नाकामा आइसकेका हजारौं गाडी भन्सार जाँचपास नगरी यार्डमै थन्किए, पाँच सय चोभार ल्याइने

Advertisement

काठमाडौं । विभिन्न भन्सार कार्यालयमा रोक्किएका गाडीहरु काठमार्डाैंको चोभार भन्सार ल्याइने भएको छ । आयात गर्ने व्यापारीहरुले गाडी भन्सार जाँचपास नगराएपछि चोभार सुक्खा भन्सारमा ल्याउन लागिएको हो ।

पाँच सय गाडी चोभार भन्सारमा ल्याउन अटोमोवाइल व्यवसायीहरुले भन्सार विभागमा निवेदन समेत दिइसकेका छन् । व्यवसायीहरुको निवेदन आएको भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले स्वीकार गरे । उनले व्यवसायीको प्रस्तावमा छलफल गर्न सकिने  बताए ।

Advertisement

बुढाले भने, ‘व्यवसायीहरुले चोभार भन्सार र्याडमा गाडी राख्न माग गरेका छन् । यसमा छलफल गरेर निर्णय लिनेछौं ।’ विभागले सम्बन्धित भन्सार कार्यालयहरुलाई स्थानान्तरणको अनुमति दिएपछि मात्रै गाडी ल्याउन पाइने । अन्य भन्सार कार्यालयमा भन्दा चोभारमा भन्सार र्याडको बिलम्ब (ड्युमरेज) शुल्क कम लाग्ने भएकाले व्यवसायीले चोभार ल्याउन पहल गरेका हुन् । 

अहिले भारतीय सिमा नजिकका भन्सार कार्यालयले प्रतिदिन पाँच सय भन्दा बढी बिलम्ब शुल्क लिँदै आएका छन् । तर चोभार भन्सार कार्यालयमा भने यस्तो शुल्क १५० रुपियाँ मात्रै लाग्छ । यसले आफूरुलाई थोरै भए पनि राहत मिल्ने गाडी आयातकर्ताहरुको भनाई छ । 

चोभार सुक्खा बन्दरगाहमा करिब पाँच सय वटा गाडी अट्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

उनले भने, ‘वीरगञ्ज, विराटनगर लगायतका भन्सार कार्यालयमा रहेका सवारी चोभारमा ल्याएर राख्न सकिन्छ । व्यवसायीको पहिलो बजार काठमाडौं भएकाले सबै कुराले यो विषय संभव छ ।’

साथै, अटोमोवाइल व्यवसायीले अब आयात गर्ने सवारी साधनहरुको एलसी (प्रतितपत्र) खोल्दा नै चोभार कार्यालय गाडी ल्याउने गरी खोल्न सुरु गरेको बताएका छन् । यद्यपि चोभारमा भन्सार कार्यालय आंशिक सञ्चालनमा आएको र राम्ररी सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ । 

करोडौं तिरेर ल्याइएका गाडि किन रोक्किए भन्सारमा ? 
गाडीको बिक्रीमा मन्दी आएपछि र बैंकहरुले कर्जा प्रवाहमा कडाई गरेपछि अटोमोवाइल व्यवसायीले आफूहरुले आयात गरेका गाडी दैनिक लाखौं रकम तिरेर भन्सार कार्यालयमा लामो समयसम्म राख्न बाध्य भएका छन् । 

भन्सार महशुल तिरेर ल्याउँदा ठूलो व्ययभार थपिने तर गाडी बिक्री नहुने भन्दै उनीहरुले बजारको मागअनुसार मात्रै थोरै गाडी मात्रै भन्सार जाँचपास गराएर ल्याउने गरेका छन् । बाँकी गाडीहरु चर्को पार्किङ शुल्क तिरेर उनीहरुले भन्सारमा नै राख्ने गरेका छन् । 

हाल मुलुकको विभिन्न भन्सार कार्यालयहरुमा तीन हजार भन्दा गाडीहरु रोक्किएका छन्। लामो समयदेखि भन्सारमा गाडी नछुट्दा भन्सार र्याड नै भरिन थालेको छ । तीन अर्ब राजस्व उठ्ने गाडी वीरगञ्ज भन्सारमै रोकिएको छ । वीरगञ्ज भन्सार कार्यालय अनुसार एक हजार तीन सय भन्दा बढी गाडी सिप्रदी ट्रेडिङको मात्रै रहेको छ ।

यो कम्पनीले १० करोड भन्दा बढी बिलम्ब शुल्क नै तिरिसकेको छ। यस्तै अन्य कम्पनीहरुको हालत पनि उस्तै रहेको छ। गाडी छुटाउन बैंकबाट ऋण नपाउँदा व्यवसायीले बिलम्ब शुल्क तिर्न बाध्य भएका हुन् ।  

गाडी बिक्रीको हिसाबले अहिले इतिहासमै खराब समय रहेको नाडा अटोमोवाइल्स एशोसियशनका अध्यक्ष धुब्र थापाले बताए । उनले भने, ‘गाडीमा बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह नगर्दा भन्सार छुटाउन सक्किएको छैन् । कम्पनीले वार्षिक टार्गेट दिएको हुन्छ । सो अनुसारको गाडी ल्याउनै पर्यो । कम्पनीलाई तिर्नुपर्ने रकम भन्दा दुई सय प्रतिशत बढी रकम भन्सार महसुल बुझाउनु पर्छ ।’

अध्यक्ष थापाका अनुसार सवारी साधन बिक्री नहुँदा व्यापारीहरुले ठूलो घाटा बेहोरिरहेका छन् । भन्सारमा ल्याएको गाडी पुरानो मोडेल भइसक्यो । ती गाडीमा भन्सार र्याड शुल्क मात्रै पाँच लाखदेखि सात लाख रुपियाँसम्म थप लागिसकेको छ । फेरि नयाँ गाडी खरिद गर्न पनि प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता छ ।

उनले भने, ‘पहिले पो शोरुममा भएको गाडी बिक्थ्यो । भन्सारमा रहेको गाडी छुट्थ्यो र नयाँ गाडी आयात प्रक्रियामा जान्थ्यो । अहिले उताबाट ल्याउने मात्रै काम भएको छ । यताको बिक्री हुन सकेको छैन । यसले दबाब थपेको छ ।’ गाडी नछुटाउँदा भन्सार राजस्व समेत कम संकलन भइरहेको छ । भन्सारका कर्मचारीहरुले गाडी छुटाउन व्यवसायीहरुलाई निन्तर आग्रह समेत गर्दै आएका छन् ।

Advertisement

Advertisement