कसरी डुबे दुई अमेरिकी सिलिकन भ्याली र सिग्नेचर बैंक ?

Advertisement

काठमाडौं । दुई अमेरिकी बैंक सिलिकन भ्याली बैंक (एसभीबी) र सिग्नेचर बैंक सङ्कटमा परेपछि ग्राहकहरूले जम्मा गरेको निक्षेपको रक्षा गर्न अमेरिकी निकायहरूले प्रयास थालेपनि विश्वबजारमा चासो र चिन्ता भइरहेको छ । 

अमेरिकी नियामक निकायले गत शुक्रवार मूलभूत रूपमा प्रविधि कम्पनीहरूलाई कर्जा प्रवाह गर्ने सिलिकन भ्यालीको सम्पत्ति जफत गर्दै उक्त बैंक बन्द गरिदिएको थियो ।

Advertisement

सन् २००८को वित्तीय सङ्कट पश्चात् अमेरिकी बैंकको यो सबैभन्दा ठूलो असफलता थियो ।

उक्त बैंकले उच्च ब्याज दरबाट प्रभावित सम्पत्ति बिक्रीबाट भएको घाटा हटाउन पैसा उठाउने प्रयास गरिरहेको थियो ।

उक्त सङ्कटबारे सूचना फैलिएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम निकाल्न आउन थालेपछि रकमको अभाव देखिएको थियो ।

यता आइतवार सरकारी निकायहरूले न्यूयोर्कस्थित सिग्नेचर बैंकको व्यवस्थापन पनि आफ्नो नियन्त्रणमा लिएका थिए ।

उक्त बैंकका कैयौँ ग्राहक क्रिप्टो कारोबारमा संलग्न थिए र त्यो वित्तीय संस्था एसभीबीजस्तै जोखिममा परेको मानिएको थियो ।

यसैबीच सर्वसाधारणहरूलाई वित्तीय संस्थाहरूमाथि विश्वास कायम राख्नका लागि अमेरिकी नियामक निकायले बैंकहरूले आकस्मिक रूपमा रकम उधारो लिन मिल्ने नयाँ उपाय सार्वजनिक गरेको छ ।

यद्यपि अर्को अमेरिकी कर्जादाता सिल्भरगेट बैंक गत साता धराशायी भएपछि देखिएका पछिल्ला समस्याहरूले अन्य संस्थामा पनि जोखिम रहेको सङ्केत गरेको छ।

क्यापिटल इकोनोमिक्सका पोल एश्वर्थले अमेरिकी अधिकारीहरूले ‘नकारात्मक धारणा वा अभ्यास फैलिन नदिन आक्रामक रूपमा काम गरेको’ बताएका छन् ।

तर सधैँ असङ्गत त्रासका कारण समस्या उत्पन्न हुने भन्दै त्यस्तो उपायले काम गर्छ भन्ने सुनिश्चितता नभएकाले हामी तनावमा पर्ने उनले बताए।

एसभीबी बैंकको असफलताले सन् २००८ को वित्तीय सङ्कटका बेलामा जस्तै राज्यले वित्तीय संस्थाहरूलाई नियमन गर्न अनि जोगाउन कति पहल गर्नुपर्छ भन्ने विषयमा बहस पुनः सुरु गराइदिएको छ ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावलले बैंकहरू धराशायी हुनुको कारणबारे विस्तारमा पारदर्शी समीक्षा गरिने बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडनले कडा नियमको माग गर्दै लगानीकर्ता अनि बैंक सञ्चालन गर्ने सन्दर्भमा शीर्ष भूमिकामा रहेकाहरूलाई त्यसै नछोडिने कुरामा जोड दिएका छन् । ‘उनीहरूले जानीजानी जोखिम लिएका हुन् ‘ पुँजीवादले त्यसैगरी काम गर्छ’, उनले भने ।

यद्यपि रिपब्लिकन पार्टीका सिनेटर टिम स्कटले सरकारले गरिदिएको पछिल्लो उद्धारलाई ‘समस्याग्रस्त’को सङ्ज्ञा दिएका छन् ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि उनी सम्भावित उम्मेदवार पनि हुन् । 

‘सरकारले हस्तक्षेप गर्ने परम्परा बनाउँदा त्यसले भविष्यमा संस्थाहरूलाई अत्यधिक जोखिम मोलेपछि सरकारमा निर्भर हुने कुरा रोक्न केही गर्दैन’, उनले भने ।

–बीबीसीबाट । 

Advertisement

Advertisement