चैतभित्र चुक्ता पुँजी नपुर्याए कारोबार रोक्का गर्छौंः सिलवाल, तर धेरै बीमा कम्पनी अन्योलमै

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिरकणले चुक्ता पुँजी डेढ गुनाले बढाउन निर्देशन दिँदै त्यसका लागि आउँदो चैत मसान्तसम्मको समय दिएको थियो । उक्त समय घर्किंदै गर्दा केही बीमा कम्पनीहरुले पुँजी योजना कार्यान्वयन गर्न उदासिनता देखाउँदै आएका छन् । 

यता प्राधिकरणले भने तोकिएको पुँजी पनि नथप्ने र मर्जरमा जान पनि आलटाल गर्ने कम्पनीहरुको कारोबार रोक्का गर्ने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले चैतभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीहरुको कारोबार रोक्का हुने चेतावनी दिएका छन् । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘चुक्ता पुँजी पुर्याएनन् भने त्यस्ता कम्पनीहरुको कारोबार रोक्का गर्नुपर्छ । धेरै पुँजी भएका कम्पनीसँग थोरै पुँजी भएका कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।’ प्राधिकरणले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब पुँजी पुर्याउन भनेको छ । 

सोही व्यवसायअनुसार धेरै बीमा कम्पनीहरु मर्जरमा गइसकेका छन् भने कतिपय मर्जरको प्रक्रियामा छन् । तर कतिपय कम्पनीहरु लगानी थप्न र मर्जरमा जान आलटाल गर्दै आएका छन् । ‘पुँजी थोरै र धेरै भएका कम्पनीबीच पनि प्रतिस्पर्धा हुन्छ र ?’ सिलवालले प्रश्न गरे । यद्यपि उनले तोकिएको समयभित्र पुँजी योजना कार्यान्वयन गर्न नसक्ने कम्पनीको हकमा केही विशेष निणर््य हुनसक्ने संभावना पनि औंल्याए । 

के होला संभावना ?  
बीमा क्षेत्रका​ जानकारहरुले सुझाए अनुसार प्राधिकरणले गर्ने कारबाहीका केही निश्चित सीमा छन् । सबैभन्दा पहिला प्राधिकरणले पुँजी पुर्याउनसक्ने कम्पनीहरुको कारोबार रोक्का गर्न सक्छ । सो कुरा प्राधिकरणले पटक पटक भन्दै पनि आएको छ । तर कारोबार नै रोक्का गर्ने कुरा अन्तिम अस्त्र हो । 

दोस्रो संभावना प्राधिकरणले पुँजी पुर्याउन असफल कम्पनीहरलाई कारवाहीस्वरुप आर्थिक जरिवाना गर्नसक्छ । नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै प्राधिकरणले कारवाहीको रुपमा जरिवाना गर्नसक्ने विज्ञहरुको भनाई छ । 

पुँजी पुर्याउने तेस्रो विकल्पको रुपमा ‘फोर्स मर्जर’ हो । यस्तो मर्जर कम्पनीहरुको चाहनामा नभई प्राधिकरणको दबाबमा उसैले औंल्याएका कम्पनीसँग गर्न गर्न तयार हुनु हो । यस्तो मर्जर राजीखुशीले मर्जरमा गएको जस्तो नभएर प्रतिउत्पादकसमेत नहोला भन्न नसकिने विज्ञहरु तर्क छ । 

तर मर्जरको प्रतिबद्धतासहित प्रारम्भिक सम्झौता गरी साधारण सभा गर्न नभ्याएका कम्पनीहरुको हकमा भने थप समय दिन प्राधिकरणलाई नैतिक दबाब पर्ने देखिन्छ । 

मर्जरमा जान तयार केही जीवन बीमा कम्पनीः
हाल मर्जरमा जान केहीबाहेक अधिकांश जीवन बीमा कम्पनीहरु तयारी अवस्थामा छन् । मर्जरको तयारीमा प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स, गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स छन् । रिलायबल लाइफ र सनिमा लाइफ पनि मर्जरमा जान तयार भएका छन् । 

सूर्या लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्स यसअघि नै मर्जरमा गएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । 

मर्जरमा जान बाँकी जीवन बीमा कम्पनीः
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो, जसको यसअघि नै साढे आठ अर्ब रुपियाँ चुक्ता पुँजी छ । नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी पुग्न करिव ५० करोड बाँकी रहेकाले संस्थापक शेयरधनीहरुले नै पुँजी थप गर्ने तयारीमा रहेको सो कम्पनीका सीईओ सुरेश खत्रीले बताएका छन् । 

भारतीय लगानीको एलआईसी नेपाललाई पुँजि वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणले यसअघि नै मार्ग प्रशस्त गर्दिसकेको छ । एशियन लाइफ इन्स्योरेन्सको हकमा भने अहिले जटिलता उत्पन्न भएको अवस्था छ । मर्जरमा जान अटेर गर्दै आएको उक्त कम्पनीलाई प्राधिकरणले भनेको जति (बढीमा ३० प्रतिशत) हकप्रद शेयर निष्काशन गर्न दिँदा पनि तोकिएको पुँजी नपुगने भएकाले जटिलता उत्पन्न भएको हो । 

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) विदेशी लगानीको कम्पनीको शाखाको रुपमा नेपालमा कार्यरत रहेकाले सो कम्पनी मर्जरमा जान वा पुँजी वृद्धि गर्न तयार छैन् । विदेशी लगानीको कम्पनीभन्दै प्राधिकरणले उसले विशेष व्यवहार गर्दै आएको छ । 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धिको विषय भने उसको लामो समयदेखिको लेखापरीक्षण सम्पन्न नहुँदा अलपत्र अवस्थामा छ । पुँजी बढाउन प्राधिकरणले ताकेता गर्दै आएको छ भने हिसाव मिलाउन अर्थ मन्त्रालयले दबाब दिँदै आएको छ । तर पूरानो हिसावकिताव व्यवस्थित नहुँदा, कानुनसम्मत पनि नहुँदा, कतिपय हिसावको ढड्डा मुसाले खाइदिँदा, पूरानो हिसावहरु कम्प्युटराइज्ड नहुँदा लेखापरीक्षणमा ढिलाई हुँदै आएको छ ।  

जीवन बीमातर्फका केही कम्पनीले प्रिमियम मूल्यमा आफ्नो साधारण शेयर (आईपीओ) निष्काशनमार्फत पुँजी जुटाउने भएका छन् । यस्तो आईपीओ ल्याउने तयारीमा रहेका कम्पनीहरुमा रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र आईएमई लाइफ छन् । सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा परिचित महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको तयारी गरिरहेको छ ।  

मर्जरमा जान तयार केही निर्जीवन बीमा कम्पनीः
मर्जरको पक्षमा रहेका निर्जीवन बीमा कम्पनीहरुमा अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । 

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल र जीआईसी यसअघि नै मर्जरमा गएर एकीकृत कारोबार सुरु गरिसकेका छन् भने सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । 

मर्जरमा जान बाँकी निर्जीवन बीमा कम्पनीः
निर्जीवन बीमातर्फ प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, दी ओरेन्टल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले मर्जरका लागि हालसम्म कुनै पनि तयारी गरेका छैनन् । 

प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जरमा जान सहमति गरे पनि पछि डीमर्जरमा परिणत भएको थियो । त्यसपछि प्रभु इन्स्योरेन्सले अन्य कुनै कम्पनीहरुसँग मर्जर प्रक्रिया अघि बढाएको छैन् । 

राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर बनेको राष्ट्रिय बीमा कम्पनीको स्थिति पनि संस्थानको जस्तै लेखापरीक्षण गर्न नसकेर अलपत्र अवस्था छ । 

बीमा प्राधिकरणले सबैभन्दा पहिले सबै बीमा कम्पनीहरुलाई आउँदो चैत १२ गतेसम्म तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । बीमा कम्पनीहरुको पुँजी योजना मागेसँगै प्राधिकरणले यो समय थप गरेर चैत मसान्तसम्म पुर्याएको थियो । प्राधिकरणले दिएको समय अब डेढ महिना मात्रै बाँकी रहेकाले उक्त मितिभित्र सबै कम्पनीहरु मर्जरमा गएर वा पुँजी थप गरेर तोकिएको चुक्ता पुँजी पुर्याउन निकै कठिन देखिन्छ । 

Advertisement

Advertisement