धेरै कारोबार गर्ने नेपालका ‘टप टेन’ कम्पनीहरुमा जगदम्बा पहिलो, कस्को कति व्यापार ?

काठमाडौं। जगदम्बा स्टिल लिमिटेड धेरै कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो नम्बरमा परेको छ । झण्डै आधा खर्बको व्यापार गर्दै कम्पनी धेरै कारोबार गर्ने पहिलो नम्बरमा परेको हो ।

जगदम्बा स्टिलले आर्थिक वर्ष २०७८–७९ मा ४९ अर्ब ६६ करोड ३४ लाखको कारोबार गरेको हो । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडका अनुसार उसले सन् २०२१–२२ मा २१ अर्ब ६६ करोडको व्यापार गरेको थियो। तर एकै वर्षमा १५० प्रतिशतले व्यापार वृद्धि गर्दै कम्पनीले व्यापारमा छलाङ हानेको हो । 

Advertisement

यस्तै, जगदम्बाले सन् २०२०–२१ मा २९ अर्ब ५५ करोड कारोबार गरेको थियो भने सन् २०१९–२० मा २१ अर्बको कारोबार गर्दा २०१८–१९ मा ३५ अर्ब ८७ करोडको व्यापार गरेको थियो।

जगदम्बा स्टिलले कच्चा फलामलाई भट्टिमा पगालेर रड तथा विविध स्टिल स्ट्रक्चर बनाउने गर्छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै ब्लेड आयातको भन्सार महंगो बनाएर कच्चा फलामको भन्सार घटाउँदा ठूला स्टिल उद्योगलाई प्रोत्साहन मिलेको थियो । 

Advertisement

कारोबार धेरै गर्ने दोस्रो ठूलो कम्पनीमा सूर्य नेपाल प्राली रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा ४७ अर्ब ४० करोड रुपियाँको व्यापार गरेको विवरणबाट देखिन्छ । सूर्य नेपालनीले यस आर्थिक वर्षमा १० अर्ब ७२ करोड कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने कम्पनी समेत बनेको छ । यो रकममा मूल्य अभिविद्धि कर (भ्याट), आयकरलगायत समावेश छ । 

कम्पनीले गत बर्षको कारोबारबाट २० अर्ब रुपियाँ नाफा गरेको छ । सन् २०२१ मा नौ अर्ब ४१ करोड छ लाख रुपियाँ नाफा गरेको सूर्य नेपालले सन् २०२० मा नौ अर्ब ८४ करोड नाफा गरेको थियो । सन् २०२१ मा उसले नौ अर्ब ४१ करोड नाफा वितरण गरेको थियो ।

रेटिङ एजेन्सी केयरइडका अनुसार सूर्य नेपालले अंग्रेजी आर्थिक वर्ष २०१८–१९ मा २५ अर्ब १३ करोडको व्यापार गरेको थियो । यस्तै २०१९–२० मा अघिल्लो वर्षभन्दा कम २४ अर्ब ४७ करोडको व्यापार गरेको थियो । यसैगरी २०२०–२१ मा २४ अर्ब ४९ करोडको व्यापार गरेको हो । 

सूर्य नेपालले इतिहासमै पहिलो पटक गएको आर्थिक बर्षमा ४७ अर्ब ४० अर्बको व्यापार गर्दै कीर्तिमान राखेको हो । कम्पनी कम कर विवादमा पर्ने कम्पनीअन्तर्गत पर्छ । यस कम्पनी नेपालमा सन् १९८६ देखि सञ्चालनमा छ । विगत ३५ वर्षदेखि आकर्षक व्यापार गर्दै आएको सूर्य नेपालले सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना बन्द भएपछि व्यापार विस्तार गर्न निकै सहज भएको थियो । उच्च कारोबारसँगै धेरै कर दाखिला गरेकाले सूर्य नेपाललाई सरकारले हरेक बर्ष पुरस्कृत गर्दै आएको छ । 

कारोबार धेरै गर्ने ठूला कम्पनीको सूचीको तेस्रो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । यो कम्पनीले गएको आर्थिक बर्षमा ४४ अर्ब ९३ करोड २९ लाख बराबरको व्यापार गरेको छ । कम्पनीमा सरकार तथा जनताको लगानी रहेको छ । नेपाल टेलिकमले देशभर टेलिफोन सेवा तथा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ।

चौथो ठूलो कम्पनीमा एनसेल अजियटा लिमिटेड परेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा ४० अर्ब २८ करोड ९४ लाख रुपियाँको व्यापार गरेको हो । नेपालको दूरसञ्चार बजारमा एनसेलको एकाधिकार जस्तै छ । 

यसैगरी, धेरै कारोबार गर्ने पाचौं ठूलो कम्पनीमा गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्राली रहेको छ । यो कम्पनीले गएको आर्थिक बर्ष २०७८–७९ मा २९ अर्ब सात करोड रुपियाँको व्यापार गरेको छ । इण्डियन गाडी उत्पादक कम्पनी टाटाको नेपालको आधिकारिक बिक्रेता रहेको सिप्रदीले विद्युतीय गाडी टाटा नेक्सन ईभी बिक्रीमा उछाल ल्याउन सक्दा व्यापार बढेको हो । यद्यपी सो कम्पनीको अन्य गाडी बिक्रीमा भने मन्दी जस्तै छ । बिक्रीमा गिरावट भएका कारण नै अहिले सिप्रदीले ल्याएका टाटाका एक हजार चारसय गाडी भन्सार जाँचपास नगरी भन्सार र्याडमा थन्किएका छन् । त्यसवापत उसले १४ करोड रुपियाँभन्दा बढी भन्सार कार्यालयलाई ड्युमरेज शुल्क नै तिरिसकेको छ।

धेरै व्यापार गर्ने ठूला कम्पनीको छैटौं नम्बरमा भाटभटेनी सुपरमार्केट डिपार्टमेन्टल स्टोर परेको छ । यो कम्पनीले २६ अर्ब ८८ करोड ६८ लाखको व्यापार गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादूर गुरुङ हुन् । थुप्रै ठाउँमा शाखा विस्तार गरिसकेको यस कम्पनीले देशी तथा विदेशी सामानहरु एउटै छातामुनी उपभोक्तालाई बिक्री गर्दै आएको छ । 

धेरै कारोबार गर्ने सातौं ठूलो कम्पनीमा पनि गाडी बिक्रेता कम्पनी छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनीले इण्डियन ब्राण्डको दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको छ । बजाज ब्राण्डको मोटरसाइलहरु बिक्री गर्दै आएको यो कम्पनीले गएको आर्थिक बर्षमा मोटरसाइकल बिक्री गरी २२ अर्ब ३३ करोड ८९ लाख रुपियाँको व्यापार गरेको छ । 

गोल्छाले अहिले नेपालमै एसेम्ब्लिङ प्लान्ट निर्माण गरेर स्वदेशमै मोटरसाइकलहरु तयार गरी बिक्री गर्दै आएका छन् । दुई पाङ्ग्रे सवारी साधनको धेरै व्यापार गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालको सबैभन्दा ठूलो कम्पनी पनि हो । कम्पनीले गत वर्ष आठ अर्ब २९ करोड रुपियाँ बराबरको आयात गरेको छ । यो कम्पनीले बजाज ब्राण्डका पल्सर, एनएस, एभेन्जर, डिस्कभर लगायत मोडेलका मोटरसाइकल बिक्री गर्दै आएको छ।  

यसैगरी, धेरै व्यापार गर्ने ठूला कम्पनीहरुको सुचीमा आठौं नम्बरमा एमएडब्लु इन्टरप्राइजेज प्राली रहेको छ । यो कम्पनी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालको हो । कम्पनीले गएको आर्थिक बर्षमा १७ अर्ब ५१ करोड ५१ लाख रुपियाँको व्यापार गर्दै दुई पांग्रे सवारी साधन बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यो कम्पनीले यामहा ब्राण्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्छ । 

यसैगरी, धेरै कारोबार गर्ने नवौं नम्बरमा होङ्शी शिवम् सिमेन्ट प्राली परेको छ । चिनियाँ मुख्य लगानी रहेको यो कम्पनीले गएको आर्थिक बर्षमा १७ अर्ब ३० करोड रुपियाँको व्यापार गर्दै सबैभन्दा ठूलो सिमेन्ट बिक्रेता कम्पनी बनेको छ । विदेशी लगानीको यो कम्पनी आएसँगै स्वदेशी लगानीका धेरै सिमेन्ट उद्योग धरासायी स्थितिमा पुगेका छन् । 

गएको आर्थिक बर्षमा धेरै व्यापार गर्ने कम्पनीहरुको १० औं नम्बरमा ओबिसी फुड्स एण्ड फिड्स प्राली परेको छ । यो कम्पनीले गएको आर्थिक बर्षमा १६ अर्ब ७४ करोडको व्यापार गरेको छ विवरणबाट देखिन्छ । ओबिसी गत वर्ष मात्रै ठूला करदाता कार्यालयअन्तर्गत समावेश भएको हो । यो कम्पनीले ब्रोइलर कुखुरा पाल्न आवश्यक सामग्रीहरु उत्पादन तथा बिक्री गर्दै आएको छ।  

नोटः नेपाल आयाल निगम र राष्ट्रिय वाणिज्य बैंक बाहेकलाई कारोबार रकमको आधारमा टप टेन कम्पनी छुट्याइएको हो ।

Advertisement