बैंक तथा वित्तीय संस्थाले निक्षेप ५ प्रतिशतले बढाउँदा ३.२ प्रतिशतले मात्रै बढाए कर्जा

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप ५ प्रतिशतले बढाउँदा कर्जा ३.२ प्रतिशतले मात्रै बढेको छ । 

राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आवको ७ महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु. २५३ अर्ब ९७ करोड (५ प्रतिशत) ले बढेको छ । 

Advertisement

अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो निक्षेप रु. १६७ अर्ब ३४ करोड (३.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ । 

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८, २५.८ र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्रमशः ८.३, ३०.१ र ५४.७ प्रतिशत रहेको थियो । 

चालु आवको माघ मसान्तमा बैंक वित्तीय संस्थाहरुको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा यस्तो निक्षेपत ३८.८ प्रतिशत रहेको थियो । 

यस्तै समीक्षा अवधिमा निजी क्षेत्रबाट प्रवाहित कर्जा रु. १४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. ५०३ अर्ब ९९ करोड (१२.३ प्रतिशत) ले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रभावित कर्जा ३.९ प्रतिशतले बढेको छ । 

२०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.२ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको ०.८ प्रतिशतले बढेको छ ।

२०७९ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.८ प्रतिशत र १२.७ प्रतिशत
रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.० प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.९ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.५ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७.१ प्रतिशतले र हायर पर्चेज कर्जा ९.९ प्रतिशतले घटेको छ ।
 

Advertisement

Advertisement