भारतीय कम्पनीले बनाइरहेको अरुण ३ को बेलायती इण्डो–प्यासिफिक मन्त्रीद्धारा अवलोकन

Advertisement

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायती फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इण्डो–प्यासिफिक) राज्यमन्त्री एने–म्यारी ट्रेबेलियनले बिहीबार संखुवासभामा निर्माणाधिन अरुण ३ जलविद्युत आयोजनाको अवलोकन गरेकी छन् ।

उनले आयोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर बेको अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय उर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नतर्फ लागेको बताइन् । ट्रेबेलियनले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको बताइनन् । 

Advertisement

अरुण ३ भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । आयोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत रहेको लगानी बोर्डले जानकारी दिएको छ । 

विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म चारसय केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारणलाइन निर्माण गरिरहेको छ । सन् २०२३ भित्र यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य उसले राखेको छ । 

आयोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण ३ नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । उनले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सबै सहजीकरण गरेको पनि बताए । 

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले यस क्षेत्रको विद्युतको माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताए । 

भ्रमण टोलीलाई एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले स्वागत गर्दै आयोजनाको प्रगति सम्बन्धमा जानकारी दिएका थिए । 

भ्रमण टोलीमा बेलायतकी राजदूत निकोला पोलिट, एफसीडीओ डेभलपमेन्ट डाइरेक्टर पीपा बर्ड पनि सहभागी थिए । 

Advertisement

Advertisement