दाबी भुक्तानीमा बढ्यो समस्याः प्राधिकरणले बीमा कम्पनीहरुसँग तीनदिन भित्रै माग्यो सबै कागजात

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुको दाबी भुक्तानीमा एकपछि अर्को गर्दै समस्याहरु चुलिन थालेका छन् । अहिले एकाएक समस्या वृद्धि भएको भन्दै नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई दाबी भुक्तानीका सम्पूर्ण विवरणहरु माग गरेको हो । 

एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार बीमा प्राधिकरणले केही बीमा कम्पनीहरुको दाबी भुक्तानीमा पछिल्लो समय जटिल समस्या देखिएकाले त्यस्ता कागजात माग गरेको हो । उक्त कुरा बीमा प्राधिकरणका कर्मचारीहरुले समेत स्विकार गरे । 

Advertisement

प्राधिकरणले अहिले प्राधिकरणको प्रदेश कार्यालयले गरेको सामान्य खोजतलासमा नै दाबी भुक्तानीमा चरम समस्या देखिएपछि केन्द्रीय कार्यालयले आजै निर्देशन समेत दिएको छ । 

बीमा प्राधिकरणले दिएको निर्देशनमा आजदेखि आगामी तीन दिन भित्र सबै बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा रहेको दाबी तथा उसले भुक्तानी गर्नु पर्ने वास्तविक तथ्यांक समेत पेश गर्नु पर्ने भएको हो । हालसम्म बीमा प्राधिकरणले यसरी दाबी भुक्तानीको तथ्याकं कहिल्यै पनि नमागेको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । 

आर्थिक अवस्था कमजोर भएका नागरिकका ठूला रकमका बीमा हुने र छोटो समयमा नै उक्त दाबी भुक्तानी बीमा कम्पनीहरुले दिएका घटनाहरु बढ्दै गएपछि बीमा प्रधिकरणले केही कडाईको नीति लिने भएको छ । त्यस्ता, घटनामा बीमा कम्पनी, अभिकर्ता, सर्भेयर तथा बीमितको समेत लोभ लालच बढ्न थालेको आशंकमा प्राधिकरणले बीमा कम्पनीहरुलाई धमाधम स्पष्टीकण सोध्न सुरु गरेको छ ।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले हिजो एक कार्यक्रममा भने, अहिले त बीमा बजारमा जम्मा तीस हजार रुपियाँको दाबी पर्यो भने सीईओकोमा नपुगी भुक्तानी लिन नमिल्ने रहेछ । यसरी त कसरी कम्पनी चलाउँन सकिन्छ ? अब त दाबी भुक्तानीलाई सहज बनाउन जरुरी छ । हामीले यसमा केही नयाँ काम पनि गर्दैछौं ।’
 
यता बीमा कम्पनीहरुले भने तीन दिन समय निकै थोरै भएको प्रतिक्रिया दिएका छन् । 

बीमितले स–साना दाबी भुक्तानीका लागि बीमा प्राधिकरण र सीईओकोमा धाउनु पर्ने अवस्था सिर्जना भएकाले त्यस्तो अवस्थाको अन्त्य गर्ने प्रधिकरणले बताएको छ । 

आज पठाएको पत्रमा अधिकार प्रत्यायोजन सम्बन्धि विवरण प्राधिकरणले माग गरेको छ । बीमा कम्पनीहरुले शाखा कार्यालयमा दाबी भुक्तानी पारदर्शी बनाउनु पर्ने पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै, दाबी भुक्तानीको सन्दर्भ जोड्दै प्राधिकरणले अब बीमा कम्पनीहरुले दाबी भुक्तानीका लागि आफ्ना शाखा तथा प्रदेश कार्यालयमा छुट्याएका सम्पूर्ण अधिकारको समेत व्याख्या बीमा कम्पनीहरुले प्राधिकरणलाई तीन दिन भित्र दिनु पर्ने भएको छ । 

अहिले बीमा कम्पनीहरुको केन्द्र र शाखाहरुको तालमेल नमिलेकाले दाबी भुक्तानी छिटो छरितो हुनुको साटो थप झन्झटिलो भएको प्राधिकरणको आँकलन छ । प्राधिकरणले बीमा कम्पनीहरुको अध्ययनपछि कुन कम्पनीलाई कस्तो कारबाही गर्ने हो त्यसको निर्णय गर्ने जनाएको छ ।

Advertisement

Advertisement