करीब ७० अंकले तल झर्यो नेप्से, एक-डेढ अर्बमै घुमिरह्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार साताको अन्तिम दिन आज पनि घटेको छ । यो साताको पाँच दिन मध्ये ४ दिन बजार घट्दा एक दिनमात्रै झिनो सुधार देखिएको थियो । 

बजार निरन्तर ओरालो झर्ने क्रममा यो सातामात्रै नेप्से ६९.३९ अंकले तल झरेको छ । बजार घट्दै जाँदा कारोबार रकम पनि एक–डेढ अर्बमै घुमिरह्यो । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार ५.३२ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.३१ अंकमा झरेको छ । 

आज २५८ कम्पनीका ३४ लाख २ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२.५० रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । यूनिक नेपाल लघुवित्त र शुभम पावरका लगानीकर्ताले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

आज पनि एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९.८० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन आइतबार बजार २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १०.७५ रुपियाँ, सोमबार २४.६८ अंकले बजार घट्दा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५.१६ रुपियाँ, मंगलबार १.८५ अंकले बजार बढ्दा १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३ सय ५७.९१ रुपियाँ  र हिजो बुधबार १४.४४ अंकले बजार घट्दा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८ सय ८२.६५ रुपियाँ  बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement