वैदेशिक रोजगार बीमामा भएको ठगीमा ईसेवा जस्ता वालेटलाई राष्ट्र बैंकले कारवाही गर्छः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमाको बीमाशुल्क भुक्तानीका कारण ईसेवालगायतका वालेट कम्पनीहरुले अनधिकृतरुपमा सेवाशुल्क लिएकाले उनीहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने र तोकिएभन्दा बढी भुक्तानी दिने बीमा कम्पनीहरुलाई आफूहरुले कारवाही गर्ने बताएको छ । 

वैदेशिक रोजगारीमा जानेहरुले गर्ने म्यादी बीमाको रकम भुक्तानीमा वालेट कम्पनीहरुलाई प्रतिव्यक्ति २० रुपियाँसम्म शुल्क लिन दिनसक्ने व्यवस्था गरे पनि अनधिकृतरुमपा १२५ रुपियाँसम्म शुल्क लिएको देखिएपछि प्राधिकरणले यसमा चासो बढाएको हो । 

Advertisement

प्राधिकरणका सुशीलदेव सुवेदीले आफूहरुले तोकेकोभन्दा बढी शुल्क अशुल्ने वालेट कम्पनीहरुलाई राष्ट्र बैंकले कारवाही गर्ने र बढी शुल्क तिर्ने बीमा कम्पनीहरुलाई चाँडै नै आफूहरुले कारवाही गर्ने बताए । वैदेशिक रोजगारीमा बर्षेनी लाखौं नेपाली युवा जाने गर्छन् । उनीहरुको बीमाशुल्क संकलन गरेवापतको सेवा शुल्क १०–२० रुपियाँ बढाएर लिँदा पनि वालेटहरुले करोडौं रुपियाँ अवैधरुपमा आर्जन गर्न सक्छन् । 

भुक्तानी सेवामा सबैभन्दा ठूलो हिस्सा ईसेवाले ओगटेको छ । इसेवाका व्यवस्थापकहरुले आफ्नो कम्पनीका ठूला मिडियाका सञ्चालकहरुको पनि लगानी रहेको त्रास देखाउँदै तोकिएभन्दा बढी शुल्क तिर्न दबाब दिने गरेको बीमा कम्पनीहरुको गुनासो छ । 

निर्देशक सुवेदीले वालेट कम्पनीले तोकिएभन्दा बढी रकम अशुलेको गुनासो प्राधिकरणमा आएको बताउँदै यस विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए । अनधिकृतरुपमा रकम अशुल्ने यस्ता कम्पनीलाई कारवाही गर्न राष्ट्र बैंकलाई आग्रह गर्ने उनको संकेत छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले पनि बैदेशिक रोजगार म्यादी बीमामा वालेट कम्पनीहरुले मनलाग्दी सेवा शुल्क अशुल्ने गरेको बताएका थिए । 


प्राधिकरणका निर्देशक सुवेदीले वैदेशिक रोजगार म्यादी बीमाको रकम भुक्तानी गर्दा प्रतिव्यक्ति २० रुपियाँ शुल्क पर्याप्त हुँदाहुँदै बढी रकम लिनु नाजायज भएको बताए । उनले भुक्तानी सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले सोझै कारवाही गर्न नसक्ने भएकाले राष्ट्र बैंकले कारवाही गर्ने बताए । यसरी अनधिकृतरुपमा शुल्क अशुल्दा समग्र बीमा क्षेत्र नै बदनाम हुने सुवेदीको चिन्ता छ । 

उनले भने, ‘ईसेवाले लिने रकमको सिमा तोकेको अवस्था छ । बीस रुपियाँभन्दा बढी रकम ईसेवाले लिएको छ । त्यसलाई अनाधिकृत मान्दा हुन्छ । सिमाभन्दा बढी रकम उठाएको अवस्थामा कारबाही हुन्छ । ईसेवालाई प्राधिकरणले कारबाही गर्न सक्दैन् । हामीले बीमा कम्पनीहरुसँग चाहिं सोधपुछ गछौं । अब ईसेवाको बदमासी हेर्ने अधिकार राष्ट्र बैंकलाई मात्रै छ ।’

व्यवसाय लिने बीमा कम्पनीहरुको होडबाजीको फाइदा उठाउँदा ईसेवालगायतका वालेट कम्पनीले चर्को सेवा शुल्क अशुल्ने गरेको ईसेवाका सीईओ जगदीश खड्काको भनाईबाट देखिन्छ । उनले नयाँ आएका बीमा कम्पनीहरुले व्यवसाय खोसाखोस गर्ने क्रममा आफूहरुमाथि दोषारोपण गर्ने काम भएको बताए । 

खड्काले भने, ‘पूराना तथा ठूला जीवन बीमा कम्पनीहरुसँग व्यवसाय भईरहेको अवस्था छ । पछि आएका बीमा कम्पनीहरुले व्यवसाय खोसा खोस गर्दा समस्या आएको हो । यसमा ईसेवालाई दोष दिएर हुन्न ।’ आफूहरुले गएको १४ बर्षदेखि वैदेशिक रोजगार म्यादी बीमाको बीमाशुल्क संकलन गर्दै आएको र आफूहरुले एउटाको सेवा अर्कोलाई दिने हो भने । 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुले अनिवार्य रुपमा बीमा गराउनुपर्छ । यस्तो बीमाको शुल्क भुक्तानी अधिकांशले ईसेवामार्फत नै गर्छन् । बिदामा घर आएर फर्किनेसमेत गरी वर्षनी १० लाख हाराहारीका नेपालीले यस्तो बीमा गराउने गर्छन् । ईसेवाले आफूहरुलाई दोष लगाएर बीमा कम्पनीहरुले अभिकर्तालाई रकम बाँडेको हुनसक्ने तर्क गरेको छ । 

यस बिषयमा ईसेवाका अध्यक्ष परशुराम कुँवरले आफूले प्रतिक्रिया नदिने बताउँदै सीईओलाई देखाए । अर्को बालेट कम्पनी खल्तीका सीईओले आफूहरुले २० रुपियाँभन्दा बढी रकम नलिएको जिकिर गरे । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भने सम्पर्कमा आएनन् । 

Advertisement

Advertisement