आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै उपरथी प्रेम शाहीसहित तीन जनामाथि कारवाही

Advertisement

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । सेनाको कोर्ट मार्सलले उनलाई बिहीबार सेवाबाट निष्कासित गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार शाहीसँग आर्थिक अनियमिततामा जोडिएका दुई सैनिक अधिकृतहरू महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि आन्तरिक कारबाही गरिएको छ । उनीहरुमाथि दुई महिनादेखि छानविन भइरहेको थियो । 

Advertisement

उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सेनाका उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए । 

अब उक्त कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले छानबिन गरेको प्रमाणका आधारमा आज निर्णय गरेको छ । निर्णयअनुसार शाहीलाई सेवाबाट निष्कासित गरिएको छ । उनको अनियमितता विवरण भने सेनाले सार्वजनिक गरेको छैन् । 

Advertisement

Advertisement