ईसेवा, खल्ती जस्ता वालेटहरु अवैध अनलाइन जुवा कारोबारमा संलग्न रहेको खुलासा (प्रमाणसहित)

Advertisement

काठमाडौं । नेपालका डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु ईसेवा, खल्ती, आईएमी–पेलगायतले डिजिटल माध्यमबाट अनलाइन जुवा खेलाउने गरेको खुलासा भएको छ । 

विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग सम्झौता गरी जुवा सञ्चालन गरेका हुन् । अहिले नेपालमा विभिन्न अनलाइन जुवा कम्पनीहरुले अवैध रुपमा कारोबार गर्ने गरेका छन् । यस्ता कम्पनीमा वान एक्स बेट, स्पोर्ट बेट, बेट ३६५ लगायत छन् । 

Advertisement

वालेट कम्पनीहरु ई–सेवा, खल्ती, आईएमई–पे, सेलपे, आइक्यास–पे, वेल स्टिक–पे, स्क्रिल, पर्फेक्ट मनी, कनेक्ट आईपीएसलगायत सबै वान एक्स बेटमा सक्रिय सहभागी छन् । कमिशनको लोभमा भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग अवैध कारोबार गरी उनीहरुलाई प्रशय दिँदै आएको तथ्य भेटिएको हो । 

वालेट कम्पनीहरुले दराजलगायत अनलाइन कम्पनीहरुसँग औपचारिक सम्झौता गरी मासिक शुल्क नै लिने गरेको छ । यस्तै कारोबारमा सिमित प्रतिशत कमिसनवापतको रकम पनि वालेटहरुले लिने गरेका छन् । यसरी वालेट कम्पनीहरुले एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) दराजलाई प्रयोग गर्न दिनु कानुन बमोजिम सहि हो । 

यसैगरी, वान एक्स बेटिङसँग पनि सम्झौता नगरी सहकार्य नमिल्ने एक सुचना प्रविधिका जानकारले बताए । उनले भने, ‘अवैध वान एक्स बेटिङसँग डिजिटल वालेटहरुले खुलेआम सहकार्य गरिरहेका छन् । कुनै पनि सम्झौता बिना वान एक्सले डिजिटल वालेटको डाटा चोरी गर्न सक्दैन् ।’

ई–सेवा, खल्ती जस्ता भुक्तानी सेवा प्रदायकले गर्यो नाम परिवर्तन
वन एक्स बेटमा सहभागी भएका ईसेवा र खल्तीले केही महिना आफ्नो असली नाममै कारोबार सुरु गरेका थिए । तर यसबाट आफूहरुलाई अप्ठ्यारो परेको भन्दै उनीहरुले वन एक्स बेट कम्पनीलाई आफ्नो असली नाम फेरिदिन आग्रह गर्यो । सो आग्रहमा सहमति जनाउँदै ई–सेवाको नाम वालेट नेपालीमै राखिएको छ । यसको तल अंग्रेजीमा ‘डिजिटल वालेट’ राखिएको छ । उदाहरणका लागि एक रकम लोड गर्न वालेटमा क्लिक गर्दा वालेट नम्बर भनेर ९८०५१५७०१९ नम्बर दिइएको छ । यसको नाम टीयु मिजार रहेको छ । यो व्यक्ति ई–सेवाको प्रयोगकर्ता हो । साथै वान एक्स बेटको एजेन्ट पनि हो ।

यस्तै खल्तीको नाम ‘डिजिट वालेट’ राखिएको छ । यसको तल ‘डिजिटल वालेट’ नै राखिएको छ। उदाहरणका लागि यो वालेटबाट रकम जम्मा गर्ने प्रयास गर्दा वालेट नम्बर ९८२७५००९४६ दिइएको छ । यो नम्बरको प्रयोगकर्ता खल्तीको प्रयोगकर्ता र वान एक्स बेटको एजेन्ट पनि हो ।

यस्तै कनेक्ट आइपीएसको नाम अग्रेजीमा ‘कनेक्ट’ राखिएको छ । यसको तल ‘इजी ट्रान्फर’ राखिएको छ । उदाहरणका लागि कनेक्ट आईपीएसबाट रकम लोड गर्ने प्रयास गर्दा आईपीएस आईडी ९८१२६२७८०३ दिइएको छ । यो आईडी होल्डर पनि वान एक्स बेटको एजेन्ट हो । रिमार्कसमा बेटिन भनेर नलेख्न सुझाइएको छ । कनेक्ट आईपीएस सरकारी स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेडको सेवा हो । सरकारी संस्था समेत यस्तो अवैध कारोबारमा कसरी संलग्न हुन पुग्यो ? गम्भीर प्रश्नको विषय बनेको छ । 

वालेटहरुको नाम फरक गरेर राखिए पनि काम भने फरक छैन् । ती फरक नाममा क्लिक गर्दा सम्वन्धित वालेटको सेवा खुल्छ । आईएमई–पे पनि वान एक्स बेटको पाटनर छ । आईएमई–पेको एपबाट पैसा लोड गर्ने प्रयास गर्दा आईएपी पे आईडी ९८६२२२३६४९ दिइएको छ । यो आईडी होल्डर सरोज सापकोटा हुन् । उनी वान एक्स बेटको एजेन्ट समेत हुन् ।

यसरी गरिन्छ पैसा लोड
वान एक्स बेटको एप प्रयोगकर्ताहरुले पैसा राख्न (लोड गर्न)का लागि प्लस चिन्हमा खिच्नुपर्छ। यसरी थिचिसकेपछि ई–सेवा, खल्ती, कनेक्ट आईपीएसलगायतका अप्सन आउने गर्छ । बेटिङमा संलग्न वालेट प्रयोगकर्ताले आफ्नो खाता रहेको वालेट छनोट गरी कारोबार गर्छन । 

यसरी छनोट गरिसकेपछि यी वालेटहरुले अनलाइन जुवा खेलाउने एजेन्टहरुको आईडी प्रदान गर्छ । आईडी दिँदा वान एक्सले यदि समयमै भुक्तानी नआए वा जम्मा नभए बैंक तथा प्रहरीलाई खबर नगर्नु होला भन्ने वार्निङ दिएको हुन्छ । 

साथै समयमै पैसा जम्मा नभए वा विथड्र नभए नहिच्किचाईकन इमेल गर्न आग्रह समेत गर्ने गर्छ । यसरी डिजिटल वालेट तथा कनेक्ट आईपीएसले दिएको आईडीमा रकम जम्मा गरेपछि जम्मा भएको ट्रान्जेक्सन कोड समेत भर्नुपर्छ ।

डिजिटल वालेट तथा कनेक्ट आईपीएसबाट प्राप्त भएका आईडी प्रयोगकर्ताहरु अनलाइन जुवा खेलाउने एजेन्टहरु हुन् । यी एजेन्टलाई रकम हालिदिएपछि एजेन्टले कम्पनीलाई आईडी नम्बरबाट डिपोजिट आएको जानकारी दिन्छ । यसपछि मात्रै अनलाइन जुवा एपमा रकम लोड हुने गर्दछ । 

कतिपय अवस्थामा भने खराब एजेन्टले रकम लोड नगरी ठगी समेत गर्ने गरेका हुन्छन् । वान एक्सले कस्टुमर सर्भिसको लागि च्याटको समेत व्यवस्था गरेको छ । कुनै विषयमा दुविधा भएमा च्याटमार्फत नै प्रश्न सोध्ने र समस्या समाधान गरिन्छ । यसरी सोधिएको प्रश्नमा तपाईंको निश्चित समयमा रिप्लाई आउनेछ भनी जानकारी गराइन्छ। यसरी गरिएको च्याट निश्चित समयपछि आफैं अटो डिटिट भएर जाने गर्छ ।

एजेन्टहरुले धेरै पटक कारोबार हुँदा शंका नहोस भनेर विभिन्न किसिमको व्यवसाय गरेको फर्मको नाम समेत राख्ने गरेका छन् । यसरी फर्मको नाम उल्लेख गर्दा अनलिमिटेड कारोबार गर्न पाइन्छ ।

पैसा विथड्र गर्न पुलको काम
रकम राख्न जस्तै निकाल्न पनि डिजिटल वालेटकै प्रयोग हुन्छ। डिजिटल वालेटले वान एक्स लगायत जुवा खेलाउने कम्पनीमा विशुद्ध पुलको काम गर्ने गरेका छन् । यसरी पुलको काम गर्दा धेरै भन्दा धेरै प्रयोगकर्ता हुँदा वालेट कम्पनीहरुले धेरै व्यापार समेत गर्ने गरेका छन् ।

यस्तै जुवा खेलाउने कम्पनीबाट पनि उनीहरुले सिमित प्रतिशत कमिसन प्राप्त गर्दछन् । बेटमा जितेको रकम झिक्न पनि वालेटकै प्रयोग गर्ने गरिन्छ, जसका लागि विथड्र अप्सनमा क्लिक गरेपछि जम्मा गर्न जस्तै निकाल्न पनि डिजिटल वालेट देखाउने गर्छ ।

आफूले कुन वालेट प्रयोग गर्ने गरेको छ ? सोही वालेट प्रयोग गरी रकम निकाल्न सकिन्छ । यसरी रकम निकाल्दा पनि एजेन्टले निकाल्न चाहेको रकम जुवाडेको खातामा जम्मा गर्ने गर्दछ । यस्तो प्रक्रियाबाट अधिकतम् एक पटकमा २५ हजारसम्म रकम निकाल्न सकिन्छ । यदि धेरै रकम निकाल्नु परेमा सिधै एजेन्टमार्फत नै रकम निकाल्नुपर्छ, जुन निकै जोखिमपूर्ण मानिन्छ । ठूलो रकम कारोबार एजेन्टमार्फत गर्दा फिर्ता वा जम्मा नहुने जोखिम बढि हुन्छ । किनभने यस्तो अवैध कारोबारको कुनै उजुर बाजुर लाग्दैन् । उजुरी गर्दा आफैसमेत फस्ने जोखिम बढि हुन्छ ।

डिजिटल वालेटको अवैध धन्दा
नेपालको सुरक्षा निकाय तथा सरकारी नियमन प्रविधिमार्फत हुने अपराधबारे धेरै ज्ञान राख्दैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोसँग साइबर विज्ञहरु रहे पनि उनीहरुको ध्यान जुवा खेल्न भइरहेको यस अवैध कारोबारसम्म पुग्न सकेको छैन् । नेपाल राष्ट्र बैंकलगायत संस्थामा लोक सेवा आयोगले लिएको परीक्षा पास गरेका कर्मचारी मात्रै बढी छन् । 

तर डिजिटल वालेट प्रयोग गर्ने कम्पनीहरुले भने उच्चस्तरका प्राविधिक प्रयोग गरी कानुनको छिद्र खोज्दै ठगी गरिरहेका छन् । ई–सेवा नेपालको पहिले डिजिटल वालेट हो, जसको बजार हिस्सा निकै ठूलो छ । चौध वर्षअघि सञ्चालनमा आएको यो कम्पनी समेत अनलाइन जुवा खेलाउने अवैध धन्दामा संलग्न छ भन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । ई–सेवा, खल्ती जस्ता संस्थाले अनलाइन जुवालाई सहयोग गरेवापत कति रकम प्राप्त गर्छन् ? गोप्य राख्ने गरेका छन् ।

के हो अनलाइन बेट ?
अनलाइन बेटिङ भनेको कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता कसैले जित्छ वा कस्ले हार्छ ? भनेर पक्ष वा विपक्षमा नगद वा जिन्सीमा गरिने बाजी हो । पछिल्लो समय बेटिङ कम्पनीहरुले मुलत फुटबल र क्रिकेट खेल र खेलाडीहरुले गर्ने स्कोरलाई आधार बनाएर यस्तो बाजी थाप्ने गरिरहेका हुन्छन् । यस्ता खेल प्रतियोगितामा एकै खेलमा सय भन्दा बढी प्रकृतिको बाजीहरु समावेश गरिएको हुन्छ । यस्तो बेटिङलाई केही देशमा कानुन मान्यता दिइए पनि नेपालमा भने अवैध हो । यस्तो अवैध कारोबारले गर्दा राज्यलाई करोडौं रुपियाँको राजश्व समेत नोक्सान भइरहेको छ । नेपालको कानुनले पूर्ण प्रतिवन्ध लगाएको अनलाइन जुवा खेल्ने खेलाउने कार्यमा वालेट कम्पनीका ठूला सञ्चालकदेखि एजेन्टहरुसम्मको ठूलो गिरोह संलग्न देखिन्छ । उनीहरुले नियमक निकायलाई छक्याएर लामो समयदेखि यो धन्दा जारी राख्दै आएका छन् । 

Advertisement

Advertisement