आन्दोलनका नाममा बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएकोमा सिविफिनको आपत्ति

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले आन्दोलनका नाममा बैंक तथा वित्तीय संस्थाको कार्यालयहरु बन्द गर्ने र बैंकका कर्मचारीहरुलाई धरपकड गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ । 

विभिन्न व्यवसायिक संस्थाहरुले मंगलबार मकवानपुरको हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट बञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधि भएको भन्दै परिसंघले खेद प्रकट गरेको छ । 

Advertisement

विश्वव्यापीरुपमा देखापरेका परिघटनाहरुको कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावको न्यूनीकरण गर्न, आम उद्यम व्यवसाय र सर्वसाधारण समेतले वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै एकजुट भएर लागि पर्न र भयरहीत वातावरणमा बैंकिङ सेवा सुचारु गर्नका लागि उचित शान्ति सुरक्षाको व्यवस्था गर्न आफूहरुले सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अत्यावश्यक सेवा क्षेत्रको रुपमा परिभाषित बैंकिङ क्षेत्रमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्य गर्न नपाइने कानुनी व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको छ । 

जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्यान सकिने मान्यताबमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन सरकार, नेपाल राष्ट्र बैंकलगायतका निकायलाई सिविफिनले आग्रह पनि गरेको छ । 

साथै, बैंकिङ जस्तो अत्यावश्यकीय सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि उसले आग्रह गरेको छ । 

Advertisement

Advertisement