नेपालमा पहिलो गन्धरहीत फरक खालको कम्पोष्ट मल, जुन बालेन शाहलाई पनि मन पर्यो

Advertisement

काठमाडौं । महिला उद्यमी उषा गिरिले नेपालमा पहिलो पटक जापानी प्रविधिमा गन्धरहीत कम्पोष्ट (प्राङ्गारिक) मल उत्पादन गर्दै आएकी छन् । रिकिशी कम्पोष्ट प्रा.लि.की प्रवन्ध सञ्चालक गिरिले जापानी सीएनबीएम प्रविधिबाट कम्पोष्ट मल बनाएर बिगत पाँच बर्षदेखि बिक्री गर्दै आएकी छन् । 

जापानबाट बालमनोविज्ञानमा उच्चशिक्षा हालिस गरे पनि उनी फरक विधामा लागेकी हुन् । उषा गिरि २२ वर्ष जापानमा बसिन । अध्ययन गरिन् । जागिरपछि व्यवसाय पनि गरिन् । जापानमा १० वर्ष लामो खोज, अनुसन्धानपछि गन्धहीन कम्पोष्ट मल बनाउन आफू सफल भएको उनी बताउँछिन् । 

Advertisement

जापानमा सिकेको जान, सीप र अनुभव आफ्नै मुलुकमा प्रयोग गर्ने उद्देश्यसहित स्वदेश फर्किएर कम्पोष्ट मलको व्यवसाय सुरु गरेकी गिरि भन्छिन्, सीएनबिएम प्रविधि भन्नाले कार्बन, नाइट्रोजन, व्याक्टेरिया र मिनरल्सबाट मल बनाउने विधि हो । कार्बन भुसबाट, नाइट्रोजन ढुटोबाट र व्याक्टेरिया जंगल तथा घर वरपरका पात पतिंगरबाट र मिनिरल्स रातो बाटोबाट जुटाउने र कम्पोष्ट मल उत्पादन गर्ने हो । यस्तो मलबाट गन्ध पनि आउँदैन् । वातावरणलाई पनि राम्रो गर्ने र उब्जनी पनि राम्रो हुने हुन्छ । यस्तो मलमा रातो माटोको प्रयोगले माटोलाई खुकुलो बनाउन सहयोग गर्छ ।’ 

भक्तपुरको मध्यपुर ठिमीमा मल उत्पादन गर्दै आएकी उषा गिरिले उत्पादन गर्ने यस खालको मल जापानका मास्टर हासिमोतो रिकितोले विकास गरेका हुन् । घर घरमा उत्पादन हुने, कुहिने वस्तुहरु संकलन गरेर यो मल तयार गरिने उनले बताइन् । मल उत्पादन गर्न मध्यपुर ठिमी नगरपालिकाले पनि सहयोग गर्दै आएको गिरिले जानकारी दिइन् । 

जापानी प्रविधिको कम्पोष्ट मलले अरु बेलाको तुलनामा दुई गुणा बढी उत्पादन दिन थालेपछि यतिबेला मलको माग व्यापक रुपमा बढेको उनले बताइन् । गिरिको कम्पनीले भक्तपुरबाहेक राप्ती, धुलिखेल, पाँचखालमा पनि जापानी प्रविधिको मल बनाउँदै आएको छ । 

उनले भनिन्, ‘ठूलो स्केलमा खेती गर्ने किसानले पनि हाम्रो मललाई प्रयोग गर्न थालेकाले मल पुर्याउन गाह्रो भएको छ ।’ भक्तपुर नगरपालिकाले उठाएको फोहोरबाट अहिले उषा गिरिको उद्योगमा कम्पोष्ट मल बन्ने गरेको छ । उनले उद्योगमा २२ देखि ४० उमेर समूहका मानिसहरुलाई रोजगारी पनि दिएकी छन् । 

रिकिशी कम्पोष्ट मल १० लाख रुपियाँ लगानीमा सुरु गरिएको उद्योग हो । अहिले यो उद्योगले वर्षमा तीन करोड रुपियाँसम्मको मल बिक्री गर्न सफल भएको छ । ठिमी नगरपालिकाको फोहोर संकलन गरि आफूले कम्पोष्ट मल बनाउने गरेको थाहा पाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि उद्योग निरीक्षण गर्न पुगेका थिए । 

यो मल ६० देखि ७० डिग्री तापक्रममा निर्माण गरिन्छ । यति तापक्रममा जिवाणुहरु मर्ने हुँदा यसले मानव स्वास्थ्यमा असर नपर्ने उनको जिकिर छ । गिरि भन्छिन्, ‘ सीएनबीएम कम्पोष्ट मल नेपाल भित्राउनुको मुख्य दुई उद्देश्य छन् । पहिलो भनेको नेपालमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर सास्ती भोग्नुपर्ने समस्या छ । त्यो समस्या समाधानका लागि हामीले उत्पादन गर्ने कम्पोष्ट मलले सहयोग गरेको छ । अर्को कुरा यसले वातावरण, माटो र मानव स्वास्थ्यलाई असर नगरी उत्पादन दोब्बर वृद्धि गर्न सहयोग गर्छ ।’

रिकिशीले मलको प्रयोगले बोटबिरुवाले औषधिको मात्रा पाउने पनि गिरिको भनाई छ । उनले स्थानीय तहसँग मिलेर विभिन्न ठाउँमा मल उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् । 

Advertisement

Advertisement