मैनाली आएपछि भ्याट संकलनमा सुधार, नक्कली भ्याट बिलविरुद्ध अप्रेसन सुरु गरिने

Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीले कार्यभार सम्हालेसँगै मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा सुधार देखिन थालेका छ । 

मैनालीले कार्यभार सम्हालेको दुई महिनामै भ्याटमा सुधार देखिन थालेको हो । उनले संसदीय निर्वाचनलगत्तै विभागको नेतृत्व सम्हालेका थिए । मैनाली दुई महिनामा भ्याट संकलन बढेको हो । 

Advertisement

गएको पुसमा भ्याट शीर्षकमा नौ अर्ब सात करोड रुपियाँ संकलनको लक्ष्य राखेकोमा विभागले आठ अर्ब छ करोड रुपियाँ संकलन गरेको छ । यो कूल लक्ष्यको तुलनामा ८८.८५ प्रतिशत प्रगति हो । यसैगरी, गएको माघमा लक्ष्यको ९५.०४ प्रतिशत राजस्व संकलन भएको छ । यो अन्य राजस्व शीर्षक भन्दा बढी प्रगति हो । माघमा  विभागले नौ अर्ब ५१ करोड कुल लक्ष्यमा नौ अर्ब चार करोड संकलन गरेको छ ।

गएको कात्तिकमा लक्ष्यको तुलनामा ६८.९२ प्रतिशत मात्रै भ्याट संकलन भएको थियो । यो महिना १० अर्ब ८० करोड रुपियाँ भ्याट असुली गर्ने लक्ष्य रहेकोमा सात अर्ब ४४ करोड रुपियाँ मात्रै संकलन भएको थियो । यस्तै, गएको असोजमा लक्ष्यको ७९ प्रतिशत मात्रै भ्याट असुली भएको थियो ।

अर्थमन्त्रीमा जनार्दन शर्मा आएपछि उनले जथाभावी करको दर चलाएर राजस्व चक्रलाई नै बिथोलिदिएका थिए । उनले ढुवानीमा भ्याट फिर्ताको व्यवस्था गरिदिनुका साथै ठेक्कापट्टामा काटिँदै आएको ५० प्रतिशत अग्रिम भ्याट कट्टी निर्माण व्यवसायीहरुको माग अनुसार ३० प्रतिशतमा झारिदिएका थिए । 

यस्ता नीतिगत व्यवस्थामा गरिएको फेरबदलले गर्दा पनि यो बर्ष भ्याट संकलनमा गिरावट आउन सहयोग पुगेको हो । तर विभागको महानिर्देशकमा मैनाली आएसँगै भ्याट छलीविरुद्ध अप्रेसन सुरु गरेका थिए । उनी लामो समयसम्म कर प्रशासनमा काम गरेर राम्रो ज्ञान र अनुभव हासिल गरेका व्यक्ति भएकाले पनि भ्याट संकलन बढाउन सफलता मिलेको हो । 

उनी महानिर्देशक बनेपछि धेरै राजस्व संकलन हुने सबै कर कार्यालय अनुगमनका लागि पुगिसकेका छन् । यस क्रममा कर प्रणाली सुधारमा दिनुपर्ने निर्देशन समेत उनले दिइसकेका छन् ।

राजस्व प्रशासनको राम्रो ज्ञान र अनुभव भएकाले नै मैनालीले सो क्षेत्रका ‘लुप होल’ सजिलै पहिचान गर्नसक्छन् । 

नक्कली भ्याट बिलविरुद्ध अप्रेसन सुरु गरिने
आन्तरिक राजश्व विभाग स्रोतका अनुसार मैनाली नक्कली भ्याट बिलविरुद्ध अप्रेसन सुरु गर्ने तयारीमा छन् । सोही तयारीपछि नक्कली बिल, न्यून बिजकीकरणमा संलग्न व्यवसायीहरु सतर्क हुन थालेका छन् । 

मैनाली यसअघि साढे दुई वर्ष भन्दाबढी समय राजस्व अनुसन्धान विभागको नेतृत्वमा सम्हालेका प्रशासक हुन् । त्यस क्रममा उनले सबैभन्दा धेरै नक्कली भ्याट बिलको अनुसन्धान पनि गरेका थिए । मैनालीसँग भ्याट छली गर्ने व्यवसायीहरुको पनि तथ्यांक छ ।

आर्थिक वर्ष २०७१–७२ देखि २०७५–७६ सम्म व्यापकरुपमा नक्कली भ्याट बिलको प्रयोग भएको देखिन्छ । यस्तो नक्कली भ्याट बिलसम्बन्धी राजश्व अनुसन्धान विभागमा एक हजारभन्दा बढी फाइल छन् । सरकारलाई बुझाउनुपर्ने १३ प्रतिशत कर छल्न दुर्गम क्षेत्रका नपढेका मानिसलाई प्रयोग गरी नक्कली बिलको कारोबार गर्ने गरेका तथ्यहरु पनि यसै समयदेखि पाउन थालिएको हो ।

निर्दोष व्यक्तिको नाममा फर्म दर्ता गरी बिजकको मात्रै कारोबार गर्ने र यस्तो बिल ठूला व्यापारीहरुले समेत खरीद गर्ने प्रवृत्ति अहिले पनि देखिएपछि मैनालीले अप्रेसन सुरु गर्न लागेका हुन् ।

विभाग स्रोतले कर्पोरेट नेपालसँग भन्यो, ‘राजस्व नउठेको दबाबमा भ्याट छली गर्नेविरुद्ध विशेष अप्रेशन सुरु गर्न लागिएको हो । सो कुराको सुइँको पाएपछि धेरै व्यावसायी आफै सतर्क हुन थालेको हुन् । अहिले भ्याट कलेक्शन राम्रो हुन थालेको छ ।’

मैनालीले गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताए  । उनले प्रमुख कर अधिकृतहरुलाई पनि गल्ती गरे क्षम्य नहुने चेतावनी दिँदै आएका छन् । 

राजनीतिक अन्योलता र अस्थिरताका कारण अपेक्षाकृत नजिता आउन नसकेको स्वीकार गर्दै विभागले चोरी तस्करी गर्नेहरु सक्रिय बन्दै गएको अवस्थामा स्थिर सरकार बने मात्रै राम्रो नजिता निकाल्न सकिने बताएको छ । 

Advertisement

Advertisement