मध्यभोटेकोशी निर्माण ९५ प्रतिशत सम्पन्न, असारबाट उत्पादन सुरु हुने, लागत र समय बढ्यो

Advertisement

काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । बाँकी पाँच प्रतिशत कामहरु आगामी असारभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 

आयोजनाको बाँध, बालुवा थिग्राउने पोखरीलगायतका मुख्य संरचना (हेडबक्स)को निर्माण सम्पन्न भएको छ । हाल हेडबक्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको भन्दै आयोजनाले ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको बताएको छ । 

Advertisement

मध्य भोटेकोशीको विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ । विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । तर तार तान्न बाँकी रहेको छ ।

वि.सं. २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि भारतले लगाएको नाकाबन्दी, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासका क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना पर्दा निर्माण कार्यमा ढिलाई भएको आयोजनाका अधिकारीहरुको भनाई छ । 

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।

तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीब्रता दिन निर्देशन दिएको जनाइएको छ ।

घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधिहरुले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न हुने उनको विश्वास छ । 

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम, इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपियाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपियाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत शेयर रहेको छ ।

बाँकी ४९ प्रतिशत साधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले  साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपियाँ आम्दानी हुनेछ ।

Advertisement

Advertisement