सब्रिना र पेम्बा, जसले सोलुको उचाईमा जुडोको जग बसाए

Advertisement

काठमाडौं । सोलुखुम्बुस्थित मोन्जोमा पहिलो पटक एभरेष्ट जुडो क्लब स्थापना गरिएको थियो । सन् २०२२ मे २९ मा मोन्जोमा उक्त क्लब स्थापना भएपछि खुम्जुङ– ४ मा पनि स्थापना गरियो । अहिले चौरीखर्कमा जुडो क्लब स्थापना गर्न लागिएको छ ।

मोन्जोमा एभरेष्ट जुडो क्लब स्थापना गर्न जुडोका राष्ट्रिय खेलाडी काजी शेर्पाको ठूलो देन छ । उनी पदयात्राका लागि आउने क्रममा पेम्बा शेर्पासँग भेट भयो र पेम्बा पनि जुडोको खेलाडी भएको थाहा पाएपछि काजी शेर्पाले खुम्जुङमा अर्को क्लब खोल्न भूमिका निर्वाह गरेका थिए । काजी शेर्पाले १९८९ को साफ खेलकुदमा कास्य पदक र १९९२ मा रजत पदक दिलाउन सफल भएका थिए । 

Advertisement

विश्वको अग्लो स्थानमा खेलकुद प्रतियोगिता गर्न सक्छौं कि ? भन्ने आशाले एभरेष्ट जुडो क्लब स्थापना गरेको बताउँदै पेम्बाले खुम्जुङमा क्लब स्थापना गर्दा नेपाल जुडो संघका पदाधिकारीदेखि ओलम्पिक खेलमा स्वर्ण पद जितेकीअष्ट्रियाकी जुडो खेलाडी तथा हिमाल आरोही सव्रिना फिल्जमोजरको ठूलो हात रहेको बताइन् । 

सव्रिनाले खुम्जुङ विद्यालय, जुडो क्लब र अरु कार्यक्रमहरुको लागि एक लाख रुपियाँ नगद दिएको शेर्पाले बताइन् । उनले भनिन, ‘खुम्जुङ विद्यालयका विद्यार्थीहरु होस्टेलमा बस्ने भएकाले उनीहरुलाई चाहिने सामान आफैले ल्याउनुपर्ने बाध्यता देखेपछि सव्रिनाले ४० वटा सिरक, म्याट्रेक्स र सिरानीको लागि सहयोग जुटाउन लाग्नुभएको छ ।’ 

खुम्जुङ माध्यमिक विद्यालयको ठूलो हल मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले त्यसका लागि पनि सब्रिनाले विदेशका विभिन्न संघ संस्थाहरुसँग सहयोगका लागि पहल गरिरहेको उनले सुनाइन् । शेर्पाले मोन्जोमा रहेको क्लबलाई पनि सब्रिनाले सहयोग गर्दै आएको बताइन् । उनले भनिन्, ‘म आफै पनि स्कुल पढ्दै गर्दा काठमाडौंको सानोगौचरनमा रहेको एउटा विद्यालयमा जुडो खेल्ने अवसर मिलेको थियो । जुडोसम्बन्धी धेरैथोरै ज्ञान मलाई पनि छ । मैले नै खुम्जुङमा क्लब खोल्न पहल गरेको हुँ ।’

सव्रिना हरेक बर्ष खुम्जुङमा आएर स्थानीय केटाकेटीहरुलाई जुडो खेलाउने, कपडाहरु ल्याइदिने, जुडोको लागि चाहिने सामग्री किनिदिने, गरिरहेको शेर्पाले सुनाइन् । उनले खुम्जुङ विद्यालयमा आफूले पढाउन थालेको २१ बर्ष भइसक्यो भन्दै जागिर स्थायी भएको पनि १६ बर्ष भइसक्यो भनिन् । 

शेर्पाृ भन्छिन्, ‘म यहीं जन्मिए । हुर्किएँ । कक्षा–३ सम्म यही विद्यालयमा पढें । त्यसपछि काठमाडौं पढ्न गएको हो । काठमाडौंमा कक्षा १२ सम्म पढें र आफ्नै गाउँको सेवा गर्न फर्किएँ ।’ खुम्जुङ माध्यमिक विद्यालय सन् १९६१ मा स्थापना भएको सामुदायिक विद्यालय हो । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक नेपालका तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् २०५३ मा आरोहण गरेका थिए । हिलारीले आरोहण गरेपछि उनले खुम्जुङका बालबालिकाको लागि केही गर्ने सोचले सो विद्यालय स्थापना गरेको उनले बताइन् । 

शेर्पाले भनिन्, ‘कागजीरुपमा हामी यस विद्यालयलाई खुम्जुङ भन्छौं । तर धेरैजसोले यस विद्यालयलाई एडमन्ड हिलारी विद्यालय भनेर चिन्छन् । अहिले यो विद्यालय खुम्बु पासाङल्हामु गाउँपालिकाको एउटा नमुना विद्यालयको रुपमा रहेको छ । हामीसँग यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुन्छ । करिब ३५० जना विद्यार्थी छन् । २१ जना कर्मचारी छौं ।’

सव्रिना अब जुडो चौरीखर्कमा पनि लैजाने योजनामा रहेको उनले बताइन् । चौरीखर्कमा जुडोको लागि विद्यालयले नै हलको व्यवस्था गर्ने कुरा भइरहेको छ । त्यसका लागि सब्रिनाले म्याटहरुको व्यवस्था पनि गरिसकेको शेर्पाले जानकारी दिइन् । जुडो खेल्ने कुनै कुनै विद्यार्थीलाई सब्रिनाले छात्रवृत्ति समेत प्रदान गरेकी छन् । 

उक्त गाउँपालिकाका केटाकेटीहरुमा जुडोप्रति निकै आकर्षण रहेको सुनाउँदै उनले थपिन्, ‘हरेक बर्ष हामीले फिल्म प्रिमियर देखाउँछौं । त्यसपछि उनका परिवारहरु पनि निकै सकारात्मक बन्नुभएको छ । अहिले हामीसँग जुडो खेल्ने ८४ बालबालिका छन् ।’ जुडोले अनुशासन, माया, ममताको कुरा सिकाउने शेर्पाको भनाई छ । 

आफू पनि जुडो खेलाडी नभएको भए आज आफ्नो नाम यसरी चम्किने थिएन भन्दै शेर्पाले आफूले जुडो खेल्न सिकान सुरु गर्दा माओवादीको हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो र त्यतिबेला निकै कठिनाई भोग्नुपरेको सुनाइन् । त्यतिबेला  अहिलेको जस्तो गाडीको सुविधा पनि नरहेको र सल्लेरीसम्म तीन दिनको बाटो आफू एक्लै हिंडेर गएर स्थायी महिला शिक्षिकाको लागि परीक्षा दिएर फर्किएको उनले सुनाइन् । 

जुडो सिक्नेलाई कसैले केही गर्यो वा आक्रमण गर्न खोज्यो भने आत्मरक्षा गर्न सिकाउने र उसमा आत्मविश्वास पनि बढाउने शेर्पाको भनाई छ । आफू खुम्बु पासाङल्हामु गाउँपालिकामा एक मात्रै स्थायी महिला शिक्षिका भएको बताइन् । 


 

Advertisement

Advertisement