अनुदानको २५ हजारबाट सुरु भएको मौरी पालन बढेर अहिले बार्षिक सात करोड आम्दानी

Advertisement

काठमाडौं । धर्मराज श्रेष्ठ मौरी पालन व्यवसाय क्षेत्रमा परिचित नाम बनिसकेको छ । सरकारले दिएको २५ हजार रुपियाँ अनुदान सहयोग मौरी पालन सुरु गरेका उनी अहिले बार्षिक सात करोड रुपियाँ आम्दानी गर्ने हैसियतमा पुगेका छन् । 

अहिलेको स्थितिमा पुग्न श्रेष्ठलाई सरकारी अनुदान प्रोत्साहन भए पनि उनको मेहनत र लगनशीलता मुख्य कारण हो । वि.सं. २०५१ मा चितवनमा मौरी पालन सुुरु गरेका उनले अहिले ललितपुरमा यो व्यवसाय सञ्चालन गर्दैछन् । श्रेष्ठको ‘माउन्टेन बी कन्र्सन’मार्फत मौरी पालन गरी मह बिक्री गर्दै आएका छन् । 

Advertisement

चितवन बी फार्म तथा ललितपुर माउन्टेन बी कन्सनबाट उत्पादित मौरीको अर्गानिक मह र घार बिक्री गर्दै आएको बताउँदै उनले व्यवसायबाट बार्षिक सात करोड रुपियाँसम्म फाइदा हुने गरेको बताए । 

श्रेष्ठले भने, ‘म सन्तुष्ट छु यो व्यवसायबाट । अहिलेसम्म राम्रै भएको छ । अहिले चितवन र ललितपुरमा गरी सात सय मौरीका घार छन् । ७५ वटा मौरीका घार बिक्रीमा राखिएको छ ।’ एउटा मौरीको घार १० हजार रुपियाँमा बिक्री हुने उनले बताए । श्रेष्ठले जंगली फूलबाट मौरीले पारेको मह किलोको एक हजार ५० रुपियाँ, तोरीको फूलबाट पारेको मह किलोको ७५० र एक किलो पोलेनको चार हजार रुपियाँमा बिक्री गर्दै आएको बताए । 

श्रेष्ठका मौरी पालन उद्योगबाट उत्पादित मह जापान, यूएईको दुवई, कतार, मलेसिया जस्ता देशमा समेत निर्यात हुने गरेको छ । उनले गएको वर्ष २० हजार किलो मह निर्यात गरेका थिए । एउटा मौरीको घारबाट वर्षमा छ देखि सात पल्टसम्म मह निकाल्दा ४३ किलो मह उत्पादन हुने श्रेष्ठले बताए । 

मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अभाव हुँदै गएकोमा उनी चिन्तित देखिन्छन् । सोही कारण एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गर्दै आएको बताउँदै श्रेष्ठले मौरीलाई आहारा पाइने र शान्त वातावरण आवश्यक रहेको बताए । 

उनले मकवानपुर, दाङ, सिन्धुपाल्चोक, कपिलवस्तुलगायतका स्थानमा मौरी चराउन लाने गरेका छन् । श्रेष्ठले यसरी चराउन लगेका मौरी १ देखि ३ महिनासम्म चराउनुपर्ने बताउँदै तबमात्रै मौरीले मह निकाल्ने बताए । आफूले उत्पादन गरेका महको बजारीकरण गर्न आठ जना कर्मचारी राख्ने योजनामा उनी छन् । 

Advertisement

Advertisement