गाँजाका कपडा ७० देश पुर्याउँदै आएका ऐडी भन्छन्– गाँजा मास्ने नाममा खर्बौं रुपियाँ माासिँदैछ

Advertisement

काठमाडौं । गाँजा बहुउपयोगी वनस्पती हो । पश्चिमाहरुको दबाबमा सरकारले लामो समयदेखि गाँजाको प्रयोगमा सरकारले प्रतिवन्ध लगाउँदै आए पनि यसको जराबाट समेत विभिन्न सामानहरु उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण गणेश ऐरीले प्रस्तुत गर्दै आएका छन् । 

गाँजाको जराबाट ऐडीले उत्पादन गर्ने मुख्य वस्तु हो कपडा । बझाङ स्थायी घर भई हाल राजधानीको बुढानीलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ सञ्चालन गर्दै आएका उनले यस उद्योगबाट करोडौंको व्यापारसमेत गर्दै आएका छन् । 

Advertisement

ऐडीले तीन हजार रुपियाँ लागानीबाट व्यवसाय सुरु गरेका थिए । यस व्यवसायमा जीवनको २५ बर्ष बिताएका उनले गाँजाको जराबाट उत्पादन गरेका वस्तु नेपालका धेरै जिल्लामा मात्रै नभएर विश्वका ७० वटा देशसम्म पुर्याउन सफल भएका छन् । 

फरेस्ट्री हेम्प ब्याग उद्योगमा हाल ४५ जनाले रोजगारी पाइरहेका छन् । नेपालमा पाइने गाँजा, भाङ, सिस्नुबाट बन्ने कपडाको माग विदेशीमा पनि उच्च रहेको ऐडीले बताए । उनको गुनासो छ, ‘सरकारले गाँजा खेतीलाई  प्रतिबन्ध लगाउँदा हामीलाई बजारको माग अनुसार सामान उत्पादन बढाउन निकै कठिनाई भएको छ । सरकारले गाँजाको बहुउपयोगी महत्वलाई बुझ्न नै सकेन् ।’ 
 
पहाड र तराईका ग्रामीण क्षेत्र बासिन्दा र जंगलबाट गाँजाका जरा मात्रै होइन, सिस्नुका लोक्ता र रेसा पनि खरीद गरी ऐडीले कच्च पदार्थ संकलन गर्छन । यसरी संकलित वस्तुहरु उद्योगमा प्रशोधन गरेर बनाइने धागोबाट उनले लगाउने लत्ताकपडा, जुत्ता, झोला, टोपी जस्ता २५ वटा सामानहरु उत्पादन गर्छन् । 

उनी थप्छन्, ‘सरकार र समाजले यसको उपयोगिता नबुझ्दा नेपालका गाउँ र जंगलमा गाँजा मास्ने नाममा बर्षेनी खर्बौं रुपियाँ रकम माास्दै गएको छ । जंगलभरि गाँजा प्रकृतिले दिएको छ । तर सरकारको अवरोधले मानिसले यसको सदुपयोग गर्न पाएका छैनन् । गाँजा, सिस्नुको लोक्ता र जरा प्रयोग गर्न पनि हामीले निकै कठिनाई र सास्ती भोग्दै आएका छौं ।’  

ऐडीले २०५५ सालबाट व्यवसाय सुरु गरेका थिए । बझाङमा रहँदा स्थानीयले उत्पादन गरेका वस्तुहरु बजारमा ल्याएर बिक्री गर्दै जाने क्रममा आफूले गाँजा र सिस्नुका बोक्रा र जरा प्रशोधन गरी उपयोगी सामग्री उत्पादन सुरु गरेका उनले २०६० सालमा बुढानीलकण्ठमा व्यवसाय सुरु गरेका थिए । उद्योग भने ऐडीले २०६६ सालमा सुरु गरेका हुन् । 

आफूले उत्पादन गर्ने सामग्रीको सबै कच्चा पदार्थ स्थानीय भएको र नेपालीले नै रोजगारी पाउने र थुप्रै देशमा गाँजा र सिस्नुका उत्पादन निर्यात हुने हुँदा मुल्य अभिवृद्धि निकै ठूलो योगदान पुग्ने बताउँदै उनले यस्ता उद्योगको विकास र संरक्षणमा सरकारले प्रथामिकता दिनुपर्नेमा नदिने गरेको गुनासो गरे । 

अहिले ऐडीको फरेस्ट्री हेम्प ब्याग उद्योगबाहेक फरेस्ट्री फेब्रिक र नेपाल लोकल गार्मेन्ट गरी अरु दुई वटा उद्योग पनि सुरु भइसकेका छन् । गाँजाको जराबाट उत्पादन हुने कपडाले शरीरमा आउने घाउखटिरा, एलर्जी जस्ता समस्यालाई निको पार्ने उनले बताए । यस्ता कपडा लगाउँदा पनि सहज र सभ्य देखिने हुँदा गाँजाका कपडाहरुको माग निके बढेर गएको ऐडीले बताए । 

आयातित कपडाभन्दा गाँजाबाट बनेका कपडा सस्तो पनि पर्ने उनले बताए । ऐडीले बजारमा माग बढेकाले जंगल र ग्रामीण क्षेत्रबाट ल्यायका रेसा, लोक्ताले मात्र नपुग्ने अवस्था सिर्जना भएको बताए । गाँजालाई व्यवसायिक खेतीको रूपमा विकास गर्न दिए आफू जस्ता उद्यमीलाई मात्रै नभएर ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न पनि ठूलो योगदान पुग्नेथियो भने । 
 

Advertisement

Advertisement