कर थोरै उठेपछि मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

Advertisement

काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार  आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताइन् । 

अहिले राजश्व संकलनमा लक्ष्यभन्दा डेढ खर्ब रुपियाँभन्दा बढी गिरावट आएको छ । राजश्व घटेकै कारण सरकार गम्भीर संकटमा रहेको बेला सार्वजनिक खर्च कम गर्न यस्तो निर्णय गरिएको हो । शर्माले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको बताइन् । 

Advertisement

सरकारले नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने, यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने, पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । 

त्यस्तै सरकारले कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिएको छ । नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । 

उनले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिएको बताइन् । त्यस्तै, सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैय्याको आधारभुत अस्पतालमा स्तरोन्नती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिएको छ । यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एंव अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत दिने निर्णय गरेको शर्माले बताइन् । उनले सरकारले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको बताइन् । 

सरकारले कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट ७.१५ प्रति युनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्युनतम खरिद मूल्य ६५ रुपियाँ निर्धारण गर्ने, नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक बिस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरु भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई घरटहराहरु हटाउन स्वीकृत दिने, नारायघाट–मेग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षेतिपूर्ति दिई संरचना हटाउन स्वीकृति दिने, सरकार र श्रीलंका सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सम्बन्धी सम्झौतामा हस्ताक्षर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी दिने, फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना हुने हेल्दी सिटी समिट विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत दिने निर्णय गरेको छ । 

Advertisement

Advertisement