अलैंची उद्यमी खरेलको गुनासो- उद्यमशीलतामा योगदान गरियो, तर सम्मान कतैबाट पाइएन

Advertisement

काठमाडौं ।  दश लाख रुपियाँ लगानीबाट पार्वता बिमली खरेलले अलैंचीको खेती सुरु गरेको दुई दशक भयो । चेम्बर अफ कमर्स झापाको सदस्य रहेकी उनले अहिले बार्षिक ३५ देखि ४० लाख रुपियाँ आम्दानी गर्दै आएकी छन् । 

झापा, बिर्तामोडकी खरेलको अलैंची खेती ताप्लेजुङमा रहेको छ । सेपिलो र पानीको स्रोत भएको जमिनमा अलैंची राम्रो हुने भएकाले ताप्लेजुङमा खेती गर्दै आएको उनले बताइन् । नेपालमा अलैंचीको राम्रो संभावना भए पनि सरकारले भने यो खेतीको व्यवसायिक विकासलाई उपेक्षा गरेको खरेलको गुनासो छ । 

Advertisement

उनी भन्छिन्, ‘अलैंची खेतीको विकास लागि सरकारले न प्राविधिक ज्ञान, सीप, तालिम दिन्छ न मल उपलब्ध गराउँछ । त्यसले उत्पादन बढ्न नसकेको हो ।’ सीप र तालिम नहुँदा धेरै किसान अलैंची खेतीबाट विस्थापित हुनुपरेको छ । 

खरेलले आफूले उत्पादन गरेको र अरु कृषकहरुसँग खरीद गरेको बिर्तामोडमा ओम साई धनलक्ष्मी ट्रेडर्स नामक कृषिमार्फत भण्डार, प्याकेजिङ र बिक्री गर्दै आएकी छन् । उनको कम्पनीमा ६० जनाले रोजगारी पनि पाएका छन् । 

नेपाल उद्यमशील महिला संघ, झापाको अध्यक्ष, उद्योग वाणिज्य महासंघ उद्यमी विकास समितिको केन्द्रीय सदस्य तथा नेपाल अलैंची व्यवसायी महासंघको उपाध्यक्षसमेत रहेकी खरेलले आफूले महिला उद्यमशीलतामार्फत मुलुकको आर्थिक र व्यवसायिक विकासमा लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आए पनि अहिलेसम्म कुनै सम्मान पाउन नसकेको बताइन् । 

एक पटक नेपाल महिला चेम्बरले सम्मान गरे पनि सरकारल कृषि तथा निर्यात क्षेत्रमा अनुकरणीय योगदान पुर्याउने महिला उद्यमीलाई सेवा सुविधा र सम्मान दिन नसकेको उनको भनाई छ । खरेलले अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग निकै धेरै रहे पनि सोअनुसार उत्पादन गर्न नसकिएको बताइन् । 

उनी भन्छिन्, ‘विदेशमा नेपाली अलैंचीको माग निकै राम्रो छ । हुन त अलैंचीको भाउ कहिले घट्छ । कहिले ह्वात्तै बढ्छ । तर संभावना राम्रो छ यो क्षेत्रमा । हामीले बजारको भाउ हेरी इण्डियामा निर्यात गर्दै आएका छौं ।’ प्रतिकेजी ९ सयदेखि १ हजार रुपियाँसम्मसम्ममा बिक्री गर्ने गरेको खरेलले अनुभव सुनाइन् । कुनैबेला यसको भाउ प्रतिकेजी २५ सयसम्म पनि पुगेको थियो । यसरी निर्यात गरेको अलैंची इण्डियाले आफ्नो मूल्य र लोगो राखेर तेस्रो मुलुकमा बिक्री गर्छ । 

एउटा अलैंचीको बिरुवा रोपेको तीन वर्षपछि मात्र फल्न थाल्छ । स्थानअनुसार उत्पादन घटी र बढी हुने र यसका प्रजाती पनि फरक फरक हुने उनले सुनाइन् । प्रजातीअनुसार मूल्य पनि फरक पर्ने खरेलले जानकारी दिइन् ।

अलैंची मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुन्छ । विश्वमा धेरै अलैंची प्रयोग हुने देश पाकिस्तान हो । अलैंची मुस्लिम समुदायका लागि अति आवश्य रहेको उद्यमी खरेलले बताइन् । 

नेपालमा बाहेक इण्डिया, भुटान, श्रीलंका, मलेसिया, चीनमा पनि अलैंची खेती हुने गर्छ । नेपाल, भारत, भुटान अत्याधिक अलैंची उत्पादन गर्ने मुलुकमा पर्छन् । नेपालका ४० जिल्लामा अलैंचीको उत्पादन हुनसक्छ । कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा बिक्री हुने अलैंची घरेलु औषधिको रुपमा प्रयोग हुने गरेको देखिन्छ ।  

Advertisement

Advertisement