एक खर्ब ८५ अर्ब लगानीको प्रतिवद्धतासहित सात महिनामा १५३ उद्योग दर्ता, यस्ता छन् ठूला उद्योग

Advertisement

काठमाडौं। चालु वर्षको पहिलो सात महिनामा १५३ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका गरी १५३ उद्योग दर्ता भएका हुन् । 

दर्ता भएका उद्योगले एक खर्ब ८५ अर्ब रुपियाँ लगानीको प्रतिवद्धता पनि गरेका छन् । विभागको तथ्यांकअनुसार यी उद्योगले नौ हजार ९१३ जनालाई रोजगारी दिने प्रतिवद्धता पनि जनाएका छन् । 

Advertisement

सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी गर्न इच्छुक कुल १४४ उद्योग दर्ता भएका हुन् भने बाँकी स्वदेशी लगानीका छन् । विदेशी लगानी ल्याउने गरी दर्ता भएका कम्पनीले १८ अर्ब ६३ करोड रुपियाँ लगानी स्वीकृत गराएका छन् । विदेशी लगानीहरुबाट मात्रै आठ हजार ६०५ जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ । 

विभागले यो अवधिमा एउटा प्याटेन्ट दर्ता गरेको छ । यस्तै आठ वटा डिजाइन दर्ता गर्दा एक हजार ७८५ वटा ट्रेडमार्क दर्ता गरेका छन् । यस्तै प्रारम्भिक वातावरणीय परीक्षण ३७ वटा सक्किएको छ । ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही ६२ वटा भएका छन्।

यो अवधिमा ठूला उद्योग ४१ वटा मझौला उद्योग ४३ वटा र साना उद्योग ६९ वटा दर्ता भएका छन्।

यस्ता छन् दर्ता भएका ठूला उद्योग
झापाको मेचीनगर नगरपालिकामा वडा नं १० मा होटल इष्टर्न प्राली बन्ने भएको छ। पाँच तारेस्तरको यो होटलमा एक अर्ब ६९ करोड सात लाख लगानी हुनेछ। यो होटलले नेपाली तथा भारतीय पर्यटकलाई लक्षित गरी व्यावसायिक योजना बनाएको छ । 

कुल ९९ वटा बेडरुम हुने होटल इष्र्टनमा २५० जना अट्ने रेस्टुरेन्ट सञ्चालन हुनेछन् । होटलले स्थीर पुँजीमा एक अर्ब ६७ करोड खर्च गर्नेछ । यस्तै चालु पुँजीमा दुई करोड खर्च गर्नेछ।

झापाकै मेचिनगर नगरपालिकामा वडा नम्बर १३ मा आयुष्मान होटल लिमिटेड खुल्ने भएको छ । यो होटलमा दुई अर्ब ५१ करोड लगानी हुनेछ जसमा स्थीरपुँजी दुई अर्ब ४५ करोड र चालु पुँजीमा छ करोड खर्च गरिनेछ।

यस्तै दुई अर्ब ४० करोड लगानीमा बढानीलकण्ठ हेरिटेज होटल निर्माण भइरहेको छ । यो होटलको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।

यो वर्ष सबैभन्दा धेरै लगानी जलविद्युत क्षेत्रमा आएको छ । तामाकोशी जलविद्युत कम्पनीले १६ अर्ब ४५ करोड ९८ लाख लगानीमा तामाकोशी पाँचौ जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिकामा बन्ने यो आयोजनाले ९९.८ मेगावट क्षमताको हो । यो आयोजनाले ६२ जनालाई रोजगारी दिने लक्ष्य लिएको छ ।

यसैगरी पाँच अर्ब ९६ करोड मनाङको नासो गाउँपालिकामा जलविद्युत आयोजना बन्ने भएको छ । कार्बोनलेस इनर्जी फण्ड प्रालीले ३०.४० मेगावटको जलविद्युत आयोजना बनाउन लागेको हो । ट्रष्ट इनर्जी प्रालीले ताप्लेजुङमा जलविद्युत आयोजना बनाउने भन्दै उद्योग दर्ता गराएको छ । पाँच अर्ब ३८ करोड लगानीमा मिक्काखोला गाँउपालिका वडा नं ५ मा ३० मेगावटको आयोजना बनाउन लागेको हो ।

यसै वर्ष शिवम् होल्डिङ लिमिटेडले पाँच अर्ब ५० करोड लगानीमा इन्भेष्टमेन्ट कम्पनी दर्ता गरेको छ । यो कम्पनीले सिमेन्टलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । 

Advertisement

Advertisement