले सडकबाट लखटे, अहिले घरधनीको धम्की खेप्दैछौं

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यवसायी गर्न नदिएर लखेटिएका नयाँ बानेश्वर चोकका फुटपाथ व्यवसायी विकल्प खोजेर व्यवसाय गरेको अहिलेको ठाउँमा घरधनीलाई दैनिक चर्को भाडा तिर्नुपर्दा झन ठूलो समस्यामा परेका छन् । 

संसद भवनको पश्चिमतर्फ रहेको फलामको टहरामा बसेपछि घरधनीले एकपछि अर्को दिन अस्वाभाविकरुपमा भाडा बढाउँदै जाने र भाडा नतिरे ‘निस्किएर जा’ भन्दै धम्क्याउने गरेको साना व्यवसायीको गुनासो छ । 

Advertisement

काठमाडौं महानगरपालिकाको मयरमा बालेन शाह आएपछि शहर व्यवस्थित बनाउने भन्दै सडक पेटीमा व्यवसाय गर्नेहरुलाई हटाउन सुरु गरेका थिए । सोही मारमा परेका नयाँ बानेश्वरका फुटपाथ व्यवसायले विकल्प खोजेर फलामको टहरामा भाडा तिरेर आफ्नो व्यवसाय सुचारु गरेका थिए । 

आफ्नो टहरामा फुटपाथ व्यवसायीहरु सबै आएर व्यवसाय गर्न थालेपछि ‘यिनीहरु जाने ठाउँ अर्को छैन्, जति पनि भाडा बुझाउँछन्’ भनेर घरधनीले दुख दिएको व्यवसायीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘महानगरपालिकाले दु्ःख दिएर हामी यहाँ आयौं । यहाँ आएपछि साहुलाई दिनदिनै चर्को भाडा तिर्नुपर्दा झन ठूलो अन्याय भएको छ । भाडा बढाएको विषयमा आफ्नोविरुद्ध बोल्दै हिंडेमा निकाल्दिने भन्दै धम्की दिने गरेको एक महिला व्यवसायीले बताइन् । 

उनले भनिन्, ‘महानगर प्रहरीले लखेटेर हैरान पारेका हामीले निकै पीडा खेप्नु परेको छ । अहिले यहाँ विभिन्न मिडियालाई पैसा दिएर साहुले बोलाउँछन् । हामीलाई राम्रो बोल्देउ भन्छन् । साहुको विरोधमा बोल्दा यहाँबाट निकाल्दियो भने हामी कहाँ जाने ?’

घाँटीमा साहुले पासो लगाए पनि आफूहरु व्यापार गर्न बाध्य रहेको गुनासो गर्दै ती व्यवसायीले अहिलेको ठाउँ महानगरले खोजिदिएको नभई आफूहरुले नै खाजेर बसेको बतायन् । घरधनीले व्यवसाय हेरेर दैनिकरुपमा आफूहरुसँग भाडा अशुल्ने गरेको र जति बढाए पनि आफूहरु तिर्न बाध्य रहेको ती महिलाको भनाई छ । 

सडक पेटीमा व्यवसाय गर्न महानगरले दिएपछि घरधनीले मौका छोपेर फलामको आफ्नो टहराको खाली ठाउँ भाडामा दिन आफूहरुलाई बोलाएका थिए । देशको परिस्थितिले गर्दा जीवन यापन गर्न निकै सकस भएको उनीहरुको गुनासो छ । 

अर्का व्यवसायी भन्छन्, ‘यहाँ व्यापार नगरुँ भने जाने ठाउँ छैन् । झन् धेरै भाडा तिर्नुपर्ने हुन्छ । बसौं भने व्यापार हुँदैन । बाटोमा बस्दा सुविधा नभए पनि व्यापार राम्रो हुन्थ्यो । अहिले त दिनभरी कमाएको बेलुका भाडा बुझाएर जानुपर्ने बाध्यता छ ।’ 

दिनमा १५ सय जतिको व्यापार हुने तर एक हजार भाडा तिरेर घर फर्कनुपर्ने बाध्यता रहेको सुनाउँदै नयाँ बानेश्वरका एक महिला फुटपाथ व्यवसायीले नौ जनाको परिवार पाल्न र बच्चा पढाउन गाह्रो भएको सुनाइन् । आफूले विगत १२ वर्षदेखि फुटपाथ व्यवसाय गर्दै आएको र अहिलेको ठाउँमा सरेको एक बर्ष हुन लागेको उनले बताइन् । 

अर्का एक व्यापारीले नयाँ ठाउँमा सरेदेखि नै राम्रो व्यापार गर्न नसकेको गुनासो गरे । उनले भने, ‘व्यापार गर्न बस्ने मात्र भएको छ । नयाँ ठाउँमा सरेदेखि राम्रो व्यापार भएको छैन् ।’ दैनिक आठ सय रुपियाँ भाडा तिर्दै आएका उनले बिगत २३ वर्षदेखि फुटपाथ व्यवसाय गर्दै आएको बताए । 

नयाँ बानेश्वरका फुटपाथ व्यवसायीले व्यापार गर्ने अहिलेको फलामको टहरामा पाँच सय जति व्यापारी छन् । यो ठाउँ त्यति व्यवस्थित पनि छैन् । आगलागी र भूकम्पीय सुरक्षाका दृष्टिले पनि यो ठाउँ सुरक्षित देखिन्न । आफूहरुलाई फुटपाथबाट हटाएसँगै ‘मर्नुभन्दा बौलाउनु बेस’ भनेर सो ठाउँमा व्यवसाय गर्दै आएको व्यवसायीको भनाई छ । व्यापार नभएको दिनमा पनि घरधनीले भाडा उठाएर लाने गर्दा आफूहरुलाई पेट पाल्न निकै गाह्रो भएको व्यवसायीहरुको भनाई छ । 

Advertisement

Advertisement