लेखापरीक्षण ढिलो गरेकोमा बीमा संस्थानका अभिकर्ता र कर्मचारीको आलोचना, प्रशासक मौन

काठमाडौं । सरकारी स्वमित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफनो ५६ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा लामो समयदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेको भन्दै कर्मचारी र अभिकर्ताहरुले समेत आलोचना गरे । 

विगतमा नेपाल बीमा प्राधिकरण र अर्थ मन्त्रालयको चर्को आलोचाना खेप्दै आएका संस्थानका प्रशासक कवि पाठकले यस पटक भने कार्यक्रममा कर्मचारी र अभिकर्ताको लामो गुनासो र असन्तुष्टि सुनेर मात्रै बसे । प्रतिक्रिया दिन चाहेनन् । संस्थानको बार्षिकोत्सवमा प्रमुख अथितिको रुपमा बोलाइएका अर्थमन्त्री र प्राधिकरणका अध्यक्ष देखिएनन् । 

Advertisement

बार्षिकोत्सवको कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरे, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा अर्का निर्देशक दिनेशलाल कर्ण, नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकर रायमाझी, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ उपस्थित थिए । 

राजस्व सचिव घिमिरेले सरकारी विद्यालयहरुले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसाथ गर्नुपर्ने बताए । उनले भने, ‘बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरु बढेका छन् । अब बीमा संस्थानले दायाँ बायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।’ 

Advertisement

घिमिरेले बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै संस्थानले निराश हुनुभन्दा पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको बताए । 

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले नेपालले बल गरेर तत्कालिन समयमा बीमा संस्थानको स्थापना गरेको स्मरण गर्दै पुनः संस्थानलाई पहिलेको जस्तै सबल अवस्थामा फर्काउन जरुरी रहेको बताए । उनले भने, ‘राज्यको लगानी भएको कम्पनी बचाउँदा भूकम्पको बेलामा नेपाल टेलिकम र रेडियो नेपालले जस्तो सेवा पाइन्छ । संकटको बेलामा सरकारी संस्थानले सेवा दिन्छन् । त्यसैले संस्थानलाई सुधार गरौं । प्राधिकरण यसमा सकारात्मक छ ।’

संस्थानका प्रशासक कवि पाठकले बीमाको पहुँच ४१ प्रतिशत जनतामा पुग्दा कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान ३.६७ प्रतिशत रहेको जानकारी दिए । प्रशासक पाठकले मुलुकको समग्र अर्थतन्त्रका लागि बीमा क्षेत्र पनि बलियो आधारस्तभ रहेको र बीमा संस्थानको जीवन बीमा कोषमा ४५ अर्ब ९१ करोड रुपियाँ जम्मा भएको बताए । 

राष्ट्रिय बीमा संस्थान कर्मचारी युनियनका अध्यक्ष शम्भू ढुंगानाले अभिकर्ताहरुको क्षमता विकास अपरिहार्य रहे पनि संस्थानले त्यसमा चासो नदिएको गुनासो गरे । उनले अभिकर्ताहरुको बीमा क्षेत्रको औजार भए पनि उनीहरुको उचित प्रयोग नभएको बताउँदै बीमा संस्थानलाई प्रेसर, सुगर हुँदै अब मुटुकै समस्या देखा पर्न थालेको बताए । संस्थानभित्रै अभिकर्ताबाट बीमा क्षेत्रको विकृति सुरु भएको ढुंगानाको भनाई छ । 

संस्थानका पूर्वकर्मचारीहरुले पनि बीमा संस्थानको वर्तमान समस्याहरुको दीर्घकालिन समाधान हुनुपर्ने बताउँदै पाँच प्रतिशत शेयर स्वामित्व पूर्वकर्मचारीहरुलाई दिनुपर्ने बताए ।  

संस्थानका कर्मचारी मनोज गौतमले लेखापरीक्षण नै मुख्य समस्या भएकाले यसको समाधानका लागि संचालक समिति, बीमा प्राधिकरण तथा अर्थ मन्त्रालय गम्भीर हुनुपर्ने बताए । 

कार्यक्रममा बीमा संस्थानका सवारी चालक मनिस श्रेष्ठ, अभिकर्ता हरिशरण शिवाकोटी, मनकुमारी निरौला रेग्मी, राजन रिमाललगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थानका चार वटा शाखासहित सह व्यवस्थापक शारदा पाण्डे लोहनीलाई समेत विद्यावारी गरेको भन्दै प्रसंशा पत्र प्रदान गरिएको थियो ।  

Advertisement