न्यून बिजकीकरणमा संलग्न तीन कर्मचारीमाथि निगरानी

त्रिवि भन्सार जाँचपासमा राजश्व छलेको भन्दै आईफोन र सामसुङका आठ गाडी नियन्त्रण

Advertisement

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचपास गरेको आठ गाडीमा कैफियत भेटिएको छ । पन्द्र दिनअघि कार्यालयले जाँचपास गरेको गाडीहरुमा न्यून बिजकीकरण गरी भन्सार जाँचपास गराइएको भेटिएको हो ।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका ती गाडीमा न्यून बिजकीकरण भेटिएपछि जरिवाना गर्न सुरु गरिएको हो । फागुन ३ गते विभागका ३ जना निर्देशक र सशस्त्र प्रहरीका डिएसपीसहित त्रिवि भन्सार कार्यालय पुगेर आठ वटा डीआई गाडीहरु नियन्त्रणमा लिएको थियो।

Advertisement

नियन्त्रणमा लिइएका गाडीहरुमध्ये छ वटा गाडीहरुलाई जरिवाना गरी छाडिएको छ । यस्तै दुई वटा गाडीहरुको भने अनुसन्धान जारी छ। विभाग स्रोतका अनुसार दुई वटा गाडीमा महँगा मोबाइलका पार्टस् पुर्जाहरु रहेका छन् । सामसुङ मोबाइल र एप्पल कम्पनीका आइफोनको डिस्प्ले लगायत सामग्री रहेका छन्। यी सामाग्री भन्सार सन्दर्भसूची भन्दा कम मूल्यमा जाँचपास भएको सूचना आएपछि आफ्नो टोलीले गाडीसहित सामग्री नियन्त्रणमा लिएको विभागको भनाई छ । 

आइफोन र सामसुङ मोबाइलको पार्टस् सन्दर्भ मूल्यसूचीअनुसार जरिवाना गर्दा जरिवाना ४९ लाख निस्किने देखिएको छ। यस्तै बजार मूल्य अनुसार जरिवाना गर्दा करोडभन्दा बढि जरिवाना पुग्ने देखिएको छ। सामान्यतया ५० लाखभन्दा बढि जरिवाना आए जाँचपासमा संलग्न कर्मचारीलाई समेत मुद्दा दायार गर्नुपर्ने हुन्छ ।

यद्यपी घटनाको प्रकृति हेरी थोरै जरिवनामा पनि जाँचपास अधिकारीलाई समेत मुद्दा लैजान सक्छ । यो अधिकार विभाग महानिर्देशकमा निहीत छ। स्रोतका अनुसार विभागका महानिर्देशक नारायण सापकोटा जाँचपासमा संलग्न कर्मचारीहरुसहित मुद्दा दायर गर्ने पक्षमा छन् । 

तर अनुसन्धानमा खटिएका कर्मचारीहरु भने मुद्दा जाँचपासमा खटिएका कर्मचारीहरुलाई जोगाउने पक्षमा छन्। स्रोतले भन्यो, ‘भन्सारका कर्मचारीलाई समेत मुद्दा लगाउने कि नलगाउने भन्ने विषयमा दुई पक्ष देखिएको छ । बजार मूल्यअनुसार जरिवाना लगाउँदा अनिवार्य रुपमा कर्मचारीलाई मुद्दा लगाउनु पर्नेछ भने सन्दर्भसूचीअनुसार जरिवाना लगाउँदा जाँचपास अधिकृत जोगिने देखिएका छन्।’

यद्यपी जाँचपास अधिकारीलाई मुद्दा दायर नगरे पनि विभागले जाँचपास गर्ने अधिकारीहरुको बयान भने गराउने तयारी गरेको छ। ती सामग्री जाँचपास गर्ने तीन जना कर्मचारी छन्। जसमा त्रिवि भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत उपसचिव यमराज पाण्डे, शाखा अधिकृत, इश्वर थापा र नायाव सुब्बा राजन घिमिरे रहेका छन्।

भन्सार सन्दर्भसूची र बजार मूल्यमा विवाद
राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सापकोटा आएपछि उनले भन्सार जाँचपास कसिलो बनाउन सुरु गरेका छन्। सापकोटाले भन्सारबाट हुने चुहावटलाई रोक्न सके भन्सार महशुल र आन्तरिक राजस्वमै सुधार आउने विश्वास उनको छ।

सापकोटाले भन्सार सन्दर्भसूची नै परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन्। अहिले जुनसुकै ब्राण्डको सामग्रीको मूल्य अनलाइनमा सजिलै हेर्न सकिन्छ । भन्सार छली गर्नकै लागि कतिपय व्यापारीले वास्तविक मूल्यभन्दा कम मूल्यमा सामान आयात गर्न बिल बनाउने गरेका छन्। महानिर्देशक सापकोटाले वास्तविक मूल्यमै कर लगाउनुपर्ने बताउँदै आएका छन्। उनी विभाग आएपछि विभागको पार्किङ नै भन्सारबाट समातिएका गाडीहरुले भरिएका छन्।

Advertisement

Advertisement