मोटरसाइकल बेच्न महासंघ र परिसंघका अध्यक्षबीच कडा टक्कर, कसले कति व्यापार गरे ?

Advertisement

काठमाडौं। दुई पाङ्ग्रे सवारी साधान बिक्री गर्न निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाका अध्यक्षबीच कडा टक्कर देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालबीच प्रतिस्पर्धा बढेको हो । 

गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज ब्राण्डका मोटरसाइकल बिक्री गर्दै आएको छ भने अग्रवालको एमएडब्लु इन्टरप्राइजेज प्राइभेट लिमिटेडले यामहा ब्राण्डका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । 

Advertisement

व्यवसायीहरुको नेतृत्व गर्दै आएका उनीहरुबीच व्यापारमा समेत प्रतिस्पर्धा बढेको छ । गोल्छा र अग्रवालको महासंघ र परिसंघमा कार्यकाल सक्किन लागेको छ । 

कस्तो छ व्यापार प्रतिस्पर्धा ? 
कर्पोरेट नेपाललाई प्राप्त सूचना अनुसार दुई पाङ्ग्रे सवारी बिक्रीमा शेखर गोल्छालाई बिष्णु अग्रवालले कडा चुनौति दिएका छन् । गोल्छाले आर्थिक वर्ष २०७८–८९ मा मोटरसाइकल बिक्री गरी २२ अर्ब ३३ करोड ८९ लाखको व्यापार गरेका छन । यो दुई पाङ्ग्रे सवारी साधन व्यापार गर्ने नेपालका कम्पनीहरुमा सबैभन्दा धेरै हो । यसैगरी अग्रवालले सोही आर्थिक बर्षमा १७ अर्ब ५१ करोड ५१ लाखको व्यापार गर्दै मोरसाइकल बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । देशको विषम आर्थिक अवस्थाले गर्दा मोटरसाइकल बिक्रीमा गिरावट हुँदा बजाजको व्यापार कम भएको हो भने यामहाले भने विषमतामा पनि सन्तोषजनक व्यापार गर्दा दुई समूहबीच प्रतिस्पर्धा बढ्ने अवस्था सिर्जना भएको हो । 

गोल्छाले बिक्री गर्ने बजाज भारतीय मोटरसाइकल ब्राण्ड हो भने अग्रवालले बिक्री गर्ने यामहा जापानिज मोटरसाइकल ब्राण्ड हो । हंसराज हुलासचन्द एण्ड कम्पनीले गतवर्ष आठ अर्ब २९ करोड रुपियाँ बराबरको आयात गरेको छ । यो कम्पनीले बजाज ब्राण्डका पल्सर, एनएस, एभेन्जर, डिस्कभर लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ।    

एमएडब्लु इन्टरप्राइजेजले गत वर्ष छ अर्ब पाँच करोड रुपियाँको आयात गरेको छ । धेरै आयात गर्ने कम्पनीहरुको सूचीमा यो कम्पनी पाचौं नम्बरमा पर्छ । यस्तै तेस्रो धेरै मोटरसाइकल बेच्ने कम्पनीमा ज्योति समूहको स्याकार ट्रेडिङ कम्पनी रहेको छ । यो कम्पनीले गतवर्ष १५ अर्ब ५१ करोड २८ लाखको कारोबार गरेको छ । यो कम्पनी सौरभ ज्योतीले हेर्दै आएका छन् । 

पल्सर एनएस १५० ले धान्यो बजारको व्यापार
मूल्य र स्पोर्टी लुक्सले गर्दा बजाजको मोटरसाइकल युवामाझ लोकप्रिय बन्ने गरे पनि पछिल्लो समयमा स्कुटरतर्फ उपभोक्ताको आकर्षण बढ्दा उसको व्यापार खस्किएको हो । यो ब्राण्डको सबैभन्दा धेरै बिक्री हुने मोडेल पल्सर एनएस १५० छ । कम्पनीले अन्य ब्राण्डको तुलनमा कम मूल्य कायम गरेकाले यो मोडेलको बिक्री बढी भएको हो । 

पल्सर एनएस १५० मा सिग्गल डिक्स र डबल डिक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। सिग्गल डिक्सको बजार मूल्य दुई लाख ८८ हजार नौ सय कायम गरिएको छ भने डबल डिक्सको तीन लाख पाँच हजार पुर्याइएको छ । यसैगरी, बजाज पल्सर २२० सिजिज पनि बढी रुचाइएको मोडल हो । यो सेग्मेन्टमा एफआई एबिएस र नन एफआइएबिएस छन् । एफआई एबीएसको बजार मूल्य चार लाख एक हजार नौ सय तोकिएको छ भने अन्य सेग्मेन्टमा तीन लाख ७६ हजार र ३ लाख ९५ हजार तोकिएको छ। यो कम्पनीले प्लाटिना, डिस्कोभर, पल्सर एनएस, एभेन्जर लगायत उत्पादन बिक्री वितरण गर्दै आएको छ।

गोल्छा अर्गनाइजेशनले नेपालमा सन् १९९८ सालदेखि नेपालमा बजाजको बिक्री गर्दै आएको छ । उसले देशभर ८१ वटा बिक्री सोरुमहरु राखेको छ । 

एफआई सिरिजले यामाहा बिक्रीमा उछाल
यामाहा कम्पनीको एफआई सिरिजका प्रोडक्टले साथ दिएपछि हिरो, होण्डा लगायत कम्पनीलाई पछि पार्दै दोस्रो नम्बरमा आएको छ । यो कम्पनीको एफआई सिरिज नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । यो कम्पनीको एफजेड एस भी–२ र भी–३ धेरै बिक्री हुने मोटरसाइकलमा पर्छ ।

कम्पनीले भी २ को मूल्य तीन लाख ३० हजार, डबल डिस्कको तीन लाख ६० हजार तोकेको छ । कम्पनीका एक प्रतिनिधिले भने ‘हामीले मोटरसाइकल बिक्रीमा निकै मिहनेत गरिरहेका छौं, पछिल्लो समय प्रोडक्टले साथ दिँदा व्यापार राम्रै छ ।’

Advertisement

Advertisement