नेपाली चकलेट ब्राण्डमा लोकप्रिय बन्दै ‘स्वयल क्याण्डी पप्स’, बार्षिक ५० लाख आम्दानी

Advertisement

काठमाडौं । नेपाली चकलेट बजारमा लोकप्रिय बन्दै गएको ब्राण्ड हो ‘बेष्ट स्विट स्वयल क्याण्डी पप्स’ । सामाखुशीस्थित बिष्णु माया कन्फेक्सनरी प्रा.लि.ले उत्पादन गर्दै आएको यो चकलेटले बजार राम्रो लिँदै जाँदा कम्पनीले बार्षिक ५० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले ल्याएको बेग्लै स्वाद र स्वरुपको ललिपप केटाकेटी, युवा युवती र पर्यटकमाझ लोकप्रिय बनेको छ । यो चकलेट उद्योग केदार राजबाहाक र उनकी श्रीमती निकी श्रेष्ठले चार वर्षअघि एक करोड रुपियाँ लगानीमा सुरु गरेका हुन् । 

Advertisement

राजबाहाकले चकलेटको व्यवसाय सुरु गर्नुअघि सुचना प्रविधिसम्वन्धी कम्पनी सञ्चालन गर्थे । यो कम्पनी नियमित सञ्चालन गर्न बाधा उत्पन्न भएपछि उनले उक्त कम्पनी बन्द गरेर चकलेट उद्योग स्थापना गर्ने निष्कर्षमा पुगेका थिए । उद्योग खोल्नुअघि राजबाहाकले छ महिना अनलाइनमा यससम्वन्धी खोज र अनुसन्धान गरे । यसबाट धेरै ज्ञान लिएपछि उनले बिष्णु माया कन्फेक्सनरी सुरु गरेका थिए । 

आफ्नै घरमा कम लागतमा सानो मेसिन राखेर सुरु भएको राजबाहाकको चकलेट उद्योगको उत्पादन क्षमता र उत्पादन बढाउँदै अहिले दैनिक १० हजार ललिपप उत्पादन गर्छन् । उनको उद्योगमा १३ जनाले रोजगारी पाएका छन् । राजबाहाकको उद्योगबाट १० प्रकारका ललिपप उत्पादन हुन्छ । 

तर पछिल्लो समयमा आर्थिक मन्दीको स्थिति सिर्जना भएपछि भने आफूले नयाँ चकलेटहरु उत्पादन सुरु गर्न नसकेको उनले बताए । थप चकलेट उत्पादनका लागि खरिद गरेर राखेका मेसिनबाट उत्पादन सुरु गर्न बैंकले कर्जा नदिएको राजबाहाकले बताए । आफूहरुले उत्पादन गरेको चकलेट विदेशी पर्यटकले निकै रुचाउने गरेको उनले बताए । 

बिष्णु माया कन्फेक्सनरीले उत्पादन गर्ने ललिपपका मूल्य ५० रूपियाँदेखि १५० रूपियाँसम्म रहेको कम्पनीकी व्यवस्थापक निशा श्रेष्ठले बताइन् । पातलो र विभिन्न रंगमा उत्पादन हुने ललिपप नेपालका ठूला सुपरमार्केट खुद्रा पसलसम्म बिक्री हुँदै आएको बताइन् । 

श्रेष्ठले भनिन्, ‘‘बेष्ट स्विट स्वयल क्याण्डी पप्स’बारे बजारबाट राम्रै प्रतिक्रिया आइरहेको छ । ग्राहकले खोज्ने स्वादिलो र गुणस्तरीय चकलेट नै हो । त्यो हामीले दिँदै आएका छौं । विदेशी चकलेटको तुलनामा हाम्रो उत्पादन सस्तो पनि छ । त्यही भएर केटाकेटीदेखि बयस्कसम्मले मन पराएका छन् ।’

उद्योगले चकलेट उत्पादनका लागि अस्ट्रेलियाबाट फ्लेभर (स्वाद)  र इण्डियाबाट चिनी आयात हुने गरेको बताएको छ । श्रेष्ठले सुरुका दिनमा आफूहरुलाई बजारीकरण गर्न निकै कठिनाई भए पनि अहिले राम्रो ब्राण्डिङ भई माग बढ्दै गएको बताउँदै यसलाई नेपालको लोकप्रिउ ब्राण्ड बनाउने आफूहरुको उद्देश्य रहेको बताइन् । 

Advertisement

Advertisement