Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् । शुक्रवारदेखि राजधानीमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा उनले २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुला बजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको बताए । 

लघुवित्त र सहकारीले ज्यादती गरेको भन्दै अभियान सञ्चालन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले निजी क्षेत्रका बैंक वित्तीय संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने माग राख्दै आएका छन् । उनैतर्फ संकेत गदै गभर्नर अधिकारीले प्रश्न गरेका हुन् । 

Advertisement

उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पारे । अधिकारीले अहिले लङ–टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । आवाज बिहीनहरुको र साना लगानीकर्ताहरुको लागि दुई करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि उनले बताए । 

अधिकारीले भने, ‘हामी लङ–टर्म इन्भेष्टमेण्ट गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ । होटल बनाएका छौँ । तर रेट पm्लो टिन इन्जोय गर्छौं भने पक्कै हामीलाई समस्या पर्छ । यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको लिट्रेसी दिन नसकेको हुनसक्छ । यसमा हामी अहिले एग्रेसिप रुपमा त्यसमा लागिरहेका छौँ । २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो । अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त ? के निजी क्षेत्रले यही चाहेको हो ? हामी ०४६ साल भन्दा अघि जान खोजिएको हो ? यसमा पनि छलफल होस् । हामीले भ्वाइस लेसहरुको लागि स्मल होल्डरको लागि दुई करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेका छौँ ।’

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको दावी गरे । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्दै पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको बताए । गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको उनले बताए । अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताए । 

गभर्नर अधिकारीले नेपाल अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताए । उनले भने, ‘मलाई लाग्छ अहिलेसम्मको इन्डिकेटिभ तथ्यांकअनुसार यो थप सुधार भएर आउनेछ । यसको फलस्वरुप हाम्रो वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएका छन् । हामी अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा छौँ । करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ । यसले हामीलाई के बुझाउँछ भने हामी सुधारको अवस्थामा छौँ । सबै कुरालाई नकारात्मक रुपले नलिऔँ । हामी सहज स्थितिमा छौँ ।’ 

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारत्मक रुपले नहेर्न आग्रह गरे । 

Advertisement

Advertisement