'जंगलमा फोन पनि लाग्दैन, नेट पनि चल्दैन, जनावरले आक्रमण गर्यो भने कसरी सुचना दिने ?'

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छन् । 

फाईभजी लागू गर्न ढिलाई गर्न नहुने आवाज उठिरहेको बेला बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको तर्क गरिन् । 

Advertisement

शर्माले फोरजी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोरजी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् । फोरजी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भएनभएको विषयमा अध्ययन गर्नुपर्ने बताइन् । 

मन्त्री शर्माले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताइन् । नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उनले उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन् । 

देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम् सेवा समेत नपुगेको शर्माको भनाई छ । उनले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताइन् । 

शर्माले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन निर्देशन दिइन् । उनले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताइन् । मन्त्री शर्माले फाइभजी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको बतायन् । 

उनले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताइन । शर्माले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताइन् । 

उनले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेरेर गर्नुपर्ने बताइन् । शर्माले प्राधिकरणले नेपालमा फाइभजी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको बताइन् । उनले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताइन् । 

Advertisement

Advertisement