अरु देशमा ५० प्रतिशतसम्म पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नियम, नेपालमा भने शुन्यमा झारिँदै

Advertisement

काठमाडौं । अरु देशका बीमा नियामक र नेपालको बीमा नियामकले आफ्ना पुनर्बीमा कम्पनीहरुको व्यवसायिक हितका लागि लिएको नीतिमा निकै ठूलो अन्तर रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले यस्तो नीतिमा पुनर्विचार नगरे नेपाली कम्पनीहरु फस्टाउन नसक्ने बताएको छ । 

नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले अरु देशमा पुनर्बीमा कम्पनीहरुका लागि ५० प्रतिशतसम्म स्वदेशी व्यवसाय सुनिश्चित गर्ने गरिएको उदाहरण दिँदै नेपालमा भने यसअघि सुनिश्चित गरिएको व्यवसाय पनि घटाउँदै लगेर शुन्यमा झार्ने खेल हुनु दुखद भएको बताए । नेपाल पुनर्बीमा सरकारी मुख्य लगानी रहेको पब्लिक कम्पनी हो । 

Advertisement

अरु देशका नियामक निकायहरुले लिएको व्यवसाय सुनिश्चित गर्ने नीति (डाइरेक्सेसन) र नेपाल बीमा प्राधिकरणले लिएको नीतिमा निकै ठूलो अन्तर रहेको उनको भनाई छ । रायमाझीले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्न सकेमा मात्रै नेपालमा नयाँ पुनर्बीमा व्यवसाय भित्रिने दावी गरे । 

रायमाझीले आफूहरु प्रायः सबै ठूलो जोखिमहरु बहन गर्न सक्षम रहेको बताउँदै स्वदेशमै पुनर्बीमा गर्दा बीमितहरुले छिटो र सहजरुपमा क्षतिपूर्ति पाउनसक्ने अवस्था बन्ने बताए । स्वदेशको नयाँ व्यवसाय आउँदा पुनर्बीमा कम्पनीलाई मात्रै नभएर बीमा कम्पनी, नियामक निकाय र बीमित सबैलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ पुग्ने भएकाले नै अरु देशले पनि स्वदेशी पुनर्बीमा कम्पनीको संरक्षणको निित लिएको उनको तर्क छ । नेपालमा भने त्यो कुरालाई मनन गर्न नसकेको देख्दा नमिल्दो लागेको रायमाझीले बताए । 

सीईओ रायमाझीले कर्पोरेट नेपालसँग भने, ‘श्रीलंकाले डाइरेक्सेसन व्यवसाय १० प्रतिशतबाट बढाएर ३० प्रतिशतमा पुर्याएको अवस्था छ । हाम्रोमा भएको २० प्रतिशतलाई झारेर अहिले १० प्रतिशतमा बनाइएको छ । केही वर्षमा त्यसलाई शुन्यमा झार्ने योजना देखिन्छ । यसरी हेर्दा त विदेशी पुनर्बीमा कम्पनीलाई उनीहरुको नियामक निकायले गरेको व्यवहार र हामीलाई हाम्रो नियामकले गरेको व्यवहारमा तालमेल मिलेको देखिँदैन ।’ 

नेपाल पुनर्बीमा कम्पनी व्यवसाय बढाउन रणनीतिक योजनाका साथ काम गरिरहेको उनले बताए । रायमाझीले स्वदेशी पुनर्बीमा कम्पनीलाई स्वदेशी व्यवसायमा शुन्य बनाउने कुराले आफूहरुलाई मात्रै घाटा नभएर प्राधिकरणलाई पनि घाटा हुने बताए । सरकारकै लगानी रहेको पुनर्बीमा कम्पनीलाई प्राधिकरणले पेल्नेभन्दा पनि सम्वन्ध हार्दिक बनाएर जाँदा नै सबैको हित हुने रायमाझीको धारणा छ । 

यस्तो छ विदेशी पुनर्बीमा कम्पनीहरुको डाइरेक्सेसनः
भारतमा डाइरेक्सेसनको अवस्था पाँच प्रतिशत रहेको छ । यसको मतलब त्यहाँको कुल व्यवसायको पाँच प्रतिशत व्यवसाय भारतीय बीमा कम्पनीले स्वदेशी पुनर्बीमा कम्पनीमार्फत गर्छन् ।

यस्तो व्यवस्था पाकिस्तानमा ३५ प्रतिशत, बंगलादेशमा ५० प्रतिशत छ । बंगलादेशको यो व्यवस्थामा कुनै पनि शर्तमा विदेशी पुनर्बीमा कम्पनीसँग व्यवसाय गर्न पाइँदैन् । यस्तै, साउदी अरबमा ३५ प्रतिशत डाइरेक्सेसनको व्यवस्था गरिए पनि बंगलादेशमा जस्तो बाध्यकारी व्यवस्था भने छैन् । त्यस्तै, श्रीलंकामा ३० प्रतिशत पुनर्बीमा व्यवसाय स्वदेशमै राख्नुपर्ने व्यवस्था छ । श्रीलंकामा यसअघि १० प्रतिशतको व्यवस्था रहेकोमा यसलाई अहिले बढाइएको हो । 

नेपालमा भने प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी मात्रै रहेको समयमा बीमा कम्पनीहरुलाई कम्तिमा २० प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेकोमा अहिले त्यसलाई घटाएर १० प्रतिशतमा झारेको छ । आर्थिक बर्ष २०८४–८५ सम्ममा क्रमसः यो व्यवस्था घटाउँदै शुन्यमा पुर्याउने प्राधिकरणको लक्ष्य छ । 
 

Advertisement

Advertisement