भोगटेका बोक्राबाट स्वादिष्ट क्यान्डी, केस्राबाट जाम उत्पादन गर्ने कमलाको कला

Advertisement

काठमाडौं । भनिन्छ, हरेक मानिससँग कुनै नै कुनै खास विशेषत हुन्छ । त्यस्तै, उद्यम गर्न लगनलशील भएर लाग्नेहरुमा नवीनता, सिर्जनाको विकास हुन्छ । यस्ता मानिसहरुले देश र समाजका लागि केही गरेर योगदान दिन सक्छन् भन्ने उदाहरण उद्यमी कमला लामाले देखाएकी छन् ।   

काभ्रेकी कमला लामाले ६० लाख लगानीबाट झ्याम्बला कृषि फार्म तथा लघु उद्योग सुरु गरेकी थिइन् । गाँउघरतिर खेर गएका भोगटेका बोक्राको सेतो भागबाट स्वादिष्ट र ‘क्यान्डी’ (चकलेट) तथा भोगटेका केस्राबाट रसिलो जाम उत्पादन गर्दै आएकी उनले २०७५ सालबाट यो व्यवसाय सुरु गरेकी हुन् । 

Advertisement

मासिक १० देखि १५ लाखको व्यापार गर्दै आएकी लामाले सिजनमा फल्ने फलफूलबाट १५ प्रकारपरिकार उत्पादन गर्दै आएकी छन् । लामाको पेशा अहिले एउटा सफल उद्योगको रुपमा विकास हुँद्यै गएको छ । लामाले अहिले १२ जनालाई रोजगारी पनि दिइरहेकी छन् । 

अहिलेको उद्योग सुरु गर्नुअघि उनले कृषि फार्म, हस्तकला उद्योग, कस्मेटिक व्यवसाय गरिन् । तर कतैबाट सफलता नमिलेर हण्डर खाएपछि लामाले क्यान्डी, जाम जस्ता वस्तुहरु उत्पादन गर्ने विकल्प रोजेकी हुन् । यसमा भने उनलाई राम्रो सफलता मिलेको छ ।  

लामा भन्छिन, ‘अरुले उत्पादन गरेका सामान बिक्री गर्दा, वा पसल राखेर कुनै सामानको व्यापार गर्दा क्षणिक फाइदा हुने रहेछ । अहिले मैले आफ्नो छुट्टै लघुउद्यम सञ्चालन गरेको छु । यसमा केही चुनौति त छन् । तर अहिलेसम्म राम्रै भएको छ ।’ व्यवसाय सुरु गर्न ठूलै लगानी र ठूलै सरसामान चाहिन्छ भन्ने छैन् भन्ने उदाहरण आफूले देखाएको उनको तर्क छ । 

उद्यमी लामाले आफ्नो उद्योगबाट मकै, भटमास, खट्टे,   लप्सी, फर्सी, भोगटे, हलुवाबेद, आरुबखडा जस्ता खाद्यान्न र फलफूलका क्यान्डी, पिँडालुका मस्यौरा र हर्बल चियाको पनि उत्पादन हुने गरेको छ । आफूले उत्पादन गरेका वस्तुको बजारमा माग बढ्दै गएको भन्दै उनले बालबालिकालाई गुलियो र ठूलालाई अमिलो र पिरो क्यान्डी उत्पादन गर्दै आएको जानकारी दिइन् । 

कमला लामा भन्छिन्, हामीले बनाएका सामानहरुको माग बजारमा मात्रै होइन् यहीं गाउँघरमा पनि धेरै बिक्री हुने गरेको छ । कहिले काहीं विदेशमा रहेका नेपालीहरुबाट पनि डिमाण्ड आउने गर्छ ।’ व्यवसाय सुरु गर्दा फलफूल भएका ठाउँमा सम्बन्ध विस्तार गर्दै काम सुरु गरेकी उनले पछिल्लो समयमा भने सिजनका फलफूल घरमै आउने गरेको सुनाइन् । 

लामा भन्छिन्, ‘काम सुरु गर्दा धेरै खालका समस्या थिए । अनुभव पनि कम थियो । काम गर्दै जाँदा धेरै खालका सोच र ज्ञानका पनि विकास भएको छ । अहिले हामीले उत्पादन गरेका खाने परिकार अमेरिका, अष्ट्रेलिया, जापान, दुवई जस्ता १० देश वटा जति देशमा पुग्ने गरेको छ । अब हामीले हाम्रो उत्पादनको ब्राण्डिङ गर्दै अझ बढी मिठो स्वाद र बढी गुणस्तरमा अचार, जाम, क्याण्डी उत्पादन गर्नुपर्छ भन्ने महशुस भएको छ । 

फलफूल सुकाउनका लागि ‘ड्राई मेशिन’ ल्याउने तयारी गरेको लामाले आफ्ना उत्पादनहरु खुद्रादेखि थोक पसलहरुलाई बिक्री गर्दै आएकी छन् । आफूले उत्पादन गरेका सबै खाने कुरा अर्गानिक भएको उनको दावी छ । लामा भन्छिन्, ‘हामीले उत्पादन गरेका कुरा खाने मानिस दोहोर्याएर–तेहेर्याएर आउने गर्नुहुन्छ । बजारमा पाइने त्यही वस्तुभन्दा हाम्रो उत्पादनको स्वाद र गुणस्तर नै फरक छ । अब आफ्नो उद्योगबाट उत्पादित सामान छिटै विभिन्न सुपरमार्केटहरुमा पनि मार्टहरु राख्ने उनले जानकारी गराइन् ।
 

Advertisement

Advertisement